रत्नेचौरमा सडक कालोपत्रे सुरु (भिडियो रिपोर्ट सहित)

Add Samajik bikash office

रत्नेचौर । ट्याक (मार्ग) खोलिएको २० वर्षपछि म्याग्दीको बेनी नगरपालिकाको तीन वटा वडालाई समेटेको रत्नेचौर–भकुण्डे–भकिम्ली सडक कालोपत्रे सुरु भएको छ ।

रत्नेचौर देखि अर्जम, भकुण्डे हुदै भकिम्ली जोड्ने यो सडकबाट बेनी नगरपालिकाको १, २ र ३ नम्बर वडाका दुई हजार पाँच सय घरधुरी लाभान्वित हुने जनाएको छ । बेनी नगरपालिकाले अघि सारेको चक्रपथ सडकको अवधारणा अनुसार जिरो पोइन्ट मानिएको रत्नेचौरदेखि सडक डिभिजन कार्यालय बागलुङले कालोपत्रे गर्न लागेको हो ।

जिरो किलोमिटर देखि उपल्लाचौरको राम्चेको घुम्तिसम्म एक हजार ३०० मिटर सडकलाई ८.२० मिटर फराकिलो, नाली बनाउने र ग्राभेल भइसकेको रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले जानकारी दिनुभयो । “ठेकेदार कम्पनीले कालोपत्रेका लागि सामान जुटाउने र सरसफाई गरेको छ,” उहाँले भन्नुभयो “अनुकुल तापक्रममा तिहार लगत्तै कालोपत्रे गरिसक्ने तयारी छ ।”

Shreekrishna hardwear in news

राम्चेको घुम्तिको उकालोमा करिब १०० मिटर सडक ढलान भइसकेको छ । वि.स. २०५७÷५८ मा तत्कालीन जिल्ला बिकास समितिले रत्नेचौरदेखि यो सडकको मार्ग निर्माण सुरु गरेको थियो । रत्नेचौर देखि भकुण्डे हुदै भकिम्लीको डोले जोड्ने १८ किलोमिटर दुरिको यो सडकको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारेर गत आर्थिक वर्षदेखि बहुबर्षे आयोजना सञ्चालन भएको प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले बताउनुभयो ।

Bhautik ministry notice about road

“कुल रु. ३५ करोड लागत अनुमान गरिएको छ,” उहाले भन्नुभयो “गत आबमा बिनियोजन भएको रु. चार करोड बजेटबाट सडक डिभिजनले दुई वटा प्याकेजमा ठेक्का लगाएको थियो । यस वर्ष पनि योजनाले निरन्तरता पाएको छ ।”

कालोपत्रे र ढलानका लागि सर्वसिद्धि कन्ट्रक्सन प्रा.लीले रु. एक करोड ७३ लाख मा ठेक्का लिएको थियो । दोस्रो प्याकेजमा उपल्लाचौर देखि अर्जम हुदै भकुण्डे खण्डमा सडक बिस्तार, पर्खाल र नाली बनाउन रु. एक करोड ६९ लाखमा अर्को ठेक्का लगाएको थियो । सडक बिस्तार र स्तरोन्नतिसँगै कालोपत्रे हुन लागेपछि आवत जावतमा सहज हुने र ढुवानी भाडा घट्ने स्थानीय मोतिलाल किसानले बताउनुभयो ।

“साघुरो, ग्रेड तथा घुम्ति नमिलेको कच्चि सडकमा जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीयबासी कालोपत्रे हुन थालेपछि उत्साहीत र खुसी भएका छौ,” उहाँले भन्नुभयो “बर्खामा हिलो, पहिरोले सडक अवरुद्ध हुने तथा हिउँदमा धुलाम्मे हुने समस्या हटेर सुरक्षित रुपमा यात्रा गर्न पाउने अपेक्षा छ ।”

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...