“प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि”

Gandaki Pardesh notice

मुकुन्द रेग्मी

प्रवासी शब्दको शाब्दिक अर्थ परदेशमा रहने वा विदेशमा बस्ने भनेर बुझिन्छ । म्याग्दी जिल्लामा जन्म भई, आफ्नो आर्थिक सम्भावनाहरू सुधार गर्न, शैक्षिक अवसरहरू खोज्न, राम्रो जीवनयापनको सपना, परिवारका सदस्यहरूसँग पुनर्मिलन गर्ने जस्ता कामका लागि विदेशी भुमिमा रहेका म्याग्देलीहरु नै प्रवासी म्याग्देलीहरु हुन् । जसरी हरेक मानिसका सपना हुन्छन्, लक्ष्य र  उद्देश्यहरु हुन्छन्, आफ्नो मातृभुमिको सुधारका लागि संगठित भएका प्रवासी म्याग्देलीहरुका पनि साझा र दीर्घकालीन, लक्ष्य, उद्देश्य, सपना र दुरदृष्टि छन् । त्यही लक्ष्य, उद्देश्य र सपना जसले यस संस्थाले भविष्यमा के हासिल गर्ने, कस्तो निर्णय, रणनीतिक योजना र मार्ग लिने भन्ने नै ‘प्रवासी म्याग्देली हरुको दृष्टि’ हो ।

Shreekrishna hardwear in news

‘समृद्द ’ शब्दले उन्नत, सम्पन्न वा बिकसित भन्ने बुझाउँछ। वास्तवमा समृद्धि विकास प्रयासको उच्चतम प्राप्ति हो । यो विकासको एक दीर्घकालीन लक्ष्य हो । समृद्धि हासिल गर्न सजिलो छैन, तर नसकिने भने होइन । उच्च जिवनस्तर, आर्थिक स्थिरता, सामाजिक एकता, वातावरणीय दिगोपन, न्यून बेरोजगारी, न्यूनतम गरिबी, जिम्मेवार स्रोत व्यवस्थापन जस्ता बिषय समृद्द समाजका सुचकहरु हुन्। यि र यस्तै सुचक सहितको समृद्द म्याग्दी जिल्लाको परिकल्पना, साझा अनि दीर्घकालीन, लक्ष्य, उद्देश्य, सपना र दुरदृष्टि प्रवासी म्याग्देलीहरुको रहेकोले उनिहरुको यस सपनालाई  “ प्रवासी म्याग्देली दृष्टि, समृद्ध म्याग्दीको सृष्टि” भन्ने उद्‍घोषले प्रष्ट पारेको छ ।

नेपालीहरु कामको खोजिमा बिदेसिन थालेको इतिहास लामो छ । सन् १८१६ मा ब्रिटिस-गोर्खा रेजिमेन्टको स्थापनासँगै सुरु भएको यो क्रम भारत, मलेसिया, खाडी मुलुक हुँदै जापान, कोरीया, युरोप, अष्ट्रेलीया अमेरीका लगायत नेपाल सरकारले श्रम स्वीकृति दिएका १७८ देश सम्म पुगेको छ । लाहुरेको जिल्ला भनेर पनि चिनिने म्याग्दी जिल्लाको बैदेशिक रोजगारीको ईतिहाँस पनि रेजिमेन्टको स्थापना संगै सुरु भएको पाईन्छ । बैदेशिक रोजगार तथा अन्य कारणवस बिदेसिने युवाको संख्या दैनिक २ हजारको हारहारीमा रहेको तथ्याङ्क पाइन्छ ।  परदेशमा परेका कानुनी, आर्थीक तथा ब्यबाहरिक समस्या समाधानका लागि परदेशीहरु त्यतिबेला देखि नै संगठित भए । प्रवासी म्याग्देलीहरुको हकहित र जिल्लाको समग्र बिकासका लागि बिभिन्न देशमा फरक – फरक नाम वाट संघ संस्था स्थापना हुन थाले । नाम फरक-फरक भएपनि उद्देश्य एउटै थियो; जन्मभुमी म्याग्दी र प्रवासी म्याग्देलीहरुको सेवा । एउटै उद्देश्य  बोकेका   सम्पुर्ण प्रवासी म्याग्देलीलाई एकताबद्ध गर्ने, आपत विपतमा सहयोग गर्ने, विविध समस्या समाधानका लागि संस्थागत रुपमा सम्बोधन गर्ने, प्रवासमा आर्जित सीप र पुँजीलाई जिल्लामा उत्पादनशील क्षेत्रमा लगानीको रुपमा भित्र्याउने  लक्ष्यसहितको अभियान लिई सन् २००७ मा प्रवासमा रहेका म्याग्देलीको साझा चौतारीको रुपमा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) स्थापना भई २०११ मा जिल्ला प्रशासन कार्यालय म्याग्दीमा संस्था दर्ता गरी  आधिकारिक संस्थाको रुपमा स्थापित छ । यसरी स्थापना भएको मोना प्रवासी म्याग्देलीहरुको एक सोच हो,  सपना हो । संसार भर छरिएर बसेका प्रवासी म्याग्देलीहरुलाई  एउटै छाताभित्र एकताबद्द बनाउँदै मातृभूमीप्रति रचनात्कक सहयोग र योगदान दिन मोना क्रियाशिल छ ।

Bhautik ministry notice about road

 सबैभन्दा ठुलो सेवा नै मातृभूमी सेवा हो । एउटा कर्तब्यनिष्ठ सन्तानले मातृभूमीप्रतिको माया र कर्तब्यबोध गरिरहेको हुन्छ । मोना स्थापना भएको डेढ दशक पार गर्दा मोनाले म्याग्दीमा दैवी प्रकोप पीडितलाई राहत सहयोग तथा घर पुनःनिर्माण, आर्थिक अभावको सामना गरिरहेका गरिब विपन्न परिवारका बिरामीको उपचारमा आर्थिक सहयोग जुटाउने, प्रवासमा समस्यामा परेका जिल्लावासीको उद्धार तथा रोजगारको बन्दोबस्त मिलाउने, बिदेशी जेलमा रहेका म्याग्देलीलाई रकम सङ्कलन गरी जेलमुक्त गरेर घर पठाउने, कोरोना जस्ता महामारीको समयमा जिल्लाका स्वास्थ्य संस्थाका लागि स्वास्थ सामग्री उपलब्ध गराउने, प्रहरी चौकी, जिल्ला प्रशासन कार्यालय तथा पत्रकारहरुलाई थर्मल गन र माक्स वितरण गर्ने,  ब्लड बैङ्क स्थापना तथा एम्वुलेन्स खरिदमा सहयोग, विपतका बेलामा उद्दारका लागि आपतकालिन उद्दार सामग्री सहयोग तथा दिर्घकालिन पुनःबास सहयोग, निःशुल्क पाठएघर तथा स्तन क्यान्सर शिविर संचालन, पदमार्ग निर्माण, शिक्षक तथा विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम, मोना भलिबल, सांस्कृतिक संरक्षण कार्यक्रम, जिल्लाका पर्यटकिय स्थानको खोजि तथा प्रचार प्रसारका लागि अनलाईन फोटो प्रतियोगिता, सामुदायिक विद्यालयमा विद्युतिय पुस्तकालय (इ–लाइब्रेरी) स्थापना, स्वास्थ्य शिविर सञ्चालन गर्ने जस्ता लोककल्याणलारी कार्य गर्दै आएको छ । मातृभूमिमा गरेका यी परोपकरी एवं सामाजिक कार्य अन्तर्गत मराङ – बिम पहिरो पिडितका लागि आवास पुनःनिर्माण तथा सहयोग, अर्मन पहिरो पिडितका लागि प्रवासिले गरेको सहयोग, म्याग्दीका बाटाहरु निर्माणमा गरेको लगानी, जयन्ति मा.बि. को भवन निर्माण, बेनी–लभ्लीहिल पदमार्ग, बिदेशमा अलपत्र परेका शव ब्यबस्थापन, विपन्न बिरामिहरुको उपचारमा प्रवासी म्याग्देलीहरुले गरेको सहयोग,  राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै  सामूहिक एकता र सद्भावको प्रतीकको रुपमा प्रशंसनिय छ ।

तुलनात्मक रुपमा हेर्दा म्याग्दी जिल्लाको विकास टीठलाग्दो अवस्था देखिन्छ । विकासका नाममा प्राकृतिक स्रोतहरुको अवैज्ञानिक उपयोग बढेको छ ।  जिल्लामै स्वरोजगार हुने र उन्नयन गर्न सकिने उदाहरण नगन्य छन् । वसाईसराईका कारण गाउँमा घर रित्ता र खेतियोग्य जमिन वाँझा छन्। बिकास गाउँतिर र मानिस गाउँबट शहरतिर लागेका कारण लगानि प्रतिफलयोग्य वन्न सकिरकेको छैन। बिदेशी लगानी भित्र्याउनु, युवा पलायन रोक्नु, वसाईसराई नियन्त्रण गर्नु, आयमुलक कार्यक्रम संचालन गर्नु, राज्यका उच्च निकायमा म्याग्दी जिल्लाको उपस्थिति वलियो बनाउनु, स्रोत ब्यवस्थापन गर्नु र जिल्लाको जल, जमिन, जङ्गल, जडीबुटी र जनशक्तिको अधिकतम उपयोग गर्ने गरी पुँजी र प्रविधिलाई लगानीको रुपमा भित्र्याउनु यहाँको मुख्य चुनौतिका रुपमा रहेका छन। यी र यस्ता चुनैतिहरुलाई अपनत्व लिई प्रवासी म्याग्देलीले आफ्नो मातृभूमी, आफ्नो जिल्लाको समृद्दिका लागि  लीएको निर्णय, रणनीतिक योजना र मार्गले पक्का पनि महत्व राख्ने छ । परोपकारी र मानवीय सेवासँगै अब प्रवासमा आर्जित ज्ञान, सिप र पूँजीलाई जिल्लामा भित्र्याउने, उत्पादनमुलक र रोजगार सिर्जना गर्ने, सामूहिक लगानी भित्र्याउने काममा मोना अगाडि बढेको छ ।  मोना इन्भेस्टमेन्ट कम्पनिको सुरुवात, बहुउद्देशीय सहकारी स्थापनाको सोच,  २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोलामा लगानी, पाँच मेगावाट क्षमताको मोना बगरखोला जलविद्युत् आयोजना, टोड्के हिल रिसोर्टमा प्रवासी नेपालीहरुको लगानीले जिल्लाको विकास र समृद्धिको अभियानमा सघाउने कुरामा दुईमत छैन तर यसरी अघि बढाइएका जलविद्युत् आयोजना थलिनु, सामुहिक लगानिका रिसोर्टले अपेक्षित फाईदा लिन नसक्नु,  कानुनी झन्झट बेहोर्नु, अस्थिर राजनिति आदिले उत्पादनमूलक क्षेत्रमा गर्ने भनिएको सामूहिक लगानी माथि प्रश्न उठेको छ । प्रवासी म्याग्देलीहरु माझ लगानिका लागि नयाँ क्षेत्र खोज्नु, लगानि भित्राउनु, टिकाउनु र बजारमा बिकाउनु अर्को चुनौतिको रुपमा रहेको छ ।

जनहितको सर्वोच्चतालाई स्वीकार गरी प्रत्येक जनताको आधारभूत मानवअधिकारलाई अंगीकार गरेको राज्य लोककल्याणकारी राज्य हो। लोककल्याणकारी राज्यको उद्देश्य जनताको स्तर माथि उठाई उनीहरूलाई खुसी बनाउनु हो।  यस्तो देशमा राज्यको भूमिका सीमित हुनु हुदैन । नेपालको संविधान २०७२ को कार्यान्वयन संगै नेपालमा तीन तहको सरकार छन् । संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार । तीन तहका सरकारमध्ये सबैभन्दा तल्लो तहको सरकार हो स्थानीय सरकार । जसलाई संविधानले नै अधिकारसम्पन्न बनाएको छ । स्थानीय तहहरूले आफै कानुन निर्माण गरेर कार्यान्वयन गर्न पाउँछन् । आफ्नो क्षेत्रभित्रका विषयमा कानुन तथा नीति बनाउन सक्दछन् । हरेक वर्ष आफ्नै वार्षिक बजेट ल्याउन सक्दछन् । योजना र कार्यक्रम बनाएर कार्यान्वयनमा लैजान सक्दछन् ।  म्याग्दी जिल्लालाई लगानि योग्य बनाई समृद्द बनाउन यस जिल्लामा रहेका ६ वटै स्थानीय सरकारहरूले अनलाइन प्लेटफर्महरू मार्फत आवश्यक जानकारी लिने, लगानीका अवसर दिने, नियम, र प्रक्रियाका बारेमा सुचित गर्ने, प्रवासी नेपाली लगानीकर्ता, स्थानीय उद्यमीहरू र सरकारी अधिकारीहरू बीचको सहकार्यलाई बढावा दिने, बिदेशबाट सिप र पुँजि ल्याई लगानी गर्ने उद्धमीलाई कर छुट र प्रहोत्साहन गर्ने, पूर्वाधार विकासमा लगानी, सीप विकास प्रवर्द्धन, र स्थानीय लगानीका लागि आकर्षक वातावरण सिर्जना गर्ने र इन्भेस्टमेन्ट कम्पनि जस्ता संगठित लगानिकर्ताहरुको लगानिको सुनिश्वितता प्रदान गर्नु र मोना लगाएत अन्य लगानि जिल्लामा भित्राउनु स्थानिय तह र जिल्ला स्थित अन्य संघ संस्थालाई अवसर र चुनौती दुवै रहेको छ ।

प्रवासी म्याग्देलीहरुको संस्था मोना म्याग्देली जनताको माझ आपत विपतको सारथिको पर्यायवाची र अन्यका लागि सामूहिक एकता र सद्भावको प्रतीक  बनिसकेको छ । विपतका वेला जिल्लाबासीले सम्झने पहिलो नाम बनेको छ, मोना । यही संस्थाका कारण प्रवासीले म्याग्दीलाई र म्याग्दीले प्रवासीलाई हेर्ने दृष्टिकोण सकारात्त्मक बनेको छ । अन्य सांस्थालाई सांगठनिक पाठ सिकाएको यस संस्थाको आन्तरिक गरिमालाई कायम राख्नु  संस्थाको पहिलो दयित्व देखिन्छ । यो पवित्र संस्थामा दलगत राजनिति घुस्न नदिनुनै र संस्थाको असल परिचयलाई कायम राख्नु संस्थाको पहिलो आन्तरिक चुनौति हो । मोनाले गरेका परोपकारी कार्य र असल अभ्यासको जस लिन राजनितक दलका कार्यकर्ता मोना मार्फत परिचालित हुन सक्ने खतरा मोना सदस्यहरुले सम्झिराख्नुपर्ने बिषय हो । आर्थिक आनुशासन र परदर्शिता संस्थाको ऐना हो  त्यहि आर्थिक अनुसासन कायम गर्नु र गराई राख्नु  अर्को मुख्य विषय हो । यो बाहेक संगठनका आन्तरिक चुनौति र मोनाका सदस्यहरु कामदारका रुपमा रहेका जटिल कानुनी र नोकरशाही प्रणालीहरू महत्त्वपूर्ण चुनौती हुन सक्छ। महान सोच, मातृमभूमी प्रतिको कर्तब्य र नतिजामुखि अठोट हुँदाहुँदै पनि  काम गर्ने देशको कानुनी   र ब्यवाहरीक झ़ञ्झट, स्थानिय स्तरसम्म संजाल विस्तार हुन नसकेका कारण केही योजना घोषणा हुने तर काम अधुरो नै रहने हुन सक्छ । यसको उदाहरणको रुपमा मोनाले महिलाको हक, अधिकार सुरक्षित र आत्मनिर्भर गराउने योजनासहित रु एक करोडको अक्षयकोष बनाउने घोषणा र सन् २०१६ मा तत्कालीन जिल्ला विकास समितिसँगको सहकार्यमा अघि सारेको फ्री वाइफाइ जिल्ला बनाउने महत्वकांक्षी योजना । यस्ता घटनाबाट पाठ सिकेर अगाडी बढ्न सकेमा मातृभुमिलाई समृद्ध  बनाउने प्रवासी म्याग्देलीको संकल्पमा ठेस लाग्ने थिएन ।

अन्त्यमा, पुँजी लगानी उत्पादनको पहिलो सर्त हो ।  उत्कृष्ट प्रयासहरूका बीचमा म्याग्दी जिल्लाले सामना गरिरहेका विकासका चुनौतीहरूको यथार्थता पनि लुकेको छ । मोनाको सम्मानित गरिमा, प्रशंसा, पहिचान, स्वाभिमान, महिमा र असल परिचयलाई जोगाउँदै  उत्पादनशिल क्षेत्रमा लगानी भित्राउनुनै जिल्ला विकासको प्रथम खुट्किलो हो । जिल्लाको आर्थिक, सामाजिक परिवर्तन ल्याउन  मोनाको नेतृत्वमा र  राज्यको सहजिकरणमा प्रवासीको सामुहिक लगानी र नयाँ प्रविधि भित्र्याउने र ६ वटै स्थानिय तहले  कृषि, ऊर्जा, पर्यटन, उद्योगधन्दा विकास र विस्तारमा प्रवासीको लगानीलाई विशेष प्राथमिकता दिएमा जिल्ला समृद्द हुनेमा दुईमत छैन। यो सपना साकार बनाउन मोनाले दीर्घकालीन र आवधिक योजनाहरू तय गर्नुपर्छ । प्राकृतिक स्रोत र साधनले भरिपूर्ण जिल्ला भएकाले जिल्लाको जल, जमिन, जङ्गल, जडीबुटी र जनशक्तिको अधिकतम उपयोग गर्ने गरी पुँजी र प्रविधिलाई लगानीको रुपमा भित्र्याउनुका साथै उच्च र समतामूलक आयको सृजना ,  मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग,  सर्वसुलभ र आधुनिक पूर्वाधार एवम् आवद्धता, उत्पादन तथा उत्पादकत्व वृद्धि; , सभ्य र न्यायपूर्ण समाज निर्माण, स्वस्थ र सन्तुलित पर्यावरण, सुशासन जस्ता बिषयमा निश्चित अवधि तोकि लक्ष्य निर्धारण गर्नुपर्छ । यहाँका कृषि, पर्यटन र उर्जामा सुरक्षित लगानीको वातावरण सृजना गर्नुपर्छ ।  स्थानिय संघ संस्था, स्थानिय सरकार, सम्वन्धित क्षेत्रका अनुभवि तथा विज्ञको सहकार्यमा अन्य सम्भावनाहरुको समेत खोजि गरी  जिल्लामा उत्पादन हुने उपजलाई अन्तराष्ट्रिय बजारमा पुर्‍याउनका लागि समेत मोनाले विशेष भुमिका खेल्नु पर्छ ।  ।म्याग्देली जनता, जनप्रतिनिधि र स्थानिय संघ संस्थाले जिल्लामा  पुँजी लगानी आर्कषित गर्ने रहर गरेर मात्र हुँदैन, त्यसका लागि लगानीको आर्कषक वातावरण निर्माण गर्नुपर्दछ । हाम्रो देशमा लगानी भित्र्याउन र खर्च गर्न राजनीतिक, प्रशासनिक तथा व्यवहारगत बानी ब्यबाहरमा धेरै सुधार गर्नुपर्ने देखिएको छ । प्रवासी नेपालीका साथै, विदेशी लगानी आकर्षित गर्न नीतिगत स्थिरता, कार्यप्रणालीमा पारदर्शिता र उत्तरदायित्व, सही सूचना प्रवाहको संस्कृति, भरपर्दो पूर्वाधारको विकास, दक्ष मानव संसाधनको विकास, हार्दिक औद्योगिक सम्वन्ध, लचिलो श्रम कानून, सशक्त पुँजी बजार, भ्रष्टाचारको शुन्यता र जिम्मेवारपूर्ण व्यवसायिक व्यवहार हुनुपर्छ भने करका सरल प्रावधानहरुको सुविधा दिनुपर्दछ ।  महिला , युवा  र बैदेसिक रोजगारबाट स्वदेश फर्की कृषि, पशुपालन तथा अन्य स्वरोजगारमा लागेका  मानिसहरुलाई प्रहोत्सान, प्रशिक्षण र आकर्षण गर्नुपर्छ ।आफ्नो मातृभूमी समृद्द बनाउने यति ठुलो सपना देखेर कार्यान्वयनमा अगाडी बढेको मोनाले संस्थाको आन्तरिक आर्थिक एवं सामाजिक अनुशासन एवं गैह्र राजनितिक छवि एवं क्रियाकलाप कायम राखेमा प्रवासी म्याग्देलीहरुकै सपना र अगुवाईमा म्याग्दी जिल्ला समृद्द हुनेमा दुईमत छैन ।

धन्यवाद ! यो निबन्ध म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोयोशियाले आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा दृतीय स्थान हासिल गर्न सफल भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...