के महिलाहरु थपनामै मात्र लोग्ने चाहन्छन् ?

Sinchai Khanipani notice

आरती आचार्य

गतबर्ष हुनुपर्छ सिस्नुपानी नेपालले आयोजना गरेको ‘छोरी’ कार्यक्रममा मनोज गजुरेलको आमाको प्रस्तुति उनी स्वयंमार्फत हेर्दै थिएँ । उनको प्रस्तुति,भाव,शब्द र त्यहाँको माहोल नै यति ओझिलो थियो कि हरकोही गम्भीर देखिन्थे । यस्तै भावले हेरिरहेको थिएँ म पनि । यत्तिकैमा उनले एक वाक्य भन्छन्,”मलाई लाग्छ थपनानै मात्र भए पनि लोग्ने चाहिन्छ होला।” त्यसको केही समय लगत्तै भन्छन्, “संसारको सबभन्दा भाग्यमानी मान्छे को हो थाहा छ?जसको सिउँदो पुछिएको छैन त्यो नै सबभन्दा भाग्यमानी हो।” यो सुनिसक्दा म निर्मम प्रश्नहरुको कठघरामा उभिएर मनमनै आफ्नो समाजका तमाम रङ्गिएको सिउँदोहरुमा कथित भाग्यमानी मान्छे खोजिरहेकी थिएँ । त्यही समय मेरो मस्तिष्कले झर्ल्यास्स सम्झिएथ्यो “साँइली दिदी”।

यदि सिउँदो रङ्गिएर मात्र कोही दुनियाँकै सबैभन्दा भाग्यमानी मान्छे ठहरिन्छ भने उनी सबैभन्दा भाग्यमानी मान्छे होलिन् तर यदि त्यस्तो होइन भने इतिहासले सिउँदो रङ्गिएका साइँली दिदीहरुको पिडाको हिसाबकिताब राखोस्। भर्खरै पाँच कक्षामा पढ्दै गरेको कलिलो मस्तिष्क, बिद्यालय पुग्नै लाग्दा बाटोमै रोइरहेकी उनलाई देखेको थिएँ । के भयो होला भनेर सहानुभूतिको आँखाले हर्नु बाहेक मैले गर्न सक्ने अरु केही थिएन । पछि थाहा भयो जबर्जस्ति उनको बिहे छिनिएको कुरा त्यो पनि सात/ आठ कक्षामा पढ्दै गर्दा । बिहे भयो, बिहेको दिनको उनको रुवाइ देख्न नसकेर म आमाको साडी पछिल्तिर लुकिरहेको थिएँ। त्यसको केही महिना लगत्तै परदेश भासिएर, पटकपटक सम्पर्क गर्दा पनि सम्पर्कमा नआएको श्रीमान र बाबुआमा आफै बनेर सन्तान हुर्काउनु परिरहेको दुख देख्दादेख्दै म उनको रङ्गिएको सिउँदो मात्रै हेरेर संसारको सबैभन्दा भाग्यमानी कसरी करार गरूँ?

Shreekrishna hardwear in news

सामाजिक ,आर्थिक ,मनोवैज्ञानिक हर तवरबाट जीवनसँग पैँठेजोरी खेल्दै ओठमा पलाँस फूलाइरहेका साँइली दिदीहरु शिरमा सिन्दुर पोतेर होइन बरु जीवनका तहसनहसहरुलाई सङ्घर्षले जितेर हाँस्न सिकेका हुन्। कसैको सिन्दुरले सिउँदो अधीनस्थ पारिदिएको उनका पारिवारिक, आर्थिक, शारीरिक इच्छाहरुको यहाँ कुनै मूल्य छ? एक चिम्टी सिन्दुरको यति भारी मूल्य चुकाइरहेका साँइली दिदीहरुको सिउँदोलाई कुन हिसाबले भाग्यमानी ठहर्‍याइन्छ? यी सबका बाबजुद जब उनीहरू पहाड बनेर सब कुराहरु आफ्नो पाइलामुनि पारेर स्वाभिमान हाँस्न खोज्छन् तब मनोज गजुरेलहरु यसको श्रेय पनि सिन्दुरलाई दिन उद्धत देखिन्छन्।

Bhautik ministry notice about road

जब विवाहलाई अति सामान्यिकरण गरेर “मारे पाप पाले पुण्य”को स्तरमा झारिन्छ तब मेरा आँखै अघि नाच्छन् “साँइली दिदी”हरुका रुवाइका चित्कारहरु र उनले भोगिरहेको जीवन। यस्तो देखिरहेर पनि को आँखामा आक्रोश नबोकी बाँच्न सक्छ? को भन्न सक्छ म सिन्दुर लगाएकी सबैभन्दा भाग्यमानी हुँ भनेर? लोग्नेको दिनहुुँको हिँसा खप्न नसकेर आफ्ना सन्तान सहित कर्णालीमा फाल हालेकी आमाको कथा मैले मात्र सुनेकी हुँ र? के यिनीहरू सुन्दैनन्? होइन भने विवाह, लोग्ने जस्ता जीवनका महत्त्वपूर्ण आयामलाई थपनाको लोग्नेमा टुङ्ग्याएर किन यसरी सामान्यीकरण गरिन्छ?

हाम्रो समाज प्रेम,सहयात्रा,सहअस्तित्व चाहँदैन ? चाहने भए श्रीमान थपनाको लागि होइन जीवनका देउराली र बेँशी सँगैसँग हातमा हात राखेर पार गर्न हो भन्ने बुझ्नुपर्ने हो । जहाँ दुबै एकअर्काको बलियो शक्ति भएर सँगै हुन पाइयोस् न कि भगवान जस्तो थपना गर्नुपर्ने । कसैको थपना गर्न खोजियो भने त्यसले सहयात्रा वा एकले अर्काको अस्तित्व स्विकार्नु आवश्यक हो भन्दैन बरु पुरुष यति महान छ कि एउटा थपनासम्म नभए त तेरो जीवन तहसनहस छ भन्ने भाष्य निर्माण गर्छ।यसमा मैले पुरुष अस्तित्वको अवमूल्यनको गरेको अर्थ नलागोस् बरु पुरुष सबैभन्दा महान हो भन्ने भाष्यको बिरोध गरेकी हुँ ।

नारी र पुरुष एकै रथका दुई पाङ्ग्रा,एकै सिक्काको दुई पाटा पनि भन्दै गर्ने अनि थपनानै सही श्रीमान श्रीमाननै हो भन्नु आफैमा बिरोधाभाष होइन? के हामीले पारिजातले मानुषीमा भने जस्तै सहयात्रा खोजेका होइनौँ र ? कि जाबो रथै त हो नि यति महान पुरुषले एक्लै थेगेर चल्न सक्छ भन्ने हो ? आउनुस् विवाहबारे आजको पुस्ता के सोच्छन् थाहा पाऊँ । केही समयअघि सहरमै जन्मिएर, यतै हुर्किएकी मेरी साथीले विवाहको कुरालाई लिएर भनेकी थिइन्,”विवाह प्रेमिल सहयात्राभन्दा पनि बाध्यता जस्तो मात्रै छ । जोसँग विवाह हुने हो उसले आफ्नो अस्तित्व नै स्विकार नगर्ला कि भन्ने डर घरपरिवार,समाज,विद्यालय,विश्वविद्यालय जहाँ पुगे पनि “ए केटी त हो !” भन्ने बिचराको नजरले जहिल्यै हेरिन्छ अब कसरी मानाैँ कि विवाह गरेर जाने घरले म जे हुँ त्यही अस्तित्वमा स्विकार्छ भन्ने कुरा? यसैले मलाई विवाहदेखि बरु डर पो लाग्छ ।

विवाह गर्छु भन्ने पनि कुनै योजना छैन।” सबैको होइन तर केही यो मानसिकताले पनि हुर्किरहेका छन् । यही बिन्दुमा कथित थपनाको श्रीमानले फेल खान्छ । किनकि अबका पुस्ता समानता,समता चाहन्छन् । हिजो आमा, हजुरआमाहरुले जे भोगे त्यो उनीहरू चाहँदैनन् । साथै नपुछिएको सिउँदो कुनै भाग्यको द्योतक होइन बरु सहअस्तित्व प्रमुख कुरा हो भन्ने उनीहरू राम्ररी बुझ्छन् । व्यक्तिगत रुपमा मनोज गजुरेलको जीवन सङ्घर्ष र उनले नेपाली हास्यव्यङ्ग्य क्षेत्रमा पुर्‍याएको योगदानलाई म उच्च सम्मान गर्छु तर केवल एकदुई वाक्य नै त हो के फरक पर्छ र जसरी बोलिएका यी वाक्यहरुले यो समाजका अनगिन्ती “साँइली दिदी” हरुका सङ्घर्षहरु ओझेलमा पार्छन्, उनीहरुका लडाइँ सामान्य ठहरिन्छन् । उनीहरुका आँसुले बिद्रोह गर्छन् र भन्छन् “कथित भाग्यमानी मलाई मेरो पढ्ने उमेरको किशोर जीवन ससम्मान फिर्ता गरियोस् ।” अन्त्यमा मलाई मनोज गजुरेलहरुसँग प्रश्न सोध्न मन छ, “एकल महिला भएरै आफ्ना सातसातवटा सन्तान हुर्काउन गर्नुपरेको सङ्घर्ष, खप्नुपरेको पीडा आफ्नै भावनामा समेटेर, आफ्नै शब्दहरुमा उनेर, घाँटीसम्म आइपुगेर रोकिएका रुवाइका थर्थराउँदा कम्पनहरुमा आमाको कथा आमा आफैले भन्ने दिन यो शताब्दीमा आउँदैन मनोज सर?”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...