खिवाङमा खानेपानी आयोजना निर्माण

Gandaki Pardesh notice

बेनी, १० चैत ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा एक घर, एक धारा सहितको खानेपानी आयोजना निर्माण भएको छ ।

आयोजना निर्माण भएपछि १३६ घरधुरीलाई एक घण्टा बढी समय लगाएर पानी ओसार्नुपर्ने बाध्यता हटेको छ । खिवाङकी रिना बुद्धुजाले आगनको धारामा २४ सै घण्टा नियमित पानी आउन थालेपछि झञ्जट र सास्ती हट्नुका साथै समय बचत भएको बताउनुभयो ।

“यसअघि ३० मिनेट ओरालो हिडेर पुगिने मुहानबाट पानी लिएर फर्कदा उकालोमा ४५ मिनेट लाग्ने गरेको थियो,” उहाँले भन्नुभयो “हिउँदमा सुक्ने र बर्षादमा लेदो आउने पानीले बिरामी पर्ने समस्या थियो ।”

Shreekrishna hardwear in news

गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा निर्माण भएको खिवाङ खानेपानी तथा सरसफाई आयोजनाबाट १३६ घरधुरी लाभान्वित भएका छन् । शुरु भएको ९१ दिनमा सम्पन्न भएको आयोजनाबाट थप ६ ठाउँमा सार्वजनिक धारा जडान गरिएको उपभोक्ता मितिका अध्यक्ष जयराम बिकले बताउनुभयो ।

Bhautik ministry notice about road

ट्रष्टको रु. ७३ लाख बराबरको निर्माण सामग्री र प्राविधिक सहयोग तथा उपभोक्ताहरुको रु. ३१ लाख बराबरको श्रमदानमा खानेपानी आयोजना निर्माण भएको हो । २०८० मंसिर १६ गतेदेखि शुरु भएको आयोजना फागुन ३० गते सम्पन्न भएको थियो । ६ किलोमिटर टाढाको मुहानबाट ल्याएको पानी ७ वटा रिजर्भ टंकी र घरघरमा धारा बनाएर वितरण गरिएको हो ।

आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न धारामा मिटर जडान गरिएको छ । ट्रष्टका कन्ट्रक्सन ईञ्जिनियर लिला पुन शेरचनले यस वर्ष खिवाङ सहित वडा नम्बर ३ को काभ्रे र वडा नम्बर ४ को छेम्दीमा पनि खानेपानी आयोजना निर्माण सकिएको जानकारी दिनुभयो ।

छेम्दीमा रु. ६४ लाखमा निर्माण भएको आयोजनाबाट ७२ र काभ्रेमा रु. ६५ लाखको लगानीमा निर्माण भएको आयोजनाबाट ७५ घरधुरीका ३५३ घरधुरी लाभान्वित भएका छन् । गत वर्ष र यसपाली निर्माण भएका आयोजनाहरुबाट ३८७ घरधुरीका १ हजार ९०० जनसंख्या लाभान्वित भएका शेरचनले बताउनुभयो । गत वर्ष वडा नम्बर ३ को दानाबजार, दुवारी र वडा नम्बर ४ को पटारमा खानेपानी आयोजना निर्माण भएको थियो ।

आगामी वर्ष वडा नम्बर ४ नारच्याङको बेशी र लेकगाउँमा ट्रष्टको रु. १ करोड १५ लाख सहयोग र उपभोक्ताको श्रमदान सहित रु. २ करोड ४१ लखको लागतमा थप २ वटा खानेपानी आयोजना निर्माण गर्ने योजना रहेको छ । सन १९७६ देखि नेपालमा काम गरिरहेको ट्रष्टको सहयोगमा ५१ जिल्लामा निर्माण भएका २ हजार ३८० खानेपानी आयोजनाबाट ६३ हजार घरधुरी लाभान्वित भएका जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...