जलजलामा वार्षिक परिक्षा सञ्चालनमा नयाँ अभ्यास

Gandaki Pardesh notice

बेनी । पर्वतको जलजला गाउँपालिकाले कक्षा १ देखि ९ को वार्षिक परिक्षा सञ्चालन शैली परिवर्तन गरेको छ । सामुदायिक विद्यालयका विद्यार्थीको वास्तविक सिकाई उपलब्धी र सिकाईमा देखिएका समस्या पहिचान गरि सुधार गर्न नयाँ परिक्षा सञ्चालन शैली अपनाएको हो ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले सबै विद्यालयका लागि एउटै प्रश्नपत्र तयार पारि फरक विद्यालयका शिक्षकलाई केन्द्राध्यक्ष खटाउनुका साथै उत्तर पुस्तिकालाई गाउँपालिकामा संकलन गरेर जाँच गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

“यसअघि कक्षा ८ को वार्षिक परिक्षा मात्र पालिका स्तरमा सञ्चालन हुने गरेकोमा यसपाली देखि १ देखि ९ सम्मकै परिक्षा गाउँपालिकाले सञ्चालन गर्न थालेका छौ,” उहाँले भन्नुभयो “कुन विद्यालयका कुन विद्यार्थीको कुन विषयको सिकाई उपलब्धी कस्तो छ ? भन्ने तथ्य पहिचान गर्नका लागि परिक्षा सञ्चालन गर्ने बिधी परिवर्तन गरिएको हो ।”

Shreekrishna hardwear in news

चैत ४ गतेदेखि सञ्चालन भएको परिक्षाका लागि मावि तहको १५ र १–३ तहको लागि ५ वटा केन्द्र बनाइएको छ । माध्यमिक विद्यालय वरपरका अन्य आधारभूत विद्यालयका विद्यार्थीलाई पनि केन्द्रमै परिक्षा दिने व्यवस्था मिलाइएको छ ।

भौगोलिक रुपमा विकट र माध्यमिक विद्यालय पुग्न अपायक पर्ने विद्यालयका १–३ तहका विद्यार्थीका लागि थप ५ वटा केन्द्र तोकिएको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो । जलजलाको ४४ वटा सामुदायिक विद्यालयमा २ हजार जना भन्दा बढी विद्यार्थी छन् ।

जसले पढाएको हो उसैले प्रश्न बनाउने र उत्तरपुस्तिका जाँच्ने गर्दा विद्यार्थीको वास्तविक सिकाई अवस्था र क्षमता पहिचान हुन नसकेको निष्कर्ण निकालेको गाउँपालिकाले ६ जना विषय विज्ञलाई प्रश्नपत्र तयार पार्न लगाएको थियो ।

Bhautik ministry notice about road

शिव मावि फर्सेमा केन्द्राध्यक्ष रहेका विद्याज्योती मावि मल्लाजका अंग्रेजी शिक्षक हिराबहादुर बरुवालले विद्यार्थीको वास्तविक सिकाई उपलब्धी पहिचान गर्न नयाँ शैलीको अभ्यास गरिएको बताउनुभयो ।

यही चैत ४ गतेदेखि शुरु भएको वार्षिक परिक्षाका लागि प्रति ३० जना विद्यार्थी बराबर एक जना निरिक्षक परिचालन गरिएको छ । शिक्षाको गुणस्तर वृद्धि गर्ने उद्देश्यले त्रैमासिक परिक्षा पनि पालिका स्तरमा सञ्चालन गरिएको शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले बताउनुभयो ।

विद्यार्थीको परिक्षा नतिजा सफ्टवयरमा राख्ने, विद्यालय तथा विषयगत रुपमा विष्लेषण गरेर नयाँ शैक्षिक सत्रदेखि लागू हुने गरि सुधारको कार्ययोजना बनाउने गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी परिक्षा केन्द्रको अनुगमनमा पुगेका छन् । अनुगमनमा गएका जनप्रतिनिधिहरुले परिक्षा केन्द्र रहेको माविका प्रअहरु विदा बसेकामा असन्तुष्टि जनाएका छन् । केही विद्यालयका शिक्षकले केन्द्राध्यक्षले गरेको विद्यार्थीको बसाई व्यवस्थापन परिवर्तन गरेको र माविका प्रअहरुले असहयोग गरेको गुनासो गर्नुभयो ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि जलजला गाउँपालिकाले गत भदौमा सबै विद्यालयमा पुगेर अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । गत वर्ष पालिकाका सबै विद्यालयहरुको एकै दिन र समयमा उपलब्धी मापन परिक्षा सञ्चालन गरेको थियो । शिक्षकहरुलाई सूचना प्रविधी सम्बन्धी तालिम दिएको थियो ।

परिक्षाको नतिजाको आधारमा कमजोर सिकाई उपलब्धी भएका विद्यार्थीलाई केन्द्रित गरेर अतिरिक्त कक्षा सञ्चालन गर्ने योजना रहेको छ । कमजोर नतिजा भएका विषयगत शिक्षकलाई सुधारका लागि नैतिक दवाव सिर्जना र राम्रो नतिजा भएका विषयका शिक्षकलाई प्रोत्साहन गर्ने नीति लिइने गाउँपालिकाका अध्यक्ष आचार्यले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...