भुमे पुजामय चिमखोला

Sinchai Khanipani notice

सुरेन गुुरुङ

चिमखोला । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले प्रकृतिलाई खुसी बनाउन मंगलबार धुमधामका साथ ‘भुमे पूजा’ गरेका छन् ।

चिमखोलाका साथै रघुगङ्गा गाउँपालिकाको वडा नं १ बेग र बाँदुकमा धूमधामका साथ भुमे पूजा गरिएको छ । हरेक वर्ष चैत महिनाको उजेली मङ्गलबारका दिन परम्परागतरूपमा गरिँदै आइएको भुमे पूजालाई यस वर्ष पनि निरन्तरता दिएर पूजाआजा गरिएको हो ।

Shreekrishna hardwear in news

खेती किसानी गर्ने परम्परागत पेसा अँगालेका मगर समुदायले वन, जङ्गलको छेउछाउमा बसोबास गर्ने भएकाले प्रकृतिलाई खुसी बनाएर कुनै प्राकृतिक प्रकोप र विपत्ति नहोस् भन्ने महोकांक्षाले भुमे पूजा गर्न सुरु गरेको पाइन्छ । बर्खा लाग्नु अगाडि हुने यस पूजामा बाढी, पहिरो, असिनालगायतका प्राकृतिक प्रकोप नहोस् भन्ने कामनासहित प्रकृति पूजाको रूपमा भुमे अर्थात् भूमिको पूजा गर्ने प्रचलन रहेको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजाले बताउनुभयो ।

उहाँका अनुसार मङ्गलबार चिमखोलामा एकै दिन भूमे, मन्डली र ताप्केभेरामा रहेको भुमेथानको पूजा गरिएको छ । चिमखोला गाउँको शिरमा रहेको ऐतिहासिक मन्डली थान र सेवाङमा रहेको भूमे थानमा आफ्नो मनोकामना पूरा हुने जनविश्वासले जिल्लाको विभिन्न ठाउँबाट सयौँको सङ्ख्यामा भक्तजनको सहभागिता रहेको थियो ।

‘’आपत्विपत्मा मण्डली र भुमे देवतालाई गुहार माग्ने गर्छौँ, आफ्नो मनोकाङ्क्क्षा पूरा भएपछि भाकलस्वरुप थानमा आएर पन्च्योल स्वरुप पूजा गर्ने चलन छ’, अध्यक्ष पाइजाले भन्नुभयो । चिमखोलामा मण्डली बजै र भुमे थानमा अहिलेसम्मकै धेरै भक्तजन आएका थिए । २८० वटा पन्च्योल नै चढाएका छन् । भुमेथानमा साँढ, मण्डली बजैको थानलाई पाठीको बलि दिने गरिन्छ । मन्डली थानमा आएका भक्तजनले परेवा, नरिवललगायत चढाएरसमेत पूजा गर्छन् ।

Bhautik ministry notice about road

मन्डली थानको महिमाको प्रचार–प्रसार हुन थालेपछि हरेक वर्ष मन्डली थानमा पूजा गर्न आउनेहरूको सङ्ख्या बढेको थान संरक्षण एवं व्यवस्थापन समितिका अध्यक्ष याम रोकाले बताउनुभयो । भुमे पूजाको अवसरमा यहाँ भुमे देवतालाई खुसी बनाउन कोदोको छ्याङ खाएर रमाइलो गर्ने प्रचलन रहेको छ ।

गाउँ सभाबाट भुमे पूजाका लागि एक महिनाअघि नै छ्याङ बनाउने जाँड राख्न छेमा (महिला) छनोट गरेपछि उनीहरूले विभिन्न टोलमा छुट्टाछुट्टै समूह बनाएर प्रत्येक घरबाट कोदो, चामल र नगद सङ्कलन गरी कोदोको छ्याङ बनाउन जाँड राख्ने चलन रहेको छ । छेमाहरूले एक महिनाअघि राखेको जाँडलाई भुमेथान परिसरमा विधिपूर्वक चढाएर एक आपसमा खुसीयाली बनाउनका लागि खाने र भुमे देवतालाई खुसी बनाउन सोही छ्याङ र खाना पकाउँदा अँगेनामा आउने अङ्गारसमेत एक अर्कालाई दलेर रमाइलो गर्ने चलन रहेको छ ।

भुमेथानमा मौलिक संस्कृतिअनुसार पूजा गरेपछि लोपोन्मुख अवस्थामा रहेको पुर्ख्यौली सेदो गीत, भैच मायाले लगायतका गीतमा नाचगान गर्दै गाउँ फर्कँदा स्थानीय मण्डली युवा क्लबले ज्येष्ठ नागरिक र अगुवालाई काँधमा बोकेर सम्मान गर्ने प्रचलन छ । यसैबीच भुमे पूजाको अवसरमा चिमखोलामा विविध सांस्कृतिक एवं खेलकुद मेलासमेत सुरु भएको छ । यता रघुगङ्गा गाउँपालिका–१ बेग र बाँदुक गाउँमा समेत धूमधामका साथ भुमे पूजा गरिएको छ । भुमे पूजामा सरिक हुन सहरदेखि प्रवाससम्म छरिएर बसेका पनि गाउँ फर्किएका छन् ।

यहाँ कुखुराको भाले, बोका र राँगोको बलि दिएर भुमे पूजा गर्ने प्रचलन रहेको छ । प्रकृतिलाई खुसी बनाउन गरिने भुमे पूजाको महिमा बढ्दै गएको र देश तथा विदेशमा रहेकाहरू पनि गाउँ फर्कने गरेको स्थानीय महादेव माविका प्रअ दुतबहादुर गर्वुजाले बताउनुुभयो । भूमे पूजामा मौलिक पुर्ख्यौली नाचसँगै नौमती पञ्चेबाजामा नाचगान गरेर उत्सव मनाउने भएकाले यतिबेला मगर समुदायको बसोबास रहेका बस्ती उत्सवमय बन्न थालेका छन् ।

मगर समुदायको बाक्लो बसोबास रहेको रघुगङ्गा–४ दग्नाम र दर्मिजामा भने जेठ महिनाको उजेली मङ्गलबार भुमे पूजा गरिन्छ भने वडा नं ६ पाखापानीमा वैशाखमा गर्ने प्रचलन छ । भुमे पूजाको अवसरमा भुमे थानसँगै खोलाखोल्सा र धुरीहरूमा रहेका अन्य देवी–देवताको समेत पूजा गर्ने प्रचलन रहेको दग्नामका शिक्षक गुन पुनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...