म्याग्दीमा डढेलोको लाग्ने क्रमसँगै वायु प्रदुषण बढ्यो

Gandaki Pardesh notice

बेनी । म्याग्दीको वन क्षेत्रमा पछिल्लो एक सातायता डढेलो लाग्ने क्रम बढेको छ ।

बर्षा नहुँदा सुख्खा भएका पहाडलाई आगोले डढाउँदा नराम्रो देखिएको, तापक्रम वृद्धि, धुँवा, धुलोले वायु प्रदुषण भएको छ । रुख बिरुवा, जडिवुटी, वन्यजन्तु र पंक्षीको वासस्थान डढेलोबाट नष्ट भएको छ । आगलागीले वन जङ्गल उजाड र पहाडका पाखा कालो र नाङ्गो भएका छन् ।

डिभिजन वन कार्यालयका प्रमुख बिष्णुप्रसाद अधिकारीले सोमबार जिल्लाभर ९ ठाउँमा डढेलो लागेको बताउनुभयो । “गोठालाहरुले घाँसका लागि, शिकारीले वन्यजन्तु भगाउन र खेतबारीको झारपात नष्ट गर्ने क्रममा सावधानी नअपनाउँदा डढेलोको जोखिम बढेको हो,” उहाँले भन्नुभयो “भिरालो जमिन, भौगोलिक विकटता र पानीको सहज उपलब्धता नहुने भएकाले डढेलो नियन्त्रण गर्न चुनौति छ ।”

Shreekrishna hardwear in news

बेनी नगरपालिका–७ र ८ स्थित बराहपाखो सामुदायिक वनमा लागेको डढेलो सोमबार दिउँसो जिल्ला सदरमुकाम बेनी बजारको बस्तिमा पस्न थालेपछि निभाउन दमकलको प्रयोग गरिएको थियो । १६ हेक्टर क्षेत्रफलमा फैलिएको बराहपाखो सामुदायिक वन सखाप परेको उपभोक्ता समूहका अध्यक्ष बिष्णु गौतमले बताउनुभयो । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, वन प्राविधिक र उपभोक्ताहरु डढेलो नियन्त्रणमा खटिएका थिए ।

Bhautik ministry notice about road

बेनीको कालीगण्डकी पारी पर्वतको जलजला गाउँपालिकाको मल्लाजको भिरमा पनि आगलागी भएको छ । बेनी नगरपालिकाको –२ र ३ को सिमाना स्थित तोराखेत जंगल, ठूलो रानीवन, मंगला गाउँपालिका–४ आलडाँडा सामुदायिक वन र अन्नपूर्ण गाउँपालिका–१ दोवा सामुदायिक वन, वडा–६ को साल्जा, खोप, महभीर, जुकेपानी, भुर्दुङ सामुदायिक वनमा डढेलो लागेको छ ।

मंगला गाउँपालिकाको आलडाँडा र अन्नपूर्णको दोवा र घारको जंगलमा ५ दिनदेखि डढेलो निभेको छैन । धवलागिरी गाउँपालिकाको ताकम स्थित २ वटा सामुदायिक वनमा पनि डढेलो लागेको छ । फागुनयता जिल्लाका ५५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । राष्ट्रिय वन र चरन क्षेत्रमा लागेको डढेलोको अभिलेख छैन ।

डढेलोको धुँवाले वन विनाससँगै वातावरण पनि प्रदूषित भएको छ । बेनीको वायुमा १ सय २५ पिएम प्रदूषण देखिएको छ । डिभिजन कार्यालयको अभिलेख अनुसार म्याग्दीको २ लाख २९ हजार ७ सय ६ हेक्टर क्षेत्रफल मध्ये ३६.७६ प्रतिशत वन, १.८५ झाडी, २१.२७ प्रतिशत क्षेत्र चरन क्षेत्रले ओगटेको छ ।

ढोरपाटन सिकार आरक्षले १ हजार २ सय ६० हेक्टर, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले ३ हजार ७ सय ५३ हेक्टर वन क्षेत्र ओगटेको छ । समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम, वन डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने, अग्नीरेखा निर्माण लगायतमा सहजीकरण, सुरक्षा निकायलाई आवश्यक पर्ने डढेलो नियन्त्रणका सामाग्री सहयोग, पूर्वतयारी संगै डढेलो लागीहालेमा सुरक्षा निकाय, वन उपभोक्ता समुह, स्थानीय तह र सरोकारवालासंग समन्वय संगै जनशक्ति परिचालनमा समेत अगुवाई गरिएको वन डिभिजनले जनाएको छ ।


जिल्ला र पालिका स्तरमा डढेलो नियन्त्रण सञ्जाल गठन गरेर सुरक्षा निकायलाई अग्नी नियन्त्रण सामग्री उपलब्ध गराएको छ । डढेलो लगाउने व्यक्तिलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।
वन्यजन्तुलाई खानेपानीको प्रबन्ध मिलाउन र डढेलो लागेका समयमा आगो नियन्त्रणका लागिसमेत प्रयोग गर्न सघाउने प्रयोजनका लागि यस वर्ष विभिन्न १० वटा सामुदायिक वनमा पोखरीसमेत निर्माण गर्न थालेको सहायक वन अधिकृत बिनय अधिकारीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...