रैथाने गाई संरक्षणमा जलजला गाउँपालिका

Gandaki Pardesh notice

जलजला, पर्वतको जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरी क्षेत्रमै पहिलो पटक स्थानीय जातका गाईको संरक्षण अभियान थालेको छ । स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई अनुदान दिने व्यवस्था मिलाएको जलजलाले वडा नम्बर ७ धाइरीङको लालुङमा रहेको गण्डकी गोपाल गौशालालाई व्यवस्थित बनाउन काम थालेको हो ।

संघीय सरकारको साझेदारीमा गौशाला निर्माण शुरु गरेको गाउँपालिकाले स्थानीय जातका गाईगोरु पाल्ने कृषकलाई अनुदान दिन रु। आठ लाख बिनियोजन गरेको अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

“धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व वोकेका स्थानीय जातका गाई र गोरु पाल्ने कृषकलाई अनुदान दिएर संरक्षणको पहल थालेको हो,” उहँले भन्नुभयो “आधुनिक र व्यवसायिक पशुपालन तथा कृषिलाई प्रर्वद्धनका साथसाथै स्थानीय जातका पशुको आनुवांशिक स्रोत संरक्षण गर्न गाईगोरु पाल्ने कृषकलाई अनुदान दिने कार्यक्रम ल्याएका हौ ।” चालु आर्थिक वर्ष २०७९÷८० मा ४०० वटा गाईगोरु पालेका कृषकले रु। चार लाख अनुदान पाएका थिए ।

Shreekrishna hardwear in news

धाइरिङमा गौशाला
धाइरीङमा वि।स। २०७२ मा समुदायको अगुवाईमा स्थापना भएको गौशालामा हाल ४८ वटा स्थानीय जातका मात्र गाई र बाच्छाबाच्छि छन् । ११ वट गाईबाट गौशाला शुरु गरिएको कर्मचारी ओमबहादुर केसीले बताउनुभयो । “स्थानीय जातका गाई संरक्षणगरी धार्मिक र कृषि पर्यटनको विकास गर्ने उद्देश्यले गौशाला सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो “गाई लोप हुन नदिनुनै गौशालाको उद्देश्य हो ।”

केसीका अनुसार स्थानीयबासीहरुले गौशालालाई गाई सहित प्रति गाई बराबर रु। एक लाख १० हजारले नगद पनि सहयोग गरेका छन् । स्थानीय टेकप्रसाद आचार्यले गौशालाका लागि ४० रोपनी जग्गा दान गर्नुभएको छ ।

दिउँसोको समयमा नजिकैको जंगलमा चराउन लैजाने गाई बाध्नका लागि व्यवस्थित गोठ बनाइएको छ । बिहान बेलुकी घाँस, पराल र दाना खुवाउने गरिएको छ । जलजला र हम्पालको राष्ट्रिय वन क्षेत्रलाई गौशालामा पालिने गाईका लागि चरन क्षेत्र बनाउन प्रस्ताव गरिएको छ ।

गाईको दाना, घाँस, पराल र तीन जना कर्मचारीको तलबका लागि वार्षिक रु। २२ लाख खर्च हुने गरेको छ । गाईको महत्वका विषयमा समुदाय सस्तरमा सन्देश प्रवाह गराउन र गौशाला सञ्चालनका लागि आयस्रोत जुटाउन वि।स। २०७६ मंसिरमा मिलनचोक स्थित कालीगण्डकी किनारमा गौ महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा रु। तीन करोड २४ लाख सहयोग घोषणा भएको थियो । महोत्सवमा संकलित रकमको व्याज र दाताबाट सहयोग जुटाएर गौशाला सञ्चालन गरिएको हो ।

गौशालामा पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षका लागि जलजला गाउँपालिका र संघीय सरकारबाट रु। असी÷असी लाख बिनियोजन भएको थियो । गौशाला पछाडी रहेको पाखोमा पर्खाल निर्माण र जग्गा सम्माउने काम भइरहेको जलजला गाउँपालिकाका ईञ्जिनियर सुनिल बानियाले बताउनुभयो । जग्गा सम्माएपछि सो ठाउँमा आश्रयस्थल, हवन कुण्ड, सत्तल र मन्दिर निर्माण गरिनेछ ।

default

सो संरचना निर्माणका लागि सिम्रन इन्फ्रास्टक्चर एण्ड सप्लायर्स प्रा।ली।सँग रु। एक करोड २५ लाख ८५ हजार २३२ मा ठेक्का सम्झौता भएको छ । आगामी जेठ मसान्त सम्म काम सक्ने ठेक्का सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो ।
गोबर र गहुँतलाई आम्दानीको स्रोत बनाइदै

गौशालामा पालिएका गाईको गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यका लागि बिक्री गर्ने र गोबरलाई प्राङ्गारिक मलका रूपमा उपयोग गर्ने योजना कार्यान्वयन गर्न थालिएको छ । गाईको गोवर प्रसोधन गरेर पुजा र सजावटका सामग्री बनाउन थालिएको छ । गौशालाका कर्मचारी ओमबहादुर केसी र तुलसीराम आचार्य भारतको काशीपुर पुगेर गाईको गोबरबाट सामग्री बनाउने तालिम लिएर आउनुभएको छ ।

“गोवर प्रशोधन गरेर देवी देवताका मुर्ती, धुप, इकोप्रेसर म्याट, चप्पल, भित्ते घडी जस्ता सामान बनाउन थालेका छौ,” कर्मचारी आचार्यले भन्नुभयो “गौशालामा आउने भक्तजनलाई बिक्री गर्ने, रोजगारी सिर्जना र आम्दानीको स्रोतका लागि गोबरबाट पुजा र सजावटका सामग्री बनाउन थालेका हौ ।” गहुँत प्रसोधन गर्ने उपकरण ल्याइएको छ ।
कृषि र धार्मिक पर्यटनको सम्भावना
गौशाला नजिकै रहेको धाईरिङ भूमे ठाकुरको थान, जलजला–हम्पाल क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तब्य बनाउन पहल गरिउको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । “हिन्दु धर्मग्रन्थ रामायणमा उल्लेख गरिएको कालञ्जर पर्वत क्षेत्र जलजला गाउँपालिकाकै पहाड हो,” उहाँले भन्नुभयो “यस क्षेत्रलाई कृषि र धार्मिक पर्यटनको रुपमा विकास गर्ने प्रयासमा लागेका छौ ।”


गोठबाट गौशालामा सिमित भए रैथाने गाई
म्याग्दीको धवलागिरी गाँउपालिका–७ ताकमका इन्द्रलाल पौडेलका गोठमा २५ वर्षअघिसम्म ४२ वटा गाईगोरु थिए । “हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत नपाइने अवस्था आयो,” उहाँले भन्नुभयो “गाई देखिनै छाडे, गोरु पनि मेटिन लागे ।”

पौडेलका अनुसार ३५० घरधुरी भएको ताकम गाउँमा अहिले दुई वटा घरमा मात्र गाई छन् । पुजाआजा र धार्मिक कार्यका लागि दूध तथा गहुँतका लागि गाईका मालिकलाई पहिलेनै भन्नुपर्छ । धवलागिरी गाउँपालिका–७ काफलडाडाका नेत्रप्रसाद पुन गाईको गोठ लिएर लेकबेसी गर्न छाडेको १५ वर्ष भयो ।

Bhautik ministry notice about road

“थोरै दूध दिने दश वटा गाई पाल्नु भन्दा धेरै दूध दिने एउटै भैसी पाल्दा सजिलो र सुःख छ,” उहाँले भन्नुभयो “खनजोत गर्ने मिनिटेलर हलो भित्रिएपछि गोरुको पनि महत्व घट्यो । गाई पाल्ने चलनै हरायो ।”
विदेशिए गोठाला, हराए गोठ

ताकममा मात्र नभएर हिजोआज पहाडका गाउँघरमा रैथाने जातका गाई भेट्टाउन मुस्कील पर्न थालेको छ । धार्मिक, सांस्कृतिक, जैविक र पर्यावरणीय महत्व वोकेका रैथाने गाईगोरु दुर्लभ हुन थालेका छन् । उत्पादनको लागत घटाउन र आम्दानी बढाउन उन्नत जातको व्यवसायिक पशुपालन उपयुक्त हो । उन्नत जात र व्यवसायिकतासँगै रैथाने जातका पशुको संरक्षणमा ध्यान पुगेको देखिदैन् ।

बढी ढूध दिने उन्नत र बर्णशंकर जातको गाई र भैसी पाल्ने तथा खेतबारी खनजोतका लागि ट्याक्टर र मिनिटेलर हलोको बढ्दो प्रयोगसँगै स्थानीय जातका गाई र गोरु पाल्ने चलन हराएको धवलागिरी गाउँपालिका–३ मुनाका ७६ वर्षीय गंगबहादुर पहरे पुनले बताउनुभयो ।

“खेतबारीमा मल बनाउन, ‘गोरस’ (दूध, दही, मही र घ्यु), धार्मिक कार्य र गोरुका लागि घरै पिच्छे गाई पालेर लेकबेशी गरिन्थ्यो,” उहाँले भन्नुभयो “कामको खोजीमा विदेश जाने क्रमसँगै गाउँमा गोठ बस्ने मान्छे पाइन छाडे । ट्याक्टर भित्रिएपछि गोरु नचाहिने भएकाले गाई पाल्ने चलन झनै घट्यो ।”

पहिले हरेक घरको एउटा गोठ हुने गरेकोमा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरीको गाईबस्तु लिएर एक जना गोठमा जाने गरेका छन् । बर्खामा हिमालको फेदीका बुकी खर्कमा पुग्ने गोठ हिउँदमा बेशीका फाँटमा झर्छन् । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ ।

ट्याक्टर र यान्त्रिक हलोले गोरु विस्थापित

दुई दशक अघिसम्म स्याङ्जा, पर्वत, कास्की, बाग्लुङका कृषक खेतबारी जात्ने गोरु किन्न म्याग्दीको धवलागिरी गाउँपालिका जाने गर्दथे । होचा र साना शरीर हुने पहाडी जातका गोरु बलीया, पाल्न सजिलो र १५÷२० वर्षसम्म जोत्नका लागि प्रयोग गर्न सकिन्छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका अनुसार जिल्लामा हाल २० हजारको संख्यामा गाई पालिएका छन् । फरक फरक जातका गाईको गणना र तत्थ्याङ्क नरहेको केन्द्रका नायव पशु सेवा प्राविधिक गणेश रिजालले बताउनुभयो ।

“मिनिटेलर र ट्याक्टर भित्रिएपछि स्थानीय जातका गाईको संख्या घटेको छ,” उहाँले भन्नुभयो “सरकारले पनि बढी दूध दिने गाईभैसीमा जोड दिएकाले वर्णशंकर र उन्नत जातको गाई बढ्ने र स्थानीय जातका घटेको देखिन्छ ।”

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको अभिलेख अनुसार नेपालमा ८ प्रजातिका गाई छन् । म्याग्दी लगायत जिल्लामा पालिने गाईका जातलाई पहाडी भनिन्छ । पहाडी गाईहरु भूटान, सिक्किम र दार्जिलिङबाट नेपालमा भित्रिएका हुन् ।

२०० देखि ३०० किलोग्राम सम्म तौल हुने पहाडी गाईको रङ कालो, रातो, फुस्रो र टाटेपाटे हुन्छ । एक वेतमा १५०–२०० लिटर सम्म दुध दिन्छन् । पहाडी गाईको दूध पोषिलो र स्वास्थ्यकर मानिन्छ । याक, नाक र चौरी, लुलु, होलिस्टेन फ्रिजन, ब्रोन स्विस र शाही वाल नेपालमा पालिने गाईका अन्य जात हुन् ।

रैथाने गाईको दूधमा औषधीय गुण

जिल्ला आयर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका कविराज निरीक्षक प्रेमप्रसाद गौतमले मानिस र गाईको दूधमा पाइने क्यारोटिन तत्व आँखा र मष्टिष्कका लागि महत्वपूर्ण हुने बताउनुभयो । “गाईको दूध सेवन गर्दा स्वास्थ्यलाई धेरै किसिमको फाइदा गर्ने र रोग लाग्नबाट बचाउने विभिन्न वैज्ञानिक अध्ययनहरुबाट पहिचान भएको तथ्य हो,” उहाँले भन्नुभयो “गाईबाट प्राप्त हुने पञ्चतत्व दूध, दही, घ्यू, गोबर र गहुँतको धार्मिक महत्वसँगै आयुर्वेद र चिकित्साशास्त्रमा समेत उपयोगी मान्ने गरिएको छ ।”

नेपालको संविधानको धारा ९ (३) मा गाईलाई राष्ट्रिय जनावर उल्लेख गरिएको छ । कानुनले नेपालमा गौबध गर्न प्रतिबन्ध लगाएको छ । गाईलाई समाजमा संरक्षणको हेतुले हेर्ने दृष्टिकोण उदार बन्न नसकेको बेनी नगरपालिका–१ मा रहेको श्रीलक्ष्मीहरी मन्दिरका महन्थ हिमालय बाबाले बताउनुभयो ।

“गाईलाई धर्म र संस्कृतिसँग मात्र जोडेर बुझ्नु हुदैन,” उहाँले भन्नुभयो “जैविक विशेषता बोकेका वैदिक गाईको नष्ल नेपालको जैविक सम्पत्ती हो । यसलाई बचाउन राज्य र समाजले चासो दिनुपर्छ ।” स्थानीय गाईको गोवर, गहुँत खेतीबारीमा मात्र होइन औषधीय कार्यमा पनि उपयोग हुने हिमालय बाबाको भनाई छ ।

हिन्दू धर्मावलम्बीहरुका लागि गाई जन्मदेखि मृत्युसम्म नै अति आवश्यक जनावर मानिन्छ । हिन्दू धर्मावलम्बीहरुले लक्ष्मीका रूपमा गाईलाई पूजा गर्छन् । गाईको सेवाबाट ऋषि, महर्षि, राजर्षिहरुले शक्ति र सौभाग्य प्राप्त गरेको प्रसङ्गहरु पुराणमा उल्लेख छ । गाईको गोबर घर लिपपोतमा प्रयोग गर्ने चलन छ । बिकारयुक्त किटानु नष्ट गर्ने शक्ति हुने भएकाले घर लिपपोतमा गाईको गोबर प्रयोग गरिएको बुढापाका बताउँछन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...