जनयुद्ध ः सत्र हजार पल्स दुई मात्रै हो त ?

Sinchai Khanipani notice

आरती आचार्य
मेरी आमाले पढ्न पाउनुभएन, पढ्न नपाउनु आमाको जीवनभरिलाई गुनासो रह्यो । सम्भवतः कुनै व्यक्तिको जीवनमा मैले देखेको सबैभन्दा उच्चतम गुनासो यही हो ।
छोराछोरीका सकिइसकेको कापीको अन्तिम पेजमा आफ्ना अनुभूति लेख्ने असफल प्रयास गरिरहेकी आमालाई देखेर आमाहरुका लादिएको त्यो क्रुरताको म अनुमान मात्रै गर्न सक्छु । ती गुनासाहरुको प्रतिबिम्ब उहाँको आँखामा डुलिरहने रोदनमा देख्छु, त्यो छट्पटी र उकुसमुकुसमा देख्छु ।
अझै त प्रेमको बदला सामूहिक हत्या उपहार दिने समाज छ । झन् त्यो समाज कथित दलितहरुप्रति कति उदार या सँकुचित हुँदो हो सहज अनुमान लगाउन सक्छौँ । गाउँका सामन्तहरु बाटो हिँडिरहेकी बालिकाको बलात्कार गर्थे त्यो मुद्दा कहिल्यै थाना÷ अदालत नपुगी सकिन्थ्यो बस् उही बालिकाको जीवनभरि रहन्थ्यो त्यो घाउ। गाउँका जिम्वाल÷ मुखियाहरु घरमा राखेका कामदार महिलाहरुको बलात्कार गर्थे र तीन पाथी कोदो क्षतिपूर्ति तिरेर कसैको जिम्मा लगाउँथे अरे ।
“मकैको खेती” लेख्नेहरु मारिन्थे, गलत भयो भनेर बिरोध गर्नेहरु समातिन्थे, थुनिन्थे । हामीले अहिले “स्वर्ग” थियो, “मिलेर” बसिरहेको थियो भन्ने समाज उत्तिकै कुरुप र बेमेलले भरिएको थियो ।
जनयुद्धले मेरी आमा पुस्तालाई बन्दुक थमाइदियो । तेरा अधिकारहरु कुन्ठित गर्ने सत्तासँग बिद्रोह गर् भन्यो । आउने तेरा छोरीहरुका लागि अधिकार सुनिश्चित गर् भन्यो । जनयुद्धले आमाहरुको, छोरीहरुको, दिदीबहिनीहरुको क्षमता चिन्यो । चुलोचौकोबाट बाहिर ल्यायो । सम्पत्तिमा अधिकार माग् भन्यो, लैङ्गिक समानताको कुरा गर् भन्यो ।
जनयुद्धले तेरो तकदिर बिष्टको घरको अनौ होइन भनेर हर्के काकालाई उबेलै चिनाइदियो । तैँले बनाएर तैँले नै पुज्न नपाउने “भगवान”सँग बिद्रोह गर् भन्यो । जनयुद्धले कथित दलित समुदायलाई तँ दलित होइनस् मान्छे होस् भन्यो । सिमानामा रगतको बलिदान दिइरहेका रामबिलास चाचालाई “तँलाई शासकले चिनेन त के भयो आइज शासकलाई यो देश मेरो पनि हो भन् भन्यो ।” रामबिलास चाचाले देश मेरो पनि हो भनेर गर्वले भन्न पाए ।
क्रान्ति पुरा हुन नपाउनु योद्धाहरुको कमजोरी थिएन त्यसलाई नेतृत्व गर्ने नेतृत्वकर्ताको कमजोरी थियो । “प्रचण्डहरु” सँग हाम्रा आक्रोस सदैव रहिरहनेछन् । हाम्रा सपनाहरुको अवसान गरिदिएको दुःख, पिडा रहिरहनेछ । सायद जीवनको कुनै कालमा उनीहरुलाई पनि आत्मग्लानी हुनेछ तर आज नभए भोलि, हाम्रो पालोमा नभए सन्ततिको पालामा यो अपुरो क्रान्ति अवश्य पुरा हुनेछ । यो समाजको गतिशीलताको नियम हो । द्वन्द्वात्मक भौतिकवादको नियम हो ।
भूईँमान्छे सहजै नेतृत्वमा पुग्ने भए यत्रो बलिदान किन चाहिन्थ्यो ? गोर्कीले “आमा” किन लेख्थे ? भूपीले “हुँदैन बिहान मिर्मीरमा तारा झरेर नगए बन्दैन मुलुक दुईचार सपुत मरेर नगए ” किन भन्थे ? जनयुद्धका हजार कमजोरी होलान् तर पनि तपाईँ हामी फगत “सत्र हजार” भनेर मात्रै यसको उपहास गरिरहन सक्दैनौँ ।
आज फागुन –१ , जनयुद्ध दिवसको शुभकामना !!
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमकी आचार्य ईञ्जिनियरीङ विषयमा स्नातक अध्ययरत हुनुहुन्छ । (साभार सारङ्गी न्युज डटकम)

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...