दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि खुसीयाली

Nilgiri hydor notice magh 26

बेनी, ः म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति सकिएको छ ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि सोही पालिकाको वडा नं. ५ फेदी हुदै धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानी सम्मको खण्ड स्तरोन्नति भएको हो ।

सडकको ट्याक निर्माण भएको करिब १ दशक बढी समयपछि सडकको स्तरोन्नती भएपछि शनिवार सडकको उद्घाटन गरिएको छ भने धारापानीबासीले बाजागाजा सहित नाचगान गरेर खुसीयाली मनाएका छन् ।
सडकको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले उद्घाटन गर्नुभएको हो । उहाँले विकासको आधारभूत पूर्वाधार नै सडक भएकाले सडक स्तरीय भएसंगै धौलागिरि गाउँपालिकाका अधिकाँश नागरिकले सहज र सुरक्षित यात्रा गर्न सुविधा पाउने विश्वास व्यक्त गर्नुभयो ।

Shreekrishna hardwear in news


उहाँले विकासमा पछि परेको म्याग्दीमा यस बर्ष विकास आयोजनाहरु भित्रने क्रम बढेको बताउँदै सडक, खानेपानी, विद्युत लगायतका पूर्वाधारलाई समयमै सम्पन्न गराउनतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले धारापानीदेखि ताकम हुँदै सिवाङ जोड्ने सडक समेत स्तरोन्नतीको लागि गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट बजेट विनियोजन भएर पूर्वाधार विकास कार्यालय, म्याग्दीबाट ठेक्का आह्वान भैसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदीले गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नती हुँदा समग्र गाउँपालिकाको विकासमा नयाँ आयाम थपिएको बताउँदै थप कार्यान्वयन हुने योजनालाई समेत निर्धारित समयमै कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो ।

Bhautik ministry notice about road


कार्यक्रममा सडक निर्माण अभियानका अगुवा खुमनाथ सुवेदी, रिमप्रकाश थापा, यमन रोका लगायतले स्थानीयको चन्दा संकलनबाट ट्याक निर्माण भएको अप्ठेरो भिर, पहाडको सडकलाई स्तरोन्नती भएपछि सहज भएको बताउँदै सडकको ट्याक निर्माण गर्दाका अप्ठेरो, अल्झन र संघर्षका बारेमा जानकारी गराउनुभएको थियो ।
बेनी–दरबाङ–धारापानी–मुना लुलाङ गुर्जा ढोरपाटन सडक योजना अन्तर्गत दरबाङ– धारापानी खण्डको सडक स्तरोन्नतिका लागि ठेक्कामार्फत कार्यान्वयन थालिएको योजना सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर अर्जुन शर्माले बताउनुभयो ।


कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधि प्रधुम्न कुँवरल कोरोनाका कारण समयमा काम सम्पन्न गर्न समस्या भएपनि पुनः थपिएको म्यादभित्र सडक स्तरोन्नतिका काम सम्पन्न गरेकोे बताउनुभयो । उहाँले आयोजनालाई सफल बनाउन समुदाय र सरोकारवालाहरुको सकरात्मक भूमिकाले समेत काम गर्न हौँसला र प्रोत्साहन थपिएको बताउनुभयो ।
कार्यक्रममा धवलागिरि गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले सडक स्तरीय भएपछि सवारी आवत जावतमा सहजता हुने बताउँदै सडकको सुरक्षामा सबै सजग बन्नुपर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा रुपक सुवेदीले सञ्चालन गर्नुभएको थियो ।


दरबाङदेखि धारापानीसम्मको सडक स्तरोन्नती भएपछि साँघुरो, उकालो र जोखिमयुक्त सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोरोनाका कारण काम प्रभावित भएपछि दुई वर्ष ठेक्काको अवधि थपिएको थियो । थपिएको ठेक्का अवधिभित्र निर्माण व्यावसायीले योजना सम्पन्न गरेका छन् ।
गण्डकी प्रदेश सरकारले विनियोजन गरेको योजना कार्यान्वयन गर्न पूर्वाधार विकास कार्यालय म्याग्दीले १४ करोड ३८ लाख ६७ हजार एकसय ७६ रुपियाँमा धुलिखेल ब्राइट कुँवर जेभीसँग सडक स्तरोन्नति गर्न २०७६ चैत ४ गते वहुवर्षीय ठेक्का सम्झौता गरेको थियो ।
योजना अन्तर्गत साँघुरो सडकलाई फराकिलो, साँघुरा घुम्तीलाई चौडा, बादिकाको भीर काटेर सडक फराकिलो पारी तीनसय मिटर ढलान, नाली निर्माण, ग्यावियन जाली लगाउने, कल्भर्ट निर्माण, कजवे निर्माण, टेवा पर्खाल गरी ७ मिटर चौडाइमा सडक ग्राभेल गरिएको छ । बादिकाको भीरमा आप्ठ्यारो जोखिमयुक्त सडकलाई फराकिलो बनाउन र ग्रेड मिलाउन भीर काटेर नयाँ ट्रयाक खोलिएको छ । बादिकाको अप्ठ्यारो भीरको करिब तीनसय मिटर सडक ढलान गरी सहज बनाइएको छ ।
यसैगरी धारापानीदेखि सिवाङसम्म सडक स्तरोन्नतिका लागि २५ करोड लागत अनुमान गरी योजना कार्यान्वनयका लागि बहुवर्षीय ठेक्का आह्वान गरिएको कार्यालयले जनाएको छ । योजना अन्तर्गत धवलागिरी गाउँपालिकाको केन्द्र मुना हुँदै जाने दरबाङ–मुना–ढोरपाटन सडकको धारापानी देखि ७ किलोमिटर अगाडि सिवाङसम्म सडक फराकिलो, नाली निर्माण, ग्राभेल र ढलान गरी सडक स्तरोन्नति गर्न आगामी चैत महिनासम्म ठेक्का लगाइ योजना कार्यान्वयन थालिने पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो ।

दरवाङ देखि धारापानी पुग्न यसअघि गाडीमा ४५ मिनेट लाग्ने गरेकोमा सडक स्तरोन्नति भएपछी यात्राअवधी १५ मिनेटमा छोटिएको छ । सडक सुधार भएपछि यातायातको भाडादर घटाउन स्थानीयबासीले माग गरेका छन् ।

वि.स. २०६७ मा स्थानीय बासिन्दा र तत्कालीन गाविसको अनुदानमा रु. एक करोड ५० लाख खर्चेर यो सडकको मार्ग खोलिएको थियो । ३.५ तीन देखि ४ मिटर फराकिलो रहेको सडक सरदर ७.५ मिटरका दरले फराकिलो बनाइएको छ । ग्रेड नमिलेको ठाउँमा ४०० मिटर नयाँ मार्ग खोलिएको छ । यो सडकलाई मुना हुदै ढोरपाटन र पुर्वी रुकुमसँग जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गको रुपमा विकास गर्न जोड दिइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...