मराङको एक घर एक धारा खानेपानी आयोजना निर्माणमा ढिलाई

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वेशीका लाल केसीको आगनमा खानेपानीको धारा निर्माण भएको तीन वर्ष भयो । केसीका परिवारलाई खानेपानीका लागि सार्वजनिक धारामा धाउनुपर्ने बाध्यता अझै हटेको छैन् ।

‘आगनमा धारा बनेको तीन वर्ष पुगीसक्दा समेत पानी आएको छैन,’ उनले भने ‘पानीका लागि सार्वजनिक धारा र मुहानकै भर पर्नु परेको छ ।’ केसी मात्र नभएर वेशी, कुम्री, राम्रे र ठूलोगाउँका बासिन्दाको आगनमा धारा निर्माण भएपनि पानी आएको छैन् ।

वि.स. २०७८ मा शुरु भएको मराङ एक घर एक धारा खानेपानी आयोजना निर्माण पुरा नहुँदा आगनकै धारामा सफा, स्वच्छ खानेपानी उपभोग गर्ने स्थानीयबासीको सपना अधुरै बनेको हो । धवलागिरी गाउँपालिका–६ मराङका वडा अध्यक्ष राजाराम सुवेदीले निर्माण व्यवसायीका कारण खानेपानी आयोजना निर्माणमा ढिलाई भएको बताए ।

Shreekrishna

‘तीन वर्षअघिनै सम्पन्न हुनुपर्ने आयोजनाको धारा र टंकी निर्माण भएपनि इन्टक, मुख्य र वितरण लाइन बनाउन ढिलाई भएको छ,’ उनले भने ‘छिटो काम गराउन निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौ ।’ निर्माण व्यवसायीले पर्याप्त मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन नगरेकाले योजनामा ढिलाई भएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख लोकेन्द्र रावलका अनुसार ९७ घरमा निजी धारा निर्माण गरेर खानेपानी वितरण गर्न वि.स. २०७८ पुष २७ गते सुन्दर निर्माण सेवा सँग १ करोड १३ लाख ४९ हजार २५ रुपैयाँ मा ठेक्का सम्झौता भएको थियो ।

हालसम्म ३३ लाख ५३ हजार रुपैयाँ खर्च भएको योजनाको म्याद आगामी २०८१ असार २५ गतेसम्म थपिएको छ । हालसम्म ७२ वटा धारा निर्माण सकिएको छ । वेशी, कुम्रि र ठुलोगाउँमा पानी संकलन गर्ने टंकी निर्माण भएको छ । राम्चेमा टंकी निर्माणाधिन छ ।

यहाँका बासिन्दाले पञ्चायतकालमा निर्माण भएको संरचनाबाट खानेपानी उपभोग गरिरहेका छन् । धारामा पर्याप्त र नियमित पानी नआउँदा मुहान र खोल्साको पानी उपभोग गर्नुपर्ने बाध्यता छ । पुरानो आयोजना जिर्ण भएपछि नयाँ योजना निर्माण गर्न थालिएको थियो ।

निर्माण व्यवसायी रामचन्द्र कार्कीले चालु आर्थिक वर्षभित्रनै मराङको खानेपानी योजना सम्पन्न गर्ने बताए । भौगोलिक विकटता र विपद्का कारण ढिलाई भएको उनले बताए । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सो खानेपानी आयोजना सम्पन्न गराउन चालु आर्थिक वर्षमा ७९ लाख रुपैयाँ बजेट बिनियोजन गरेको बताए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...