बेनीमा माघे संक्रान्ती मेला

Gandaki Pardesh notice

बेनी, । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजारमा बस्ती बसेदेखिनै माघे संक्रान्ति पर्वको अवसरमा मेला लाग्ने गर्दथ्यो ।

सामान खरिद बिक्री, आफन्त र साथीभाई भेटघाट देखि तन्नेरीहरुको जमघटको लागि बेनीको माघे संक्रान्ति मेला त्यसबेला चर्चित थियो । म्याग्दी उद्योग वाणिज्य संघका मानार्थ सदस्य नैनकुमार श्रेष्ठका अनुसार चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घ्यू, तामा, फलामबाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरु बेनीको माघे संक्रान्ति मेलामा ल्याउने गर्दथे ।

माघे संक्रान्ति पर्वका दिन बेनी स्थित कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । “त्यसबेला अहिलेको जस्तो गाउँ गाउँमा बजार थिएन् । किनमेलका लागि मेलानै कुर्नुपर्दथ्यो । बेनीमा माघे संक्रान्तिको मेला किनमेलको माध्यम थियो,” ८० वर्ष पार गरेका श्रेष्ठले बाल्यकाल र किशोरअवस्थाको सम्झना गर्नुभयो “तन्नेरीहरु ठेला हान्ने, लठ्ठो तानेर बहादुरी तथा दोहोरी गित गाएर कला देखाउने गर्दथे ।”

Shreekrishna hardwear in news

समय, परिवेश र जिवनशैलीमा आएको परिवर्तनसँगै बेनीमा हुने माघे संक्रान्ति मेलाको पनि स्वरुप फेरिएको छ । म्याग्दीमा बाहूल्य बसोबास रहेको मगर समुदायले माघे र साउने संक्रान्ति पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् ।

साउन संक्रान्तिलाई हिउँद र माघे संक्रान्तिलाई बर्खा शुरु भएको दिनका रुपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको मगर संघ म्याग्दीका खम थापामगरले बताउनुभयो । “माघे संक्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठा मिठा परिकार खुवाउने चलन छ,” उहाँले भन्नुभयो “प्रकृतिका पुजारी मगर समुदायले साउने संक्रान्तिलाई हिउँद र माघलाई बर्खा शुरु भएको दिनका रुपमा मान्ने गर्दछन् ।”

संगठित रुपमा मेला र महोत्सव आयोजना गरेर माघे संक्रान्ति र बेनी बजारमा लाग्ने मेलालाई संरक्षण तथा निरन्ततरता दिइएको छ । प्रायजसो मगर बस्तिमा माघे र साउने संक्रान्तिमा भेला भएर नाचगान गर्ने चलन पनि छ ।

म्याग्दी उद्योग वाणिज्य संघले हरेक तीन÷तीन वर्षमा महोत्सव आयोजना गर्छ । संघ अन्र्तगतको महिला उद्यम विकास समितिले महोत्सव नहुँदाको वर्ष माघे संक्रान्ति मेला सञ्चालन गर्दै आएको छ । समितिको आयोजनामा दशै माघे संक्रान्ति मेला आइतबारदेखि बेनी बजारमा शुरु भएको छ ।

परम्परागत माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रवर्द्धन गर्नका लागि मेलाको आयोजना गरिएको समितिका सभापति अम्बिका श्रेष्ठले बताउनुभयो । माघ २ गतेसम्म चल्ने मेलाको अवसरमा बेनीमा विभिन्न जातजातिहरूले मौलिक कला संस्कृति झल्कने झाँकी प्रदर्शन गरिएको थियो ।

नौमती बाजा सहित मेला आयोजना स्थल खुल्ला मञ्चबाट सुरु भएको भेषभूषा सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो । बेनीमा परम्परागत रूपमा लाग्ने माघे सङ्क्रान्ति मेलालाई निरन्तरता दिँदै पर्यटन प्रवर्द्धन गर्ने मुख्य लक्ष्य रहेको सभापति श्रेष्ठले बताउनुभयो ।

Bhautik ministry notice about road

जिल्लाका सबै स्थानीय तहको कृषि उपजको प्रदर्शनी, विभिन्न जातजातिको झाँकी प्रदर्शन, लोक दोहोरी, ठेलो फाल्ने, लठ्ठो तान्ने, आमा नृत्य प्रतियोगिताको साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको मेलामा प्रस्तुति रहने महिला उद्यम विकास समितिका महासचिव प्रमिला जोशी श्रेष्ठले बताउनुभयो । मेलामा अन्धनिसान, महिला–पुरुष छेलो फ्याँक्ने, महिला–पुरुष लठो तान्ने प्रतियोगिता आयोजना गरिएको छ ।

मेलाको प्रतिनिधीसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर)ले उद्घाटन गर्नुभयो । कार्यक्रममा सांसद गर्बुजाले म्याग्दीका अधुरा योजनालाई पूर्णता दिन र नयाँ योजना भित्र्याउन निरन्तर प्रयास गरेको बताउनुभयो ।

“जिल्लाको विकास र समृद्धिका लागि मेरो तर्फबाट पहल भइरहेको छ । एकल प्रयासले मात्र सम्भव हुँदैन,” उहाँले भन्नुभयो “अधुरा विकास निर्माणका आयोजनालाई पुर्णता दिन तथा थपिएका आयोजनलाई कार्यान्वयन गर्न तीनै तहका सरकारविच समन्वय र पहल सँगै जिल्लाबासीले पनि सहयोग गर्न आवश्यक छ ।”

माघेसङ्क्रान्ति सबैको साझा पर्व भएको बताउनुभयो । उहाँले गठबन्धनबाट विजय भएका सांसदको एकता र सहकार्यबाट भित्रिएका योजनाहरूलाई समयमै सम्पन्न गर्न सबै राजनीतिक दलको साथ आवश्यक रहेको बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले चुनावी बाचाहरू क्रमश पूरा हुने चरणमा रहेको बताउनुभयो ।

“बजेट मागेपछि पाइने रहेछ,” उहाँले भन्नुभयो “अहिलेको अनुभवले बाँकी कार्यकालमा पनि हामीले बजेटको लहर ल्याउँछौ ।” उहाँले खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा प्राथमिकताका आधारमा बजेट भित्राउने बताउनुभयो ।

अर्का प्रदेशसभा सदस्य बिमला गौचनले उद्यमी सफल भएमात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो । उहाँले महिलालाई हरेक क्षेत्रको नेतृत्वतहमा लैजान सकेमा सम्रग देशको परिवर्तन सम्भव रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, बेनपा –७,का वडा अध्यक्ष एवम् प्रबक्ता रमेशकुमार श्रेष्ठ, महिला उद्यम विकास समितिकी म्याग्दीकी निर्वतमान अध्यक्ष लक्ष्मी भण्डारी र पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

मेलामा म्याग्दीका चार विधामा उत्कृष्ट महिलालाई सम्मान समेत गरिएको थियोे । राजनीतितर्फ संविधानसभा सदस्य थममायाँ थापा, सिलाइकटाई तर्फ बेनपा–७ की कमला गिरी, कृषितर्फ बेनपा–२, लभ्लीहिलकी पवित्रा कार्की र कलाकारतर्फ रघुगंगा गाउँपालिका–७, की धनकुमारी थापालाई सम्मान गरिएको थियो ।

मुल संयोजक अम्बिका श्रेष्ठ, सञ्चालन महासचिव प्रमिला जोशी श्रेष्ठ, सचिब कमला सुबेदी र समापन समितिकी बरिष्ठ उपाध्यक्ष बिष्णु गुरुङले गर्नुभएको थियो । मेला सम्पन्न गर्नको लागि १० लाख ८० हजार रुपैयाँ बराबरको बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । जिल्लास्तरमा हुने महोत्सव तथा मेलाले जिल्लाको पर्यटन प्रवर्द्धनका साथै स्थानीय उत्पादनको प्रचारप्रसार हुने अपेक्षा गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...