मालिकामा थप तीन करोड तीस लाख बजेट बिनियोजन

Gandaki Ghumau

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिकाको बुधबार भएको गाउँसभाको १४ औं अधिवेशनबाट चालु आर्थिक वर्षका लागि थप रु. तीन करोड तीस लाख बजेट बिनियोजन भएको छ ।

दरवाङको छ्यारछ्यारे स्थित सभाहलमा सम्पन्न अधिवेशनले थप बजेट विनियोजन गरेको हो । गत आर्थिक वर्षको सञ्चित कोषमा बाँकी रहेको रु. तीन करोड तीस लाख रुपैयाँ विभिन्न योजना तथा कार्यक्रमका शिर्षकमा विनियोजन गरिएको हो ।

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाको अध्यक्षतामा सम्पन्न अधिवेशनले गाउँपालिकाबाट सञ्चालित तीन वटा पुर्वाधार निर्माणयोजनाको लागि रु. १२ लाख ३३ हजार रुपैयाँ र गत आर्थिक वर्षमा सञ्चालित क्रमागत ६ वटा ठेक्काका आयोजनालाई रु. दुई करोड ९३ लाख ६९ हजार बिनियोजन गरेको छ ।

Shreekrishna
Gunasthariya Shiksya

यसैगरी शिक्षातर्फ विभिन्न कार्यक्रम सञ्चालनका लागि रु. १५ लाख ८५ हजार, नेपाल रेडक्रस सोसाइटी दरबाङ शाखालाई रु. पाँच लाख, सुरक्षित आप्रवासी स्रोत केन्द्रलाई रु. दुई लाख पाँच हजार, न्यायिक समिति सञ्चालनको लागि रु. एक लाख आठ हजार रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिनुभयो ।

अधिवेशनले गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले सभामा प्रस्तुत गर्नुभएको आर्थिक प्रगति प्रतिवेदन पारित गरेको छ । अधिवेशनमा वार्षिक कार्यक्रमको समिक्षा, गाउँपालिकाको १३ औैं गाउँसभाबाट स्वीकृत वार्षिक योजना तथा कार्यक्रममा संशोधन गरिएको छ ।

चालु आर्थिक वर्षको कुल स्वीकृत बजेट रु. ४५ करोड ८१ लाख ४४ हजार मध्ये हालसम्म रु. १६ करोड तीस लाख ९ हजार ६४१ निकासा भएको छ । रु. आठ करोड ११ लाख ५८ हजार ६८३ रुपैयाँ खर्च भएको छ । यो कुल स्वीकृत बजेटको १७ दशमलव ७१ प्रतिशत रहेको छ ।
चालुतर्फ रु. सात करोड २१ लाख ८ हजार ५८३ र पुँजीगततर्फ रु. ९० लाख ५० हजार खर्च भएको छ । गाउँपालिकाभित्र सञ्चालित विभिन्न क्षेत्रका पुर्वाधार निर्माण, अधुरा रहेका योजनालाई पुर्णता दिन र विभिन्न कार्यक्रमलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गरिको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...