विदेशबाट फर्केर मालिका -३ मा सामूहिक माछापालन

Gandaki Pardesh notice

बेनी, वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर पश्चिम म्याग्दीको मालिका गाउँपालिका–३ का तीन जना युवाले सामूहिक माछापालन गरेका छन् । स्थानीय पूर्णबहादुर रोका, तेजेन्द्र बुढा र यमेन्द्र रोकाले मालिका–३ मा पर्ने टिमुरे खोलामा सामूहिक माछापालन थालेका हुन् । उक्त सामूहिक माछापालन पश्चिम म्याग्दीका लागि उदाहरणीय व्यवसाय बनेको छ ।

पूर्ण कतारमा छ र यामेन्द्र तीन वर्ष तथा तेजेन्द्र बहराइनमा तीन वर्ष काम गरेर स्वदेश फर्किएपछि सामूहिक माछापालनमा लागेका हुन् । टिमुरे खोला नजिकैको आठ रोपनी जग्गा भाडामा लिएर उनीहरूले सामूहिक रूपमा ट्राउट जातका माछा पालेका हुन् । 


रू २० लाख लगानीमा माछापालनका लागि १० पोखरी निर्माण गरिएको पूर्णले जानकारी दिए । विसं २०७९ कात्तिकदेखि मालिका रेन्बो ट्राउट फर्म दर्ता गरी माछापालन व्यवसाय सुरु गरिएको उनले बताए । ‘सुरुमा रू आठ लाखको लगानीमा छ वटा पोखरी (रेसवे) निर्माण गरी माछापालन थालनी गर्‍यौँ । अहिले १० पोखरी निर्माण गरेका छौँ’, उनले भने ।

Shreekrishna hardwear in news

गण्डकी रेन्बो ट्राउटबाट १० हजार अण्डा ल्याएर ह्याचिरिङ गरिएको जनाउँदै पूर्णले करिब नौ महिनामा माछा बिक्रीका लागि तयार हुने बताए । अहिले पोखरीमै भुरा उत्पादन हुने भन्दै १२ हजार बढी माछा हुर्किरहेको उनले जानकारी दिए ।

पूर्णका अनुसार पहिलो वर्ष सात सय केजी बढी माछा बिक्री भएको थियो । यस वर्ष दुई हजार केजी उत्पादन गर्ने लक्ष्य रहेको उनको भनाइ थियो । पहिलो वर्षको आम्दानी पनि व्यवसाय विस्तारमा लगाइएको बताउँदै उनले यस वर्षदेखि राम्रो आम्दानी लिन सकिने बताए । माछापालनका लागि चिसो र बहाव भएको स्वच्छ पानी आवश्यक हुने सञ्चालक पूर्णको भनाइ थियो । 

Bhautik ministry notice about road

वर्षातको समयमा माछाका भुरा बचाउन गाह्रो हुने तेजेन्द्रले सुनाए । यहाँ उत्पादित माछा नजिकैको दरबाङ बजारसहित सदरमुकाम बेनी र छिमेकी जिल्ला बागलुङसम्म लगिएको उनले बताए । 

पहिलो वर्ष प्रतिकेजी रू एक हजार दुई सयमा बिक्री गरिएकामा यस वर्ष भने दानाको मूल्य बढेकाले रू एक हजार तीन सयमा बेच्ने गरिएको तेजेन्द्रले जानकारी दिए । बजारमा माग बढे पनि पर्याप्त उत्पादन गर्न नसकिएको उनको भनाइ थियो ।

उनीहरूले टिमुरेमा सामूहिक रुपमा आफ्नै रेष्टुराँ पनि सञ्चालन गरेका छन् । पोखरीमा उत्पादित माछा रेस्टुराँमा समेत खपत हुने गरेको माछापालका यमेन्द्रले जानकारी दिए । माछापालन गरी मनग्य आम्दानी भएकाले विदेशभन्दा नेपालमै फाइदा भएको उनको भनाइ थियो । 

आधुनिक किसिमले पोखरी निर्माण गरेर व्यावसायिक रूपमा माछापालन सुरु गरिएकाले फर्ममा परिवारका अन्य सदस्यलेसमेत साथ दिएको यमेन्द्रले बताए । 

मालिका–३ का वडाध्यक्ष मोतीप्रसाद बुढाले गाउँमै युवाको लगानीमा व्यावसायिक माछापालन गरेसँगै अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बनेको बताए । उनका अनुसार वडाको ५० प्रतिशत अनुदान कार्यक्रमबाट पोखरी वरिपरी घेरबार गरिएको छ ।

सरकारबाट पाउने ऋण र अनुदानमा समेत झन्झटिलो प्रक्रिया भएको भन्दै वास्तविक किसानसँग अनुदान पुग्न नसकेको माछापालक रोकाले गुनासो गरे । आगामी दिनमा यस व्यवसायलाई अझै विस्तार गर्ने सोच रहेको उनले बताए । 

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...