धौलागिरि खबर

पहिरोमा घरबास गुमाएकालाई सुरक्षित आवासको ब्यवस्थापन गर्न तप्पर छौ– थमसरा पुन, अध्यक्ष धवलागिरी गाउँपालिका (भिडियो सहित )

नेपालका ७५३ स्थानीय तह मध्य १८ वटा स्थानीय तहमा महिलाको नेतृत्व छ । जस मध्य एक हुनुहुन्छ म्याग्दीको धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुन् । भौगोलिक रुपमा बिकट, दुर्गम धवलागिरी गाउँपालिका प्राकृतिक स्रोत साधनका हिसाबले सम्भावना बोकेको स्थानीय तह हो । गाउँपालिकाले पुर्वाधार विकास र सामाजिक परिवर्तनमा जोड दिएको छ । गत असारको पहिरोले क्षति बिक्षत बनाएको धवलागिरी गाउँपालिकामा पहिरो पिडितको पुनस्थापना, क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माण, बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) नियन्त्रण, बिकास गतिबिधि र सेवा प्रवाहका बिषयमा केन्द्रित भएर अध्यक्ष पुनसँग सन्तोष गौतमले गरेको कुराकानीको सम्पादित अंश ।
अध्यक्ष ज्यू । स्वागत छ यहाँलाई ।
धन्यवाद । दशै, तिहार, नेपाल सम्बत् र छठ लगायतका पर्वको अवसरमा धवलागिरी बासी र स्वदेश तथा विदेशमा रहनुभएका अन्य सबैलाई व्यक्तिगत र धवलागिरी गाउँपालिका परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । बिगतका वर्षमा दशै, तिहार चाडपर्व उमंगका साथ भित्र्याएर उत्साह र खुसियाली वातावरणमा बिदाई गरिन्थ्यो । अहिले त्यस्तो अवस्था छैन् । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) रोकथामका लागि २०७६ चैत ११ गतेदेखि करिब तीन महिना गरिएको लकडाउन र त्रासले प्रभावित बनाएको जनजिबनलाई हाम्रो पालिकामा २०७७ असार २५ र २६ गतेको पहिरोले झनै तहसनहस बनायो । त्यो पहिरोले हाम्रो पालिकाको वडा न. ६ मराङका विभिन्न ठाउँमा १९ जनाको निधन र २ जना अझै बेपत्ता हुनुहुन्छ । ६ र ७ ताकमका साथै वडा न. ५ मल्कवाङको केही भागमा पहिरोले धेरै जनतालाई घरबास बिहिन बनाएको छ । हाम्रो सामु कोरोना महामारीसँगै प्राकृतिक बिपद्का कारण सिर्जित समस्या ब्यवस्थापन गर्ने चुनौति छ । यसपाली हर्षोउल्लास र उमगका साथ चाडपर्व मनाउने वातावरण छैन् । जे जस्तो अवस्थामा जहाँ छौ त्यही रहेर कोरोनाबाट बचेर चाडपर्व मनाउन पालिकाबासीहरुलाई अनुरोध गर्दछु । दुःख, सुःख धैर्य गरी, संयम र मर्यादित भएर चाडवाड मनाउन अनुरोध छ ।
कोरोना महामारी रोकथाममा धवलागिरी गाउँपालिकाले के कस्ता गतिबिधिहरु गरेको छ ?
कोरोनाका कारण हाम्रो पालिकाका दुई जनाले उपचारको क्रममा ज्यान गुमाउनुभयो । एक जनाको यसै हप्ता पोखरामा र पर्वतको लामाखेत बस्दै आएका हाम्रो पालिका ठेगाना भएका एक बालकको काठमाडौमा निधन भएको थियो । उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन्मा समवेदना प्रकट गर्दछौ । पालिकाभित्र भएका व्यक्तिहरुमा अहिलेसम्म संक्रमण भेटिएको छैन् । तर यातायात सञ्चालन र आवत जावत बढेपछि कोरोना भित्र्ने जोखिम उच्च छ । वडा, टोल स्तरमा सचेतनामुलक कार्यक्रमसगै जिल्ला स्तरमा बिदेशबाट आएकाहरुलाई उद्धार गरेर ल्याई बेनीको क्वारेन्टिनमा राख्ने ब्यवस्था मिलाएका छौ । आइसोलेशन बनाउन सहयोग गरेका छौ । सुरुमा काठमाडौ, पोखरा लगायतका ठाउँबाट आएका नागरिकहरुलाई पनि ल्याएर क्वारेन्टिनमा राखेर घर पठाएका थियौ । युवा परिचालन गरेर लकडाउनलाई प्रभावकारी बनाउने हाम्रो अभ्यास अन्यत्रपनि अपनाएको पाएका छौ । रोजगारी गुमाएका र विपन्नलाई एक चरणमा राहत समेत बितरण गरिएको थियो । अब राहत बितरण गर्नुपर्ने अवस्था आयो भने स्थानीय खाद्यान्ननै बितरण गर्ने उद्देश्यले फुड बैंक समेत बनाएका छौ । धवलागिरी गाउँपालिका आफ्ना नागरिकलाई रोग र भोकबाट जोगाउन जिम्मेवार रुपमा प्रस्तुत भएको छ । समुदाय र नागरिक स्तरबाट साथ र सहयोग पाइयो भने धवलागिरीलाई कोरोनाबाट सुरक्षित बनाइरहन सक्छौ भन्ने अपेक्षा र अनुरोध पनि छ ।
पहिरोबाट घरबास गुमाएकाको पुर्नबास, जोखिमयुक्त बस्ति स्थानान्तरण र क्षति ग्रस्त भौतिक संरचना पुननिर्माणको लागि के योजना बनाउनुभएको छ ?
घरबास गुमाएकालाई सुरक्षित बास, जोखिममा भएकालाई स्थानान्तरण र क्षतिग्रस्त भौतिक संरचना पुननिर्माणमा अघि बढेको छ । पहिरो लगत्तै वेपत्ताको खोजी, घाइतेको उद्धार र उपचार गरि राहतको ब्यवस्था मिलाएका थियौ । घर भत्किएका र बिस्थापित भएकाहरुलाई अस्थाई बसोबासको ब्यवस्था मिलाएका छौ । त्रिपाल, जस्तापाताले छाएको टहरा बनाउनुका साथै कतिपयलाई खाली भएका र आफन्तको घरमा राखिएको छ । विपद् ब्यवस्थापनका लागि पालिकालाई सहयोग गर्ने संघ, प्रदेश सरकार, सुरक्षा निकाय, प्रशासन, स्वमसेवक, राजनीतिकर्मी, युवा क्लव, आमा समूह, अगुवा, संघ, संस्था, सहयोगदाताहरुमा आभार प्रकट गर्दछु । बाढी पहिरोबाट बिस्थापित भएकाहरुलाई छिट्टैने सुरक्षित ठाउँमा जग्गा खोजेर आवासको ब्यवस्था गर्ने तयारीमा जुटेका छौ । उपाय र स्रोतको खोजी गरिरहेका छौ । उहाँहरुले पहिलेको जस्तै त होइन तर सुरक्षित आवासको ब्यवस्थापन गर्न हामी एकदमै तप्पर छौ । स्थानीय सरकार र जनतामात्र यो चुनौति सामना गर्न धेरै हिसाबले सक्षम छैनौ । यसले संघ र प्रदेश सरकार, विषयगत कार्यालय, संघ, संस्था र दाताहरुको पनि हामीलाई साथ र सहयोग पाउने आशा अपेक्षा गरेका छौ । २५ गते देखि यताको पहिरोले मानवीयका अलावा पुर्वाधार लगायत अन्य क्षेत्रमा के कति क्षति भयो र त्यसलाई पुननिर्माणका लागि कति बजेट आवश्यक पर्छ भनेर बिस्तृत सर्बेक्षण गरिसकेका छौ । प्रत्येक क्षेत्रसँग सम्बन्धित क्षतिको मात्र नभएर पुननिर्माणका लागि आवश्यक लागत इस्टिमेट समेत बनाएका छौ । यसलाई योजनाको रुपमा प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापा, जिसस प्रमुख देवेन्द्र केसी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष प्रस्ताव पेश गरिसकेका छौ । उहाँहरुले स्रोत ब्यवस्थापन र योजना पार्न सहयोग गरिदिनुहुनेछ भन्ने आशामा छौ । व्यक्तिगत आवास क्षति भएकाहरुलाई पनि तीन वटा वर्गमा बाडिएको छ ।
धवलागिरीबासीलाई सुरक्षित रुपमा आवत जावत, सर्बसुलभ रुपमा दैनिक उपभोग्य बस्तु उपभोग गर्ने वातावरण कसरी बनाउनुभएको छ ?
कार्यपालिकाको पछिल्लो बैठकले गरेको निर्णय अनुसार जारी भएको विक्षप्तिले जनतालाई इच्छा विपरित भएको र कठिन जस्तो लाग्न सक्छ । तर त्यो सहर्ष स्विकार गर्ने हो भने सजिलो छ । शान्त रुपले सामाजिक दुरि कायम गरेर, भद्रगोल नगरी, अनुसाषित भएर, व्यक्तिगत सरसफाइ, खानपानमा ध्यान दिएर जहाँ जस्तो अवस्थामा हुनुहुन्छ त्यहाँ धैर्यताका साथ सरुवा रोगबाट बचेर सुरक्षित रुपमा चाडपर्व मनाउनुहोस भनेर सचेत बनाएको मात्र हो । गाउँ नआउ, गाउँबाट बाहिर नजाउ, गाडी नचलाउ, जनतालाई घरभित्र थुनेर जनजिबन अस्तब्यस्त बनाउने हाम्रो इन्टेन्सनन हैन् । चाडपर्वको बेलामा गाउँमा खाद्यान्नको आपुर्ति सर्वसुलभ मूल्यमा र आवत–जावत सहज बनाउन पहिरोका कारण अवरुद्ध भएका सबै सडकहरु मर्मत गरेर यातायात सञ्चालन गरेका छौ । लाखौ खर्चेर सडक खुलाएका छौ । जनजिबनलाई सहज बनाएका छौ । लुलाङ र मराङको राम्चे जाने बाटोमात्र खुलाउन बाँकी छ । त्यहाँ पनि छिट्टै मर्मत हुनेछ । हाम्रा जनताले सर्वसुलभ मूल्यमा गुणस्तरीय सामान पाउनुहुनेछ भन्ने अपेक्षा गरेका छौ । चाडबाड मनाउन सजिलो बाटोमा गाडी चढेर गाउँमा आउने वातावरण बनाएका छौ ।
चालु आर्थिक वर्षमा बजेट बिनियोजन भएका विकास आयोजना कसरी कार्यान्वयन गर्दै हुनुहुन्छ ?
गत वर्ष लकडाउनका कारण रोकिएका तीन वटा योजनाहरु अहिले सूचारु भैरहेका छन् । लुलाङको वडा कार्यालय, मुनाको स्वास्थ्य चौकी र शिवाङको हेम नमुना आवासीय माविको भवन बनाउने जिम्मा पाएका ठेकेदारहरुले आगामी पुष महिना भित्र काम सक्ने लक्ष्य सहित काम गरिरहनुभएको छ । स्थानीयले रोजगारी पनि पाएका छन् । यो वर्ष बजेट बिनियोजन भएका, साझेदारीका योजनाहरुको लगत, इस्टिमेट तयार पारेर ठेक्का प्रक्रिया सुरु भएको छ । दसै लगत्तै ठेक्का खोलेर योजना कार्यान्वयनमा लैजान्छौ । सबै बिद्युतीय माध्यमबाट ठेक्का प्रतिस्पर्धा गराउदैछौ । वडा स्तरका योजनाहरुको समिति गठन भैरहेको छ । दशै लगत्तै उपभोक्ता समिति गठन गरिसक्छौ । सबै योजनाहरुको सर्वेक्षण सकेर प्राबिधिकहरुले लगत, इस्टिमेट तयार पार्ने काम गरिरहेका छन् । प्रशासन, प्राबिधिक र बैंकका कर्मचारी वडामै पुगेर योजना सम्झौता गर्ने र खाता खुलाउने ब्यवस्था मिलाउछौ । बाँकी वडामा गएका योजना दशै लगत्तै समिति गठन गरेर वडा वडामा प्रशासन, प्राबिधिक बैंकका कर्मचारी गएर सम्झौता र खाता खुलाउछौ । विगतका वर्षमा भन्दा यसपालि छिट्टै योजना कार्यान्वयन सम्पन्न गर्ने लक्ष्य सहित योजनावद्ध हिसाबले अघि बढेका छौ ।
कोरोनाका कारण रोजगारी गुमेर बिदेश र सहरबाट गाउँ आएकाहरुलाई उत्पादन, रोजगार र विकासमा जोड्ने गाउँपालिकाको योजना के छ ?
कोरोनाका कारण धेरै युवा दाजु, भाई दिदिबहिनीहरु विदेश र सहरबाट फर्किएका मात्र छैनन् । गाउँमै सानोतिनो ज्याला मजदुर गर्दै आउनुभएकाहरुको पनि रोगजारी गुमेको सत्य हो । यसलाई मध्यजनर गरेर संघीय सरकारको प्रधानमन्त्री रोजगारका साथै हामीले युवा स्वरोजगार कोष बनाएर परिचालन गर्दैछौ । सहकारी मार्फत उद्यम गर्ने युवाहरुलाई अनुदान दिने कार्यक्रम छ । कृषि र भेटेरिनरी शाखाका कर्मचारीहरु मार्फत कृषकलाई फर्म दर्ता गराउन सहजिकरण गरेका छौ । तीन तहका सरकारबाट नदोहोरिने र डुब्लीकेशन नहुनेगरि अनुदान सुबिधा दिन्छौ । यसबाट युवाहरुलाई रोजगारी र गाउँमै आयआर्जनको अवसर मिल्ने अपेक्षा छ । संघीय र प्रदेश सरकारले तालिमको प्याकेजको ब्यवस्था गरेको छ । युवाहरुको माग संकलन गरेर तालिम दिएपछि रोजगारी, आयआर्जन, बाँझिएका जमिन उपयोग र खेर गैरहेको वन पैदावार प्रयोग हुनेछ । सुरुवाति प्रयास सफल र प्रभावकारी भयो भने निरन्तरता दिन्छौ ।
धवलागिरी गाउँपालिका स्थापना भएको र जनप्रतिनिधिको नेतृत्व पाएको साढे तीन वर्षेको अवधिमा हासिल भएका मुख्य उपलब्धी के हुन् ?
पार्टीको चुनावी घोषणापत्र भन्दा पनि हामीले भूगोल, समस्या र अवस्था अनुसार जनतालाई आश्वासन दिएका थियौ । जनताको आशा, अपेक्षा, सुझाव संकलन गर्दा थुप्रै गरौला जस्तो लागेको थिएन् । अनावश्यक सपना बाडेका थिएनौ । घाटि हेरेर हाड निल्ने भने जसरी चुनावमा प्रतिवद्धता जनाएका थियौ । हामी निर्वाचित हुँदा दुई वटा वडामा मात्र सडक थियो । केन्द्रीय लाइनको बिद्युत पालिकामा आइपुगेको थिएन् । सञ्चार सुबिधा थिएन् । मराङ, मुदी, लुलाङ, मल्कवाङमा सडक पुगेको छ । ताकममा बिद्युतिकरण भएर अन्य वडामा पनि बिस्तार हुदैछ । पानीको स्रोत भएको ठाउँमा माइक्रोहाइड्रोबाट बिद्युत उत्पादन गरेका छौ । त्यो पनि नभएको ठाउँमा सोलारबाट घर उज्यालो बनाएका छौ । अस्तब्यस्त अवस्थामा रहेको शिक्षा र स्वास्थ्य क्षेत्रलाई लयमा ल्याएका छौ । जनताको प्रशासनिक र विकासमा पहुँच पुगेको छ । साना तीना समस्याको पालिकालेनै सम्बोधन गरेको छ । हाम्रो कार्यकालमा गुर्जा बाहेकका वडामा सडक पुग्छ । गाउँपालिकाको विकासलाई अघि बढाउन विभिन्न गुरुयोजना, डिपिआर बनाएर कार्यान्वयनको चरणमा लगेका छौ । धेरै प्रतिबद्धता पुरा ग¥यौ । केही बाँकी छन् । केही पुरा गर्दैछौ । जे प्रतिवद्धता जनाएका थियौ । त्यही त्यही काम गरेका छौ । सिमित स्रोत र साधनका बाबजुद ताकम र मराङमा स्थानीय जनशक्ति परिचालन गरेर देखाउन लाएक विकासका काम गरेका थियौ । तर असारको पहिरोले तीनै दुई वटा वडालाई तहस नहस बनायो । यसमा हामी दुखित भएका छौ । पहिलेकै अवस्थामा फर्काउन हामिलाई हम्मे हम्मे छ । यो अस्तब्यस्त अवस्थालाई सम्हाल्न हामीलाई सबैको निरन्तर सकारात्मक साथ र सहयोगको अपेक्षा गर्दछु ।
लैङ्गिक हिसाबले महिला भएकै कारण यहाँले नेतृत्वमा रहँदा समस्याको सामना गर्नुपरेको छ की छैन ? अन्य जनप्रतिनिधी, कर्मचारी, समुदाय र पार्टीका नेताको ब्यवहार कस्तो छ ?
पश्चिमा मुलुकहरुमा जस्तो खुल्ला र स्वतन्त्रता नभएका कारण नेपालका महिलाहरुलाई राजनीतिक र सामाजिक क्षेत्रमा काम गर्न निकै कठिन छ । नेपालमा अहिले जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, न्यायपालिका, संघ संस्थाको रुपमा जो जतिले जिम्मेवारी पाएका छौ महत्वपूर्ण अवसर जुटेको मेरो बुझाई छ । यसअघि पनि विभिन्न कालखण्ड र आन्दोलनमा पनि महिलाहरुको सहभागिता र नेतृत्व भएको थियो । म लगायत धेरै महिलाहरु परिक्षणकालमा छौ भन्ने लाग्छ । चुनौति र अवसर हाम्रो सामु दुवै छ । महिलालाई नेतृत्व गर्न, अडान लिन, निर्णय लिन नसक्ने, शारिरिक र मानसिक रुपमा कमलो मन भएका, पछौटेपन भएको भनेर संकुचित सोचले हेर्ने दृष्टिकोण छ । जनप्रतिनिधि र कर्मचारी धेरै पुरुषहरु हुनुहुन्छ । महिला प्रशासकीय अधिकृत अहिलेसम्म आउनुभएको छैन् । कहिलेकाँही संवेदनशिल समयमा गोप्य तरिकाले छलफल र सल्लाह गरेर निर्णय गर्ने बेलामा उहाँहरु मकहाँ पनि आउन सक्नुहुन्न् । म उहाँहरु भएको ठाउँमा जान पनि सक्दिन् । खुलेर समस्या नभन्ने, चुतिया भएको भन्ने, शंका मान्ने, टिप्पणी गर्ने गरेको महशुस र भोगेको छु । पुरुषलाई जति खुल्ला भएर हिड्न, डुल्न हामीहरुलाई अझै सजिलो छैन् । यो सामाजिक अवस्थालाई परिवर्तन गर्न हामीले संघर्ष ग¥यौ भने आगामी दिनमा सजिलो वातावरण बन्ने अपेक्षा छ । अहिले निकै चुनौति खेपेर बुलन्द भूमिका निभाउने हो भने आगामी दिन सजिलो होला । सकारात्मक भावना र सोच राखेर काम गर्ने हो । काम गर्ने क्रममा भएका कमजोरी सुधार गर्दै लैजाने हो ।
स्थानीय सरकारले समन्यव नगरेका, फरक आस्था राख्नेहरुसँग दुरि टाढा भएको, कतिपय कामहरु अपारदर्शी भए भन्ने गुनासो सुनिन्छ । यो वास्तविकता र आरोप के हो ?
कार्यकारी पदमा रहदा र जिम्मेवारी लिदा आरोप, हौसला, स्याबबासी, शंका, उपशंका हुने दुनियाको मानवीय स्वभाव र चलन हो । समन्वय नभएको र विपक्षीसँगको दुरि टाढा भएको कुरा केही सत्य पनि होला । केही मित्थ्या आरोप हो । गाउँपालिका, कर्मचारी, हामी जनप्रतिनिधिहरु, विकास निर्माण, सेवा प्रवाहको बिषयमा केही शंका, गुनासो लिएर आउनेलाई कार्यालयको ढोका खुल्ला छ । हामी स्वागत गर्छौ । मागेको सूचना दिने वातावरण छ । तर यहाँ वास्तविकतानै नबुझी सामाजिक सञ्जालमा टिका टिप्पणी गरिदिदाँ दुख लाग्छ । निर्णय गर्न नसक्ने, बाधा अवरोध भएको अवस्थामा समन्वयको आवश्यकता पर्दो रहेछ । हाम्रो कार्यपालिका र गाउँसभा सहज रुपमा छलफल हुन्छ । आफ्नै पार्टी र फरक पार्टीका साथिहरुको सुझाव लिएको छु । चुनावसम्म पो म नेकपाको सिपाही थिए । चिर्वाचित भएपछि त मलाई मतदान नगर्ने जनताको पनि अभिभावक हो भन्ने भावनाले काम गरिरहेकी छु । उहाँहरुलाई समस्या पर्दा मकहाँ आउनुहुन्छ, मैले आवश्यक परेको अवस्थामा उहाँहरुको सहयोग लिन्छु । सहयोग, सहकार्य लिने, दिने राम्रो सस्कार छ हाम्रो पालिकामा । अरोपमा सत प्रतिशत सत्यता छैन् । आरोप आउनु मानवीय गुण र सामाजिक समस्या दुवै हो ।
समय र सम्बादका लागि यहाँलाई धन्यवाद ।
गाउँपालिकाको गतिबिधि, उपलब्धि, समस्या, योजनाका साथै मेरा बिचारलाई स्थान दिनुभएकोमा यहाँलाई पनि धेरै धेरै धन्यवाद ।

अन्तरवार्ताको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

Dhakal lab
प्रतिक्रिया दिनुहोस
Loading...