बागलुङको लोकवार्ता सङ्गोष्ठीमा बाइस कार्यपत्र प्रस्तुत

Gandaki Pardesh notice

बाग्लुङ, । लोकवार्ता परिषद् नेपालको १२औँ सङ्गोष्ठी सोमबारदेखि बागलुङमा सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त सङ्गोष्ठीको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले शुभारम्भ गर्नुभयो । त्यस क्रममा उहाँले हजारौँ वर्षदेखि मानव पूर्खाले आर्जन गरेका ज्ञान, जीवन दृष्टिकोण र सङ्घर्षका कथाहरु नै लोकवार्ता भएको बताउनुभयो ।
“लिखित इतिहास जित्नेहरुको मात्रै हुन्छ, हार्नेहरुको इतिहास लेखिँदैन, उनीहरुको कथा लोकवार्ता र मौखिक ज्ञान, परम्परामा हुन्छ”, कुलपति राईले भन्नुभयो, “नेपालका जातजाति र भाषाभाषीमा प्रचलित लोकआख्यान र लोकवार्ताको खोजी तथा संरक्षण गर्नु आवश्यक छ ।” उहाँले देशको अवलम्बन गर्ने संस्कृति नीतिमा मौखिक ज्ञान, परम्परा र मौलिक दर्शनलाई स्थान दिइनुपर्ने उल्लेख गर्नुभयो ।
कुलपति राईले ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने आदर्श वाक्यलाई आत्मसाथ गर्दै प्रतिष्ठानलाई सबै नेपालीको प्रिय र साझा संस्थाका रुपमा स्थापित गरिने बताउनुभयो । लोकवार्ता सङ्गोष्ठीमा हुने बहस र छलफलको निचोडलाई ज्ञानका रुपमा समुदायमा प्रसारित गर्न प्रतिष्ठानले आवश्यक सहयोग गर्ने उहाँको भनाइ छ ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले इतिहास र संस्कृतिको जगेर्नामा यस किसिमका कार्यक्रमले मद्दत पुग्ने धारणा राख्नुभयो । उहाँले लोक संस्कृति र परम्पराको खोज तथा अन्वेषणमा परिषद्ले चलाएको लोकवार्ता सङ्गोष्ठीको श्रृङ्खला प्रशंसनीय रहेको बताउनुभयो ।
नेपाली जनजीवनमा प्रचलित संस्कृति, लोककला, साहित्य, संस्कार, रीतिथीति आदि परम्परागत ज्ञानको अध्ययन र संरक्षणको ध्येयले कार्यक्रम आयोजना गरिएको सङ्गोष्ठी तयारी समितिका संयोजक प्रा डा दिनबहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार सङ्गोष्ठीमा विद्धान तथा विषयविज्ञहरुद्वारा आज २० वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यपत्रमाथि हुने बहस तथा समीक्षापछि आउने निचोडलाई पुस्तकाकारका रुपमा प्रकाशन गरिने संयोजक प्रा डा थापाले उल्लेख गर्नुभयो ।
“आज प्राज्ञिक तथा विद्धान व्यक्तित्वहरुबाट लोकवार्ताका विविध विषय र आयामबारे कार्यपत्र प्रस्तुत भएको छ”, उहाँले भन्नुभयो, “सङ्गोष्ठीको दोस्रो दिन मङ्गलबार जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको स्थलगत अध्ययन भ्रमण तय गरिएको छ ।”
सङ्गोष्ठीमा प्रा डा रामचन्द्र पाखरेल, काजी गाउँले श्रेष्ठले, प्रेम छोटा, महेशचन्द्र प्रधान, प्रा डा कुसुमाकर न्यौपाने, डा मधुसुदून गिरी, प्रा डा कपिल लामिछाने, डा लालबहादुर पुन, प्रा डा प्रेम खत्रीलगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सङ्गोष्ठीले धवलागिरि क्षेत्रको सभ्यता र संस्कृतिको अध्ययन÷अनुसन्धानमा विद्धान तथा खोजकर्ताहरुलाई प्रेरित गर्ने विश्वास आयोजकले लिएको छ । जसबाट विभिन्न जातजातिको संस्कृति, जीवनशैली, धार्मिकस्थल, प्राकृतिक सम्पदा, कला, साहित्य आदिको उत्थान र संरक्षणमा महत्वपूर्ण टेवा पुग्ने जनाइएको छ ।
परिषद्ले सम्बन्धित विषयका विज्ञहरुलाई लोकवार्ताका विविध विषयमा अध्ययन अनुसन्धान गर्न लगाई तिनबाट आउने निचोडलाई पुस्तकका रुपमा प्रकाशनसमेत गर्दै आएको छ । परिषद्ले बर्सेनि विभिन्न जिल्लामा पुगेर लोकवार्ता सङ्गोष्ठी गर्ने गरेको परिषद्का अध्यक्ष प्रा डा प्रेम खत्रीले बताउनुभयो ।
“खोज, अनुसन्धान र प्राज्ञिक विषयसँग सम्बन्धित राष्ट्रियस्तरको कार्यक्रम भएको हुँदा लोकवार्ता सङ्गोष्ठीले छुट्टै महत्व र गरिमा बोकेको छ”, उहाँले भन्नुभयो, “परम्परागत ज्ञानको खोजी र संरक्षणले नै हाम्रो पहिचान स्थापित हुनेमा परिषद् विश्वस्त छ, त्यही अभियानमा हामी क्रियाशील छौँ ।”
मङ्गलबार जिल्लाको गलकोट नगरपालिकास्थित चौबिसे राज्यका पालाको दरबार, खुला आधुनिक मूर्तिकला सङ्ग्रहालयलगायत ऐतिहासिक र पर्यटकीय महत्वका स्थलको अवलोकन भ्रमण गरिने अध्यक्ष प्रा डा खत्रीले बताउनुभयो । उक्त टोलीले आज बागलुङ नगरपालिकामा पर्ने प्रसिद्ध कालिका भगवती मन्दिर, विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट, शालग्राम सङ्ग्रहालयलगायतको भ्रमण गरेको थियो ।
सोही समारोहमा डा मुकुन्द शर्माद्वारा लिखित अनुसन्धानमूलक कृति ‘तुलनात्मक अध्ययनका आधारहरु ः सिद्धान्त र प्रयोग’को विमोचनका साथै बागलुङ नगरपालिका–३ का कालिगढ भिमबहादुर विकलाई सम्मान गरिएको थियो ।
उक्त सङ्गोष्ठीमा नेपाल प्रज्ञा प्रतिष्ठानका पदाधिकारी, विभागीय प्रमुख, लोकवार्ता परिषद्का पदाधिकारीसहित देशका विभिन्न ठाउँबाट आउनुभएका प्राज्ञिक व्यक्तिहरुको सहभागीता रहेको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आयोजित उक्त सङ्गोष्ठीको सह–आयोजकमा जनकवि केशरी धर्मराज–सावित्री थापा प्रतिष्ठान र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ ।
जिल्ला तहमा बागलुङ, गलकोट नगरपालिकासहित विभिन्न स्थानीय तह, सङ्घसंस्थालगायतलले सङ्गोष्ठीलाई सहयोग गरेको तयारी समितिका संयोजक प्रा डा थापाले बताउनुभयो । उक्त सङ्गोष्ठी आउँदो बुधबार र बिहीबार म्याग्दीमा सञ्चालन हुने परिषद्ले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...