युवा विहिन गाउँमा दशैको रौनक आएन

Add Samajik bikash office

धु्रबसागर शर्मा
बेनी, । उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल । पूर्वतर्फ बागलुङको पञ्चकोट । निकै सुन्दर र मनमोहक लाग्छ ज्यामरुककोट । खेतका फाँटमा पहेँलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान । बेफुर्सदिला छन् उमेरले ५० काटेका पाका गाउँलेहरू पनि ।
केही वर्षअघि सम्म म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डे, सानालेख, गौश्वारा र फापरखेतमा सोह्र श्राद्ध नसकिँदै लिङ्गे पिङ हालेर युवाहरू दशैँको तयारी गरिसक्थे ।
अहिले दशैँको छैटौँ दिन बितिसक्दा पनि गाउँमा न कतै लिङ्गे पिङ न त युवाहरू नै देखिएका छन् । विद्यालय उमेरका बालबालिका र ५० नाघेका पाका नागरिक आ–आफ्नो काममा व्यस्त छन् ।
दशैँको रौनकले गाउँलाई छोएको छैन । पाँच सात वर्षअघि तीजसँगै दशैँको रौनक सुरु हुन्थ्यो । सोह्र श्राद्ध सकिनेबित्तिकै रातो माटो र सेतो कमेरोले घर लिपपोत गर्ने, चिउरा कुट्ने, अचार राख्ने, घर सफा गर्ने र गोरेटो सफा गर्ने काममा युवा नै कस्सिने गर्थे ।

पछिल्ला केही वर्षयता ज्यामरुककोटमा मात्रै होइन म्याग्दीमा नै युवाहरू वैदेशिक रोजगार र परिवार बसाइँसराइ गरी शहरतिर बस्न थालेपछि गाउँघरमा चाडपर्वको रौनक हराउँदै गएको बेनी नगरपालिका–२ का ६८ वर्षीय डिलबहादुर सापकोटाले बताउनुभयो । बेनी–२ ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर कार्कीका अनुसार गाउँबाट पछिल्लो चार वर्षयता वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने युवाहरूको सङ्ख्या बर्सेनि बढ्दै गएपछि गाउँ युवाविहीन भएको छ ।

Shreekrishna hardwear in news

एक वर्षमा सरदर ५० देखि ८० जनासम्म युवा वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन् । अध्ययनका लागि जानेहरूको संख्या पनि उत्तिकै छ । त्यसका साथै बसाइँसराइ गरेर शहर र मधेशतिर जाने पनि बाक्लै छन् । पछिल्लो डेढ वर्षमा २४ घरपरिवारले बसाइँसराइ गरेका छन् । पाहारिलो घाम लाग्न सुरु भएपछि खेतका फाँटमा धान थन्क्याउने काममा किसान व्यस्त छन् ।

Bhautik ministry notice about road

असोजको अन्तिम साता परेको पानी र चलेको हावाहुरीबाट थन्क्याउने वेलाको धान नासिने पो हो कि भनेर चिन्तित बनेका किसान कात्तिक लागेपछि मौसम घमाइलो बन्दा खेतको फाँटमा व्यस्त हुन थालेका र धान भित्र्याउने चटारोले किसान बेफुर्सदिला बनेका सानालेखका नारायण शर्माले बताउनुभयो । कामकाज, उच्च शिक्षा र वैदेशिक रोजगारका लागि बाहिर रहेकाहरू गाउँ फर्किन थाले पनि कामको चटारोले गर्दा दशैँको रौनक नदेखिएको उहाँको भनाई छ ।

घरमा कमेरो र रातो माटोले लिपपोत गर्न घरभित्र धुवाँ लगाएर राखेका मकैका झुत्ता थाङ्नेमा राखेर लिपपोत गर्दै गर्दा दशैँ आएको छुट्टै आनन्द हुन्थ्यो । दशैँका लागि भनेर खेतको कान्लामा घाँस साँच्ने गरिन्थ्यो । गाउँघरका युवादेखि बूढापाका मिलेर खरबारीमा गई बाबियो काटेर रातमा पिङको लुठो बाटेर दिनमा बाँसको चार लिङ्गो गाडेर पिङ बनाउने गाउँमा हराउँदै गएको छ । अहिले रोजगारीको सिलसिलामा गाउँबाट बाहिर देशमा जान थालेसँगै दशैँमा रौनक थप्ने लिङ्गे पिङ खेल्ने संस्कृति हराउँदै गएको हो ।

‘विशेषगरी युवा पुस्ताले लिङ्गे पिङ निर्माण गरेर खेल्ने र रमाइलो गर्ने चलन थियो, अहिले गाउँमा युवा छैनन्, पाको पुस्तालाई फुर्सद पनि छैन, जाँगर पनि चल्दैन’, ५२ वर्षीय टेकबहादुर क्षेत्रीले भन्नुभयो । पछिल्लो समय प्रविधिको विकास भएसँगै गाउँघरमा समेत मनोरञ्जनका अन्य साधन प्रशस्तै आएकाले पनि पिङतर्फ आकर्षण घटेको बूढापाकाहरू बताउँछन् ।

युवाहरू रोजगारीका लागि विदेश गएका छन् । युवाहरू विदेशिएका कारण पिङ बनाउने जनशक्तिको अभावसमेत बढ्दै गएको छ । पिङ बनाउन बाबियो काटेर ल्याउने, लुठो बाट्ने र चारवटा बाँस गाड्न कम्तीमा आठदशजना व्यक्ति आवश्यक पर्दछन् । गाउँघरमा फाटफुट भएका युवाहरू पनि व्यवसाय र रोजगारमा हुनुले पनि लिङ्गे पिङ लोप हुँदै गएको फापरखेतका इन्द्रदत्त शर्माले बताउनुभयो ।

युवा पलायन, प्रविधिको विकास र बसाइँसराइका कारण चाडपर्वको मौलिकता तथा परम्परागत ग्रामीण परिवेशमा पनि परिवर्तन आएको छ । रातो माटो र कमेरोले पोतिएका घर गाउँमा देखिन छाडेका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...