बेनी–भकिम्ली सडक यसै वर्षदेखि कालोपत्र शुरु हुन्छ– मन्त्री जुग्जाली

Gandaki Pardesh notice

भकिम्ली, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले बेनी देखि भकिम्ली जोड्ने सडक कालोपत्र गर्ने काम यसै बर्षदेखि शुरु हुने बताउनु भएको छ ।

बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माध्यमिक विद्यालयको भवनको आइतबार उद्घाटन गर्नुहुदै मन्त्री जुग्जालीले बेनी–भकिम्ली सडक कालोपत्र र स्तरोन्नति गर्न यसै वर्ष बहुबर्षीय ठेक्का लगाउने तयारी भएको जानकारी दिनुभयो ।

“बेनी–भकिम्ली सडक योजनाका लागि चालु आर्थिक वर्ष रु. दुई करोड बजेट बिनियोजन भएको छ,” उहाँले भन्नुभयो “रु. दश करोड बजेटको स्रोत सुनिश्चितता गरेर चालु आर्थिक वर्षदेखिनै बहुबर्षीय ठेक्का लगाउने तयारी गरिएको छ ।”

Shreekrishna hardwear in news

बेनी–भकिम्ली लगायत म्याग्दीका ६ वटा ग्रामिण सडक स्तरोन्नति गर्न यस वर्ष बहुबर्षीय ठेक्का लाग्ने जानकारी दिदै मन्त्री जुग्जालीले शुरु भएको सडक कालोपत्र गर्ने कामलाई निरन्तरता दिने बताउनुभयो । गण्डकी प्रदेश सरकारले ग्रामिण क्षेत्रका सडक स्तरोन्नति गरेर सुरक्षित र सहज यात्रा गर्ने वातावरण बनाउन प्राथमिकता दिएको मन्त्री जुग्जालीले बताउनुभयो ।

समुदायको इच्छाशक्ति हुने हो भने विकासका लागि सरकारको मात्र भर पर्नु नपर्ने सन्देश भकिम्लीबासीले सडक, विद्यालय भवन निर्माणका क्रममा दिएका उहाँको भनाई थियो । म्याग्दीमा भित्रिएको बजेटको सफल कार्यान्वयन गर्नतर्फ सरोकारवालाहरुले साथ र सहयोग गर्नुपर्न मन्त्री जुग्जालीले बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीका ग्रामिण सडक स्तरोन्नति, खानेपानी, सिचाई सुविधा विस्तार, शिक्षा, स्वास्थ्यको गुणस्तर सुधार र विद्युत सुविधा विस्तारमा जोड दिएको बताउनुभयो ।

“म्याग्दीका सडक स्तरोन्नति, कालोपत्र र मोटरेबल पुल बनाउन यस वर्ष प्रदेश सरकारबाट रु. ७४ करोड भन्दा बढी बजेट बिनियोजन भएको छ,” उहाँले भन्नुभयो “गुर्जा बाहेक म्याग्दीका सबै घरधुरीमा केन्द्रिय लाइनको विद्युतको पहुँच पु¥याउन यस वर्ष रु. २२ करोडको बजेटको ठेक्का लागिसकेको छ ।”

संविधानसभा सदस्य रेशमबहादुर बानियाले म्याग्दीको विकासका लागि अवसरको सदुपयोग गर्नुपर्ने र भित्रिएका बजेट तथा योजनाको कार्यान्वयन गराउनुपर्ने बताउनुभयो । विसं २०७२ देखि जयन्ती माविको विद्यालय भवन पुनःनिर्माण अभियान सुरु गरेका भकिम्लीवासीकै नेतृत्वमा अहिले २२ कोठे दुई तले विद्यालय भवन तयार भएको छ ।

विद्यालय भवनसँगै प्रवेशद्वार, खेलमैदान र प्याराफिट निर्माणसहित विद्यालयलाई घेरावारसमेत गरिएको छ । छरिएर रहेका साना–साना कक्षाकोठा रहेको र जीर्ण बन्दै गएको साविकको जयन्ती माविको अहिले भौतिकस्वरुप फेरिएको विद्यालयका प्रधानाध्यापक भोजबहादुर जिसीले बताउनुभयो । साँघुरा र पानी चुहिने अवस्थामा पुगेका कक्षाकोठामा पठनपाठन गराउनुपर्ने बाध्यता विद्यालय पुनःनिर्माणसँगै हटेको छ ।

Bhautik ministry notice about road

गाउँका बालबालिकाले सुविधासम्पन्न र भौतिक पूर्वाधारयुक्त भवनमा बसेर सहजरुपमा पठनपाठन गर्ने अवसर पाएका छन् । विद्यालय भवनका लागि सरकारी निकाय धाउँदा थाकेका स्थानीयवासीले प्रवासीको दरिलो साथ पाएपछि आफ्नै बलबुतामा विद्यालयको भवन ठडाउने साहस गरेका थिए ।

“प्रवासमै रहनुभएका स्थानीयवासीले विद्यालय भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता आएपछि अभियानको थालनी भएको थियो, पछि सरकारी निकाय, सङ्घ संस्था र व्यक्तिगत सहयोग पनि जुट्न थाल्यो, अन्ततः अहिलेको यो सुविधासम्पन्न भवन सम्भव भयो”, प्रअ जिसीले भन्नुभयो ।

विद्यालय भवन पुनःनिर्माण गर्न स्थानीयवासीले पनि उत्साहजनकरुपमै जनश्रमदानदेखि नगद सहयोग जुटाएका थिए । प्रवासीले पसिना बेचेको रकम सहयोग गर्दा गाउँलेले घरको अन्नपात र गाईभैँसी बेचेर विद्यालयलाई सहयोग गरेको विद्यालयका शिक्षक अभिभावक सङ्घका अध्यक्ष रत्न जिसीले बताउनुभयो । समुदायको अग्रसरतामा सङ्घ संस्था र सरकारी तवरबाट समेत साथ थपिएको कारण भवन पुनःनिर्माणमा राहत भएको उहाँको भनाइ छ ।

भवन बनाउने अभियानमा नगद रु पाँच सयदेखि रु १० लाखसम्म व्यक्तिगत सहयोग गरेको विद्यालयले जनाएको छ । कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा अहिले एक सय ७६ विद्यार्थी अध्ययनरत छन् । यो सुविधासम्पन्न भवनमा कक्षाकोठा भवनसहित कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी, कार्यालय र स्टाफ कक्षलगायत विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर पुनले बताउनुभयो ।

उहाँका अनुसार, उद्घाटन कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सहयोगदातालाई सम्मान समेत गरिएको छ । विद्यालय भवन पुनःनिर्माणमा समुदायका मात्रै दुई सय १२ चन्दादाता छन् । अमेरिका, हङकङ, स्पेन, साउदी अरेबीया, जापानलगायत मुलुकमा रहेका भकिम्लीबासीको अगुवाइमा सङ्कलन भएको सहयोग रकममा सयौँ जनाले हातेमालो गरेका छन् । हिमालयन प्रोजेक्ट बेल्जियम र नेपाल सरकारका विभिन्न निकायले समेत पुनःनिर्माण अभियानमा बजेट उपलब्ध गराएका छन् ।

विद्यालय भवन पुनःनिर्माणमा करिब रु तीन करोड ५० लाख खर्च भए पनि अहिलेसम्म चन्दादाता, सहयोगदाता, सङ्घ संस्था र सरकारी तवरबाट रु तीन करोड २३ लाख ५५ हजार मात्रै सहयोग जुटेको विद्यालयले जनाएको छ । कूल लागतको आधाभन्दा बढी रकम समुदाय र देश विदेशमा रहेका भकिम्लीवासीकै नेतृत्व र अगुवाइमा जुटाइएको हो । विद्यालयलाई चन्दादातामार्फत थप सहयोग आउने क्रम जारी छ । नेपाल सरकारका विभिन्न निकायबाट रु एक करोड १७ लाख बजेट प्राप्त हुँदा समुदायले व्यक्तिगत चन्दाबाट रु ९५ लाख, विभिन्न सङ्घ संस्थाबाट रु नौ लाख र विभिन्न देशमा रहेका भकिम्लीवासीको नेतृत्वमा रु ६२ लाख सहयोग जुटाएका थिए भने हिमालयन प्राजेक्ट बेल्जियमले रु ३८ लाख सहयोग गरेको विद्यालयले जनाएको छ ।

पुरानो भवन जीर्ण भएकाले गाउँका सबै सरोकारवाला र प्रवासीबीच बृहत् छलफल गरेर थालिएको अभियानबाट विद्यालयमा सुविधासम्पन्न भवन बनेको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत रहनुभएका वडाध्यक्ष पदमबहादुर पुनले बताउनुभयो ।

“विसं २०४५ मा बनाइएका साँघुरा भवनमा टिनको छानो चुहिने र पर्खाल भत्कने अवस्थामा पुगेका थिए, समुदायकै अगुवाइमा विद्यालय पुनःनिर्माण अभियान सञ्चालन गरिएको थियो, स्थानीयवासी र प्रवासी भकिम्लीवासीले मन फुकाएर सहयोग गर्नुभयो, सङ्घ संस्था र सरकारी तवरबाट पनि अभियानमा हातेमालो भयो, अब जयन्ती मावि भौतिक पूर्वाधारयुक्त बनेको छ, अबको प्राथमिकता विद्यालयको शैक्षिक गुणस्तर सुधारमा केन्द्रीत हुनेछ”, उहाँले भन्नुभयो ।

यो विद्यालय भवन पुनःनिर्माणमामा मात्रै होइन, विद्यालयको स्थापनादेखि नै भकिम्लीवासीले यस विद्यालयलाई निरन्तर साथ, सहयोग गर्दै आएका छन् । विसं २०१६ पुस १६ गते सत्यमान पुनको नेतृत्वमा गाउँमा यस विद्यालयको थालनी भएको इतिहास छ । विसं २०१७ मा कक्षा १ सञ्चालन गर्ने अनुमति प्राप्त गरेको यस विद्यालयले आजसम्म आइपुग्दा समयको यो खालखण्डमा धेरै आरोह अवरोध, विविध समस्या र चुनौतीलाई सामाना गर्दै अघि बढेको देखिन्छ ।

तत्कालीन समयमा भकिम्लीको रानीपधेरामा अवस्थित यस विद्यालयलाई स्व नारायण देवी रोकाले एक रोपनी जग्गा विद्यालयलाई उपलब्ध गराएपछि हालको स्थानमा स्थानान्तरण गरिएको थियो । विसं २०२८ मा प्राविबाट निमावि तहमा स्तरोन्नति भएको यो विद्यालयमा २०५१ सालमा महायज्ञ सञ्चालन गरेर विद्यालयलाई माध्यमिक तहमा स्तरवृद्धि गरिएको थियो ।
लामो समयसम्म निजी स्रोतबाट मावि सञ्चालन गरेको यस विद्यालयमा समुदायले शिक्षकको तलब सुविधा र विद्यालयको भौतिक पूर्वाधारमा स्थापनाकालदेखि नै अतुलनीय योगदान गर्दै आएका छन् । तत्कालीन समयमा पिपलको बोटमुनिको चौतारीबाट पठनपाठन गराउन सुरु भएको यस विद्यालय आजको अवस्थामा पुगेको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...