सिंगाको धवलागिरी माविका विद्यार्थी मुुढा बुुन्न सिक्दै

Gandaki Ghumau

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुुढा बुन्न थाल्नुभएको छ ।

विद्यालयमा पढाई नहुने खाली समयमा उहाँले बाँसको सिन्का र डोरीबाट घरमा बस्नका लागि उपयोगी हुने मुढा बुन्न लाग्नुभएको हो । सुवेदी मात्रै होइन, यस विद्यालयको कक्षा १० का २५ जना विद्यार्थीहरु अहिले पाठ्यपुस्तक बाहिरको सिकाइको सिलसिलामा मुढा बुन्ने सीप सिक्न थालेका छन् ।

विद्यालय र स्थानीय शुभकामना कृषि सहकारी संस्थाको साझेदारीमा विद्यालयले कक्षा १० का विद्यार्थीहरुलाई पढ्दै सिक्दै कार्यक्रम सञ्चालन गरेको विद्यालयका शिक्षक खोमराज पौडेलले जानकारी दिनुभयो । शुक्रवार र अन्य दिनमा दिउँसो खाजा खाने समय र बिषयगत पठनपाठन नहुने समयमा विद्यार्थीहरुलाई मुढा बुनाईको तालिम दिने गरिएको उहाँले बताउनुभयो ।

Shreekrishna

असोज १९ गतेबाट सुरु भएको विद्यार्थीहरुको मुढा बुनाई तालिम करिब दुई सातासम्म सञ्चालन हुनेछ । स्थानीय स्तरमा पाईने बाँसको सिन्काहरु समेत विद्यार्थीहरु आफैले तयार गरेका हुन् । विद्यालयले मुढामा प्रयोग गरिने रसिको बन्दोबस्त गरेपछि मुढा बुन्दै आउनुभएका स्थानीय नेत्रलाल गोतामेलाई प्रशिक्षक र विद्यालयकै शिक्षक गोविन्द पौडेललाई सह–प्रशिक्षक तोकेर मुढा बुन्ने तालिम सञ्चालन भैरहेको छ ।

Gunasthariya Shiksya

कक्षाकोठामा कितावको मात्रै पढाई हुँदा विद्यार्थीहरु शिक्षित बनेपनि सिपविहिन बन्ने गरेकाले उनीहरुलाई हामी पनि गर्न सक्छाँै भन्ने भावना र उपयोगी सिपको विकास गराउने उदेश्यले मुढा बुनाई तालिम सञ्चालन भएको तालिमका सहप्रशिक्षक समेत रहनुभएका शिक्षक गोविन्द पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार, विद्यार्थीहरु मुढाको लागि आबश्यक पर्ने सिन्का तयार गर्न र सिन्काहरुलाई फ्रेममा राखेर रसिको डोरीले मुढा बुन्न सक्ने भैसकेका छन् ।

एउटा मुढा बुन्न १४ देखि १८ इन्चका ९० देखि ११० वटासम्म सिन्का प्रयोग हुने गरेको विद्यार्थीहरु बताउँछन् । विद्यालयमा सिकेको सिपलाई घरायसी प्रयोगमा समेत उपयोग गर्ने उनीहरुको तयारी छ । मुढा बुन्ने तालिमबाट सिप सिकेका विद्यार्थीहरुबाट फुर्सदको समयमा नियमित मुढा बुन्ने र त्यसलाई विद्यालय मार्फत विक्रि गरेर विद्यालयको बाल क्लबको लागि आम्दानी गर्ने लक्ष्य समेत बनाएको बाल क्लबका अध्यक्ष कृति सुवेदीले बताउनुभयो ।

विद्यालयले यस अघि गत बर्ष कक्षा नौ का विद्यार्थीहरुलाई च्याउखेती सम्बन्धि तालिम प्रदान गरेको थियो । उक्त तालिम फलदायि बनेपछि कक्षा १० का विद्यार्थीहरुलाई समेत सिपमूलक कार्यक्रम अन्तरगत मुढा बुनाई तालिम सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्काले जानकारी दिनुभयो ।

यो बर्ष समेत नगरपालिकाबाट रु १ लाख बजेट विनियोजन भएको र सो बजेटबाट विद्यालयमा कम्प्युटर मर्मत तालिम सञ्चालन गर्ने तयारी समेत गरिएको उहाँले बताउनुभयो । ‘‘विद्यार्थीहरु फुर्सदको समयमा मोवाईल मात्रै चलाएर बस्ने र सिपविहिन बन्ने जोखिम बढ्दो छ, घरायसी सिप र संस्कारका कुराहरु पनि उनीहरुलाई सिकाउन जरुरी भैसकेको छ, हामीले पढ्दै सिक्दै कार्यक्रमलाई अभियानकै रुपमा नियमित सञ्चालन गर्ने योजना बनाएका छाँै’’–वडाध्यक्ष खड्काले भन्नुभयो ।

विद्यार्थीहरुलाई स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजहरुबाट खानाका परिकारहरु बनाउने तालिम दिने तयारी गरेको विद्यालयले आगामी हिउँदयाममा छात्रा विद्यार्थीहरुलाई लक्षित गरेर परालबाट गुन्द्री बुनाई तालिम समेत दिने योजना बनाएको छ । कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयमा १९४ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने विद्यालयमा रहेको बहिरा स्रोत कक्षामा १४ जनाले अध्ययन गरिरहेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...