‘बुकी’बाट बेशी झर्न थाले गोठाला

Gandaki Ghumau

मुना,ः गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठालाहरु बेशी झर्न थालेका छन् ।

शरदयामको शुरुवातसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैसी, भेडाबाख्राका गोठहरु गाउँ नजिकका खर्कहरुमा झार्न थालेका हुन् । पशुका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईबस्तुको गोठ राख्ने ठाउँलाई खर्क भनिन्छ ।

धवलागिरी गाउँपालिका–३ मुनाका बालकृष्ण मगरले ढोरपाटनको जलजला र धनमाने खर्कमा तीन महिना बुकीको घाँस खुवाएका गाइगोरुको गोठ ल्याएर गत हप्ता गाउँमा झरेको बताउनुभयो ।
“वैशाखमा उभौलीको पुजा गरेर लेकतिर लागेको गोठ पालुवा पलाउदै गरेको घाँस खुवाउदै खुवाउदै जेठको अन्तिममा जलजलाको धनमाने खर्कमा पुगेका थियो,” उहाँले भन्नुभयो “तीन महिना बुकीमा चराएर अहिले गाउँको मकै बारीमा उम्रिएको ल्योस (घाँस) खुवाउन ल्याएको हो ।”
दशैमा गाउँ नजिकैको बारीमा रहने गोठ तिहारमा धान भित्र्याएपछि बेशीको सोलवाङ फाँटमा झार्ने चलन रहेको मगरले बताउनुभयो । गोठ बेशी झर्न थालेपछि गाउँघरमा चाडपर्व भित्रिएको महशुस गर्छन् ।

Shreekrishna

पोषिलो घाँस खाएर मोटाएका गाईभैसी, गोरु र भेडाबाख्राको बथानलाई अघि लगाउदै गोठालाहरु बन्दोबस्तीका सामान बोकेर लेक बेशी गर्छन् । गाउँ झरेका गोठाला र गाईबस्तुको चहलपहलले रौनक छाएको छ । पशुचौपायाले गाउँ नजिकैको पाखाबारी भरिएका छन् । ती पाखामा असंख्य गाईगोरु, बाच्छाबाच्छी, भैँसी र भेडाबाख्रा चरनमा रमाइरहेका देखिन्छन् ।

Gunasthariya Shiksya

महिनौं पुग्ने खर्चबर्च बोकेर गएका गोठालाहरु गाउँ झरेपछि मात्रै परिवारसँग भेट हुने गर्छ । करिब ३÷४ महिना लेकमा बिताउँदा उनीहरूले चोयाका विभिन्न सामग्री बुन्ने, घ्यू उत्पादन गर्ने र बेच्ने धवलागिरी गाउँपालिका–३ मुनाका ७६ वर्षीय गंगबहादुर पहरे पुनले बताउनुभयो ।

“पहिले हामी गोठमा जाँदा घरमा किनेर तेल खानुपर्दैनथ्यो । घ्युले पुग्दथ्यो । मोही धेरै भएर खोलामा फाल्नुपर्दथ्यो,” उहाँले भन्नुभयो “अहिले गोठ राख्ने ठाउँसम्मनै गाडी पुगेकाले खाने, बस्ने सामान बोक्नु परेन् । घ्यु र मोहीबाट छुर्पी बनाएर बिक्री गरेर आम्दानी हुन्छ ।”

एउटै परिवारले दर्जनौँ पशुचौपाया पाल्ने गर्छन् । वस्तुभाउलाई घाँस खुवाउनकै लागि उनीहरू लेकमा गोठ लैजाने गर्छन् । ढोरपाटन नजिकैको जलजला र गुर्जाघाट क्षेत्र म्याग्दीको धवलागिरी गाउँपालिकाको कृषकहरुको लागि छुट्टाइएको छ ।

पहिले हरेक घरको एउटा गोठ लैजाने गरेकोमा पछिल्लो समय गाईगोरु पाल्ने चलन घटेकाले एउटा टोलभरीको गाईबस्तु लिएर एक जना गोठ जाने गरेका छन् । यसपाली बुकीमा लम्पि स्किन रोग फैलिएपछि धेरै गाईगोरु बिरामी भए र केही मरेका कृषकहरुले बताएका छन् । धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बुकीको गोठमै पुगेर लम्पि स्किनबाट बिरामी परेका गाईगोरुको उपचार र खोप लगाइएको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...