बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव

Gandaki Kotihome

बेनी, । म्याग्दीको बेनी अस्पताल जनशक्ती र पूर्वाधार अभावको चपेटामा परेको छ । क्षमता विस्तार अनुसार दरवन्दि नथपिएको र दरबन्दि अनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो ।

छ वर्षदेखि अस्थायी टहरामा सञ्चालन भएको अस्पतालमा विभिन्न तहका ५९ जनाको दरबन्दि रहेकोमा हाल १७ जना मात्र कार्यरत रहेका अस्पतालका प्रमुख चिकित्सक डा. अञ्जु थापाले बताउनुभयो ।

“वि.स. २०७२ मा १५ बाट ५० शैयामा क्षमता विस्तार भएको अस्पतालले अहिले १५ शैयाँकै दरबन्दिबाट ७८ शैया बराबरको सेवा सञ्चालन गर्नुपरेको छ,” उहाँले भन्नुभयो “म्याग्दीलाई दुर्गम मानेर आउन नमान्ने चिकित्सक र स्वास्थ्यकर्मी आएपनि धेरै नटिक्ने समस्या छ । कार्यरत स्वास्थ्यकर्मीहरुमा कामको बोझ छ ।”

Upper Myagdi transmition line notice

वि.स. २०७४ देखि शुरु भएको अस्पतालको ५० शैया क्षमताको भवन निर्माणले पूर्णता नपाउँदा अस्थायी टहराबाट सेवा सञ्चालन गरिएको छ । नयाँ भवन निर्माणमा भएको ढिलाईका कारण छरिएका भवनमा काम गर्दा स्वास्थ्यकर्मीहरुलाई कार्यबोभ भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

“जनशक्ति अभावको समस्या समाधानका लागि व्यवस्थापन समितिले गण्डकी प्रदेशमै पहिलो पटक समिति अन्तरगत ४९ जनाको दरबन्दी सिर्जना गरेर जनशक्ति पदपुर्ति गर्न विज्ञापन गरेपनि केही पदमा आवेदननै परेको छैन,” उहाँले भन्नुभयो “सिमित जनशक्ति र पूर्वाधारको अधिकतम परिचालन गरेर सेवा प्रवाहलाई व्यवस्थित बनाउने प्रयासमा छौ ।”

Annapurna aarohan ko notice

जनशक्ति अभावका कारण सघन उपचार कक्ष (आइसीयु) सञ्चालन हुन सकेको छैन् । एक्सरे, रेडियोग्राफर र युएसजी मेसिन चलाउने चिकित्सक खोज्दा आवेदननै नपरेको प्रमुख थापाले बताउनुभयो । दैनिक २०० देखि २५० जनाले अन्तरंग विभागबाट सेवा लिने अस्पतालमा चार देखि पाँच जना मात्र चिकित्सक नियमित हुन्छन् ।

प्रसुतिरोग विशेषज्ञ समेत रहेकी अस्पतालका प्रमुख थापा तालिम, बैठकमा जिल्ला बाहिर जाँदा र विदा बसेको समयमा शल्यक्रिया मार्फत गरिने प्रसुति सेवा लिन आएकालाई बागलुङ र पोखरा पठाउने गरिएको छ । अस्पतालले पछिल्लो एक वर्षयता मानसीक रोग, जेष्ठ नागरिक, फिजियोथेरापी र अत्याधुनिक एक्सरे सेवा विस्तार गरेको छ ।

अस्पतालले अन्तरंग र बहिरंग विभागका अलावा शल्यक्रिया मार्फत प्रसुति, एपेन्डिसाइटिस, हर्नियाको उपचार, हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितहरुका लागि अल्पकालिन सेवा केन्द्र, डायलाइसीस सेवा सञ्चालन गर्दै आएको छ ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले म्याग्दीका साथै छिमेकी पर्वतको जलजला गाउँपालिकाका सर्वसाधारणले पनि सेवा लिने बेनी अस्पतालको निर्माणाधिन भवनलाई पूर्णता दिन, दरबन्दि अनुसारका जनशक्तिको व्यवस्था गरेर सेवालाई प्रभावकारी बनाउन आवश्यक देखिएको बताउनुभयो ।

“सामान्य बिरामी पर्दा समेत पोखरा, काठमाडौ जानुपर्ने म्याग्दीबासीको समस्याको दिर्घकालिन समाधान गर्न बेनी अस्पतालको सेवालाई विश्वसनीय र प्रभावकारी बनाउनुको विकल्प छैन,” उहाँले भन्नुभयो “अस्पतालमा स्थानीय तहहरुले जनशक्तिको समेत सहयोग गरेका छौ । प्रदेश र संघीय सरकारले पनि संवेदनशिल भएर दिर्घकालिन समाधानका लागि नीतिगत पहल गर्नुपर्छ ।”

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...