जेसीज सम्मेलन म्याग्दीको लागि ऐतिहाँसिक अवसर

Gandaki Pardesh notice

जेसी सुमन बानियाँ
शाखा अध्यक्ष–२०२३
म्याग्दी जिल्ला धार्मिक, पर्यटकीय, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण जिल्ला हो । ऐतिहासिक पर्वत राज्यको स्थायी राजधानी ढोल्ठान थियो भने अस्थायी राजधानी बेनी थियो। जुन बेनी बजार आधुनिक नेपालको म्याग्दी जिल्लाको सदरमुकाम हो । बेनी बजारको समीपमा गलेश्वरधाम, पुराणमा उल्लिखित पुलस्य ऋषिको तपोभूमि पुलस्त्य आश्रम, नेपालकै प्राकृतिक औषधालय तातोपानी कुण्ड छ भने जिल्लाभरि विभिन्न तातोपानीका कुन्डहरु, धर्मिक तथा पर्यटकीय स्थलहरु साथै विभिन्न खानी, जडिबुटी र हिमशृङ्खलाहरुसँगै प्राकृतिक छटाहरुको सुन्दर अनुपम ठाउँहरु रहेका छन् । मुक्तिनाथ मन्दिरको मुख्यद्वार र सोही मुक्तिनाथ हुँदै बग्ने पवित्र कालीगण्डकी तथा विश्वको सातौ अग्लो धवलागिरी हिमालबाट बग्ने म्याग्दी नदीको पवित्र सङ्गम पनि बेनीबजार हो ।
यही बेनीबजारमा सन् १९९९ मा (२०५६–जेठ १५) १८ देखि ४० वर्ष भित्रका युवाहरुको विधि र पद्धति अनुसार आफ्नो व्यक्तित्व र नेतृत्व विकास गरी समाजमा सकारात्मक परिवर्तन गर्ने उद्देश्यले बागलुङ जेसीजको मातृत्वमा सिनेटर रमेशकुमार श्रेष्ठज्यूको नेतृत्वमा नेपाल जेसीज अन्तर्गत रहने गरी म्याग्दी जेसीजको स्थापना भएको हो । स्थापनाकालदेखि हाल २५ औ वर्षसम्म आइपुग्दा म्याग्दी जेसीज र यहाँ सम्मिलित व्यक्तिहरुले आफ्नो व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक, आर्थिक, राजनीति लगायत समाजको समग्र पक्षहरुको समस्या उजागर गर्दै पर्यटन, शिक्षा, स्वास्थ, खेलकुद तथा उत्पादनमूलक क्षेत्रहरुमा विभिन्न कार्यहरु गर्दै समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा हामीलाई विश्वाससँगै यहाँको समाज साक्षी छ ।
यसै सन्दर्भमा म्याग्दी जेसीजले आफ्नो रजत जयन्तीको अवसरमा नेपाल जेसीजको महत्वपूर्ण कार्यक्रम क्षेत्र ’ख‘ सम्मेलन आतिथ्यता गर्दैछ । उक्त कार्यक्रम मार्फत् जेसीजलाई समुदायसँग जोड्ने र युवाहरु समाजका अभिन्न अङ्ग हुन् भन्ने प्रमाणित गर्न अघिल्लो वर्ष गोरखा जेसीजबाट प्रक्रियागत रुपमा क्षेत्र ‘ख’ आतिथ्य गर्ने जिम्मेवारी पाएको म्याग्दी जेसीजकोे शाखा अध्यक्ष हुन पाउनु आफैंमा गौरवको कुरा हो। यद्यपि उक्त कार्यक्रम गर्दैगर्दा चुनौतिका चाङहरु पनि नभएका होइनन् तर म्याग्दी जेसीजको संस्थापक अध्यक्षज्यू, सम्मेलन निर्देशकज्यू लगायत पूर्व अध्यक्षज्यूहरु, बोर्डका साथीहरू, साधारण सदस्य तथा प्रस्तावित सदस्यहरु, सिङ्गो म्याग्दी जिल्ला, बेनी नगरपालिकासँगै छ वटै स्थानीय निकाय, सम्बन्धित टोल विकास संस्था, विभिन्न धार्मिक तथा जातीय संस्था, आमासमूह तथा क्लबहरु, सुरक्षा निकाय तथा प्रसासनसँगै सबै–सबैको सहयोग, शुभेच्छा, हौसला तथा जिज्ञासाले थप मनोबल र यसलाई अवसरको रुपमा लिने प्रेरणा मिलेको छ ।
आफ्नो स्थापनाकालको छोटो समय २००७ मा नेपाल जेसीजको ऐतिहासिक क्षेत्र ‘ख’ सम्मेलन सम्पन्न गरेको २०१५ मा नेपाल जेसीजको राष्ट्रिय नेतृत्व गर्ने अवसर प्राप्त गरिसकेको म्याग्दी जेसीजले पुनः रजत जयन्तीको अवसरमा उक्त कार्यक्रमको आतिथ्य गर्न पाउनु आफैंमा गौरवको कुरा हो । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर विकास मानन्धरज्यूको प्रकारण एउटै ः परिवार, समूह र लक्ष्यलाई आत्मासाथ गर्दै म्याग्दी जेसीजको यो वर्षको प्रकरण “विधि, व्यक्तित्व र नेतृत्व“लाई पछ्याउँदै शाखाले विभिन्न आन्तरिक कार्यक्रमहरु पनि गर्दै आइरहेको ब्यहोरा जानकारी गराउँदछु ।
अतः म्याग्दी जेसीजको आतिथ्यतामा यही मिति २०८० असोज ४ र ५ गते नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलन हुँदै गर्दा यहाँ उपस्थित हुनुहुने नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लगायत पदाधिकारीज्यूहरु, क्षेत्र ‘ख’ अन्तर्गतका आदरणीय शाखा अध्यक्षज्यू तथा जेसीज सदस्य साथीहरू, पूर्व राष्ट्रिय अध्यक्षज्यूहरु तथा पदाधिकारीज्यूहरु, देशैभरिबाट पर्यवेक्षकको रुपमा आउनुहुने समकालीन शाखा अध्यक्षज्यूहरु तथा जेसीज साथीहरू सबै सबैलाई आतिथ्य शाखा म्याग्दी जेसीज र समग्र म्याग्दी जिल्लाको तर्फबाट हार्दिक स्वागत गर्दछौँ ।
यो अभियानमा उक्त कार्यक्रम उपलब्धिमूलक र स्मरणीय बनाउन क्रियाशील हुनुहुने संस्थापक अध्यक्षज्यू, सम्मेलन निर्देशकज्यू लगायत पूर्व अध्यक्षज्यूहरु, बोर्डका साथीहरू, साधारण तथा प्रस्तावित सदस्यज्यूहरुप्रति शाखा अध्यक्षको तर्फ हार्दिक कृतज्ञता व्यक्त गर्दछु । हामीलाई प्रत्यक्ष÷ अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक र नैतिक सहयोग तथा शुभेच्छा प्रकट गर्नुहुने म्याग्दीस्थित सम्पूर्ण सामाजिक, राजनीतिक, जातीय, धार्मिक संघसंस्था, स्थानीय निकाय, प्रसासन, पत्रकार तथा सुरक्षा निकाय सबै–सबैलाई अन्तर मनदेखि हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।
धन्यवाद ! जय जेसीज !!

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...