चिमखोलामा सार्वजनिक सुनुवाई ‘विकास बजेटमा उपेक्षा भएको स्थानीयबासीको गुनासो’

Gandaki Pardesh notice

म्याग्दी ।
म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा विहिवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रममा आर्थिक बर्ष २०७९÷०८० मा भएका विकास निर्माण, सेवा प्रवाह र सम्पन्न योजना तथा कार्यक्रमहरुको बार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई गरिएको हो ।
कार्यक्रममा सहभागी स्थानीयबासीले गाउँपालिकाको विकास बजेटमा चिमखोलालाई उपेक्षा गरिएको, विगतको तुलनामा गाउँपालिकाले बजेट घटाएर पठाएको, गाउँपालिकाबाट गाउँमा भित्रिएको योजनाहरु समेत कार्यान्वयन नभईकन बजेट फिर्ता भएको भन्दै ध्यानकर्षण गराएका थिए । त्यसैगरि सहभागीहरुले जलविद्यूत आयोजनाहरुबाट निस्कने मकिन र पानीको व्यवस्थापन नहुँदा विपद्को जोखिम बढेको, जलविद्युतको सुरुङ खन्ने क्रममा मलाङ क्षेत्रमा पानीको मुहान सुकेको र घरहरु चर्किएको भन्दै वडा र पालिका मार्फत समस्या समाधानमा जलविद्यूत कम्पनीहरुसंग सहजीकरण गर्न माग गरेका छन् । कार्यक्रममा सहभागी कृषकहरुले फलफुलमा रोगकिराको समस्या बढेको, घाँसका बोट विरुवा माग गरेपनि उपलब्ध नभएको , विउ बिजन उपलब्ध नभएको बताउँदै कृषि उपजहरुको लागि चिस्यानगृह बनाउन माग गरेका छन् ।

Bhautik ministry notice about road


त्यसैगरि पशुहरुमा कृतिम गर्भाधान सेवाको लागि बजेट विनियोजन भएपनि अहिलेसम्म सेवा सूचारु नभएको ,सामुदायिक स्वास्थ्य इकाईमा फर्निचरको अभाब भएको, आमा समूहको भवनमा भाँडाकुडा र लत्ताकपडाको अभाब रहेको सहभागीहरुको गुनासो थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थकबहादुर पाईजाले गाउँपालिकाबाट बजेट विनियोजन हुँदा वडाहरुलाई विगतको तुलनामा कम सिलिङ दिएको कारण बिकास बजेटमा उपेक्षा भएको बताउनुभयो । उहाँले रघुगंगाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट तर्जुमा गरेको र पालिकाको आन्तरिक आम्पादीको स्रोतहरु समेत कम भएकाले विकासतर्फको बजेटको आकार बढ्न नसकेको बताउनुभयो ।
वडा अध्यक्ष पाईजाले जलविद्युत आयोजनाहरुबाट उत्पन्न समस्या समाधानमा निरन्तर ध्यानकर्षण गराउने काम भैरहेको बताउँदै वडाभित्र आउने योजनाहरुको प्रभाबकारी कार्यान्वयनमा जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासी समेत सक्रिय हुनुपर्ने र सकरात्मक साथ दिन आबश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य कुमारी गर्वुजाले सार्वजनिक सुनुवाई कार्यक्रमले जनताका समस्या र गुनासाहरुको पहिचान गर्दै सेवा प्रवाहलाई प्रभाबकारी, विकास निर्माण योजनालाई गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गाउँपालिकाका लेखा अधिकृत खगराज सुवेदीले सार्वजनिक सुनुवाईले जनतालाई सुसुचित गराउने र जनप्रतिनिधि तथा कर्मचारीलाई जिम्मेवारी र कर्तव्यप्रति जिम्मेवार र जवाफदेही बनाउने बताउनुभयो । उहाँले बजेट निर्माण निश्चित मापदण्ड तथा भुगोल, जनसंख्या र विकासको अवस्था लगायतको आधारहरुमा हुने भएकाले गाउँपालिकाले कुनैपनि निश्चित क्षेत्रलाई उपेक्षा गरेर बजेट विनियोजन नगरेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका जिन्सि शाखा प्रमुख दयाराम पौडेलले विपद व्यवस्थापनमा गाउँपालिको वडा र जिल्ला विपद् व्यवस्थापन समितिसंग आबश्यक सहकार्य गरेको बताउँदै स्वास्थ्य इकाईको भवनमा फर्निचर व्यवस्थापनमा पालिकाले आबश्यक तयारी गरेको जानकारी दिनुभयो । कार्यक्रममा वडाका कृषि शाखा प्रमुख पुष्पा शर्मा, पशु सेवा शाखा प्रमुख सन्दिप दर्जीले किसान र कृषकहरुले उठाएका प्रश्न र जिज्ञासाहरुको जवाफ दिनुभएको थियो । कार्यक्रममा वडा सचिब सुमन बुढाथोकीले गत आर्थिक बर्षमा वडाबाट सम्पादन भएका गतिविधि, विकास निर्माण योजना, सेवा प्रवाहको अवस्था लगायतको बारेमा प्रगति विवरण पेश गर्नुभएको थियो । उहाँका अनुसार, वडा कार्यालयले गत आवमा कुल ९७३ वटा सिफारिस, ११४ वटा व्यक्तिगत घटनाहरु दर्ता, रु ५ लाख ६१ हजार ३ सय राजश्व संकलन गरेको छ ।
कार्यक्रममा वडाका कृषि शाखा र पशु सेवा शाखाका गतिविधिको साथै विद्यालयहरुको विवरण समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा अमर माविका प्रअ पृथबहादुर थापा, सिद्ध आधारभुतका प्रअ सविन थापा, चिमखोला आधारभुतका प्रअ लमायाँ पुन, स्वास्थ्य चौकीका सारदा थापा लगायतले गत बर्ष भएका उपलब्धी तथा प्रगतीको विवरण पेश गर्नुभएको थियो । वडा अध्यक्ष पाईजाको अध्यक्षता, वडा सदस्य चेटन थापाको सञ्चालन तथा पत्रकार कमल खत्रीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाका इन्जिनियर सुदिप गौतम, योजना शाखाका योगेन्द्र बानियाँ लगायतको समेत सहभागीता रहेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...