गाउँमा बनेका पूर्वाधारको उपभोग गर्ने मानिस घट्दै जानु चिन्ताको विषय – मन्त्री जुग्जाली

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

स्वाँत, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बसाईसराई ग्रामिण विकासको मुख्य चुनौतिको रुपमा रहेको बताउनु भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा न्यु स्टार युवा क्लवले जनै पूर्णिमा पर्वको अवसरमा आयोजना गरेको खेलकुद प्रतियोगिताको शुक्रबार उद्घाटन गर्नुहुदै मन्त्री जुग्जालीले युवा पुस्ता विदेशीने र गाउँका मानिस सहर बस्ने बढ्दो क्रम विकासको लागि प्रमुख चुनौति भएको बताउनुभयो ।

“गाउँगाउँमा बाटो पुगेको छ, स्वास्थ्य चौकी, विद्यालयका ठुला ठूला भवन, घरघरमा खानेपानी, बिजुली पुगेको छ तर त्यसको उपभोग गर्ने मान्छे घट्दै जानु चिन्ताको विषय हो,” उहाँले भन्नुभयो “अब दुई चार घर भएको ठाउँमा बाटो लानेकी बाटो भएको ठाउँमा बस्तीलाई केन्द्रित गर्ने भन्ने बहस हुनु जरुरी छ ।”

Shreekrishna

विकसित देशमा जस्तै नेपालमा पनि एकिकृत विकासको अवधारणा लागू गर्दा राज्यले कम लगानीमा पूर्वाधार बनाउन सक्ने र नागरिकले सुविधा पाउने मन्त्री जुग्जालीको भनाई थियो । “पहिले विदेश जानेले रेमिटेन्स पठाउथे, जग्गा, घडेरी जोड्दथे, अहिले ४०÷५० लाख खर्चेर विदेश गएकाहरु फर्कने नफर्कने ठेगान छैन,” जुग्जालीले भन्नुभयो “यही स्वरोजगार बनाएर विदेश जानुपर्ने अवस्था आउन नदिने र गएकाहरु पुजि, प्रविधि र सिप लिएर आउने वातावरण बनाउन आवश्यक छ ।”

मन्त्री जुग्जालीले प्रदेश र संघीय सरकार पूर्वाधार तथा स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनको क्षेत्रमा लगानी गरेर गाउँमै स्वरोजगार बन्ने, आयआर्जन गर्ने, राम्रो शिक्षा र स्वास्थ्य सुविधा पाउने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकामा कृषि र पर्यटन मार्फत रोजगारी र आयआर्जनको अवसर सिर्जना गर्ने योजना तथा कार्यक्रममा जोड दिने मन्त्री जुग्जालीले बताउनुभयो । प्रदेश सरकार मार्फत आलु र किवि खेतीको कार्यक्रम सञ्चालन हुन लागेको जानकारी गराउदै घोडेपानी, मोहरेडाडा, खोपारा, अन्नपूर्ण आधार शिविर, भुरुङ तातोपानी लगायत पर्यटकीय स्थलको निरन्तरताका साथै संस्कृतिलाई पनि पर्यटक भित्र्याउने माध्यम बनाउन सकिने उहाँको भनाई थियो ।

घोडेपानी र खोप्रालाई जोड्ने पदमार्गले समेटिएको स्वांत गाउँलाई कृषि पर्यटन गाउँका रुपमा समेत विकास गर्न सकिने उहाँको भनाई छ । ‘‘पर्यटनमा यो गाउँ विस्तारै अगाडी बढ्दै छ, होटलहरु पनि खुल्न थालेका रहेछन्, अब कृषि र उद्यमशिलतालाई पनि जोड्नुपर्छ, सिंगो गाउँलाई नै पर्यटनमा जोड्न सके गाउँमै स्वरोजगार सिर्जना हुनुको साथै रोजगारका अवसर सिर्जना हुनेछन्’’–मन्त्री जुग्जालीले भन्नुभयो ।

उहाँले स्वाँतका स्थानीयबासीको मौलिक कला र संस्कृति समेत पर्यटन विकासको थप आधार रहेको बताउनुभयो । उहाँले स्वाँत गाउँको सडक स्तरोन्नती तथा स्वाँतखोला पुलको पहिरो रोकथाममा आबश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

मन्त्री जुग्जालीले कास्कीको बिरेठाँटी र म्याग्दीको घोडपानीलाई सडक सञ्जालले जोड्ने योजनालाई समेत प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले पोखरेबगर–घार–चित्रे सडक अन्तरगत पोखरेबगरदेखि माथिको घुम्तीमा पहिरोले सडक भत्काएर जोखिम बढाएको ठाउँमा मर्मत गरि सुरक्षित सडक बनाउन सम्बन्धित निर्माण व्यवसायि र कार्यालयसंग समन्वय गर्ने बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारीले गण्डकी प्रदेश सरकार मार्फत सडक स्तरोन्नती, खानेपानीको पहुच विस्तार, पर्यटन पूर्वाधार लगायतको क्षेत्रमा प्राथमिकताका साथ बजेट भित्र्याउने काम भैरहेको बताउनुभयो । यसअघिका बर्षको तुलनामा यसपाली प्रदेश सरकारबाट म्याग्दीमा बजेट बढी आएको र त्यसको कार्यान्वयन भएमा जनतामा विकासप्रति भरोसा बढ्ने बताउनुभयो ।

उहाँले अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ को स्वाँत फलाटे सडक निर्माणका लागि गत वर्ष रु. ३५ लाख बिनियोजन गरेको उहाँले बताउनुुभयो । चालु आर्थिक वर्षमा पोखरेबगर पाउद्धार किन्दु स्वाँत सडकलाई रु. असी लाख, शिखमा आवासीय विद्यालयको पूर्वाधारका लागि रु. पचास लाख, तल्लो र उपल्लो गाउँको खानेपानीका लागि रु. दश÷दश लाख, खोपारामा पर्यटन पूर्वाधारका लागि रु. बीस लाख बिनियोजन भएको सांसद भण्डारीले बताउनुुभयो ।

शिख माविको होस्टल व्यवस्थापन गर्न रु. आठ लाख बिनियोजन भएको उहाँले बताउनुुभयो । उक्त अवसरमा स्वाँत गाउँको रिङरोड सडक, कृषि भवन, क्लब भवन र मोटरेवल पुलको समेत उद्घाटन गरिएको थियो भने विविध साँस्कृतिक कार्यक्रम गरिएको थियो ।

टेकबहादुर तिलिजा पुनको अध्यक्षता, सुजन तिलिजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्थानीय बागबिर पाईजा, बलबहादुर तिलिजाले स्वाँतका समस्याको बारेमा मन्त्री जुग्जाली र सांसद भण्डारीको ध्यानाकर्षण गराउनुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...