ज्योती मण्डल माविको भवन पहिरोको जोखिममा

Gandaki Pardesh notice

बाँसखर्क, । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा रहेको ज्योती मण्डल माविको भवन पहिरोको जोखिममा परेको छ ।

चार÷चार कोठे तीन वटा भवनको अगाडीको भाग भत्किएपछि जोखिम बढेको हो । भवनको डिलतर्फको भागमा निर्माण गरिएको सुख्खा र ग्यावीयन पर्खाल हालैको बर्षातका कारण भत्किएको प्रअ मेखबहादुर खत्रीले बताउनुभयो ।

गत वर्ष मात्र त्यहाँ जग्गा व्यवस्थापन गरि तीन वटा नयाँ भवन र शौचालय बनाएर विद्यालय स्थानान्तरण गरिएको थियो । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा ११० जना भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

Shreekrishna hardwear in news

पहिरोका कारण विद्यालय भवन पनि भत्कने र थप क्षति हुने जोखिम छ । विद्यार्थीहरु पहिरोमा खसेर चोट पटक लाग्ने जोखिम देखिएको छ । प्रअ खत्रीले पर्याप्त आर्थिक स्रोत नभएको र न्युन बजेटमा बनाएको पर्खाल पनि भत्किएर समस्या भएको बताउनुभयो ।

यसैबीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले जोखिममा रहेको ज्योती मण्डल माविको भवन, बाढीले पुरिएको जलजला गाउँपालिका २ को बराह ताल र जोखिममा रहेको मुलघडेरीको निरिक्षण गर्नुभएको छ ।

मन्त्री जुग्जालीले तत्कालीन रुपमा थप क्षति हुन नदिन पहिरोमा पानी छिर्न नदिन पाल राख्न र हिउँदमा पर्खाल पुन निर्माणका लागि अन्तर मन्त्रालय समन्वय गरेर बजेट व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो ।

जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले पहिरोले भत्काएको पर्खालमाथी राख्ने पाल गाउँपालिकाले उपलब्ध गराउने र दिर्घकालिन समाधानका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने बताउनुभयो ।

Bhautik ministry notice about road

जलजला गाउँपालिका वडा नम्बर ५ कुवापानीको पहाडबाट खसेको पहिरोले पाँच वटा बस्ती जोखिममा परेको छ । पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि सयौँ रोपनी खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै छ घरपरिवार विस्थापित भएका छन् ।

पाँच वटा बस्तीका एक सय भन्दा बढी घर जोखिममा परेका छन् । असार ११ गते राती कुवापानीको चिहानडाडा (सेतोपहाड)बाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढेको हो ।

मुलघडेरीका पदमबहादुर कार्की, रेशमबहादुर कार्की, नगेन्द कार्की, रजिन मगर, अमिर मगर र डम्मरबहादुर खत्रीका परिवार पहिरोका कारण विस्थापित भएका हुन् । उनिहरु पूर्णगाउँको नवजागरण आमा समूहको भवनमा आश्रय लिएर बसेका छन् ।

पहिरोले जलजला– २ को मुलघडेरी, पूर्णगाउँ, नेपाने, टमिलाखर्क, गौरेटो हुँदै कालीगण्डकी किनारमा रहेको म्याग्दीको गलेश्वर सम्म जोखिम बनाएको छ । मुलघडेरीमा करिब ७० रोपनी खेत र बारी पहिरोको लेदोले पुरिएर क्षति पुगेको छ । लेदोले पुरिएपछि यसपालि धान र कोदो रोपाई पाएका छैनन् । खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था आएको छ ।

मुलघडेरीका बासिन्दा र बराहताल संरक्षण समितिका पदाधीकारीले निरिक्षणमा जानुभएका मन्त्री जुग्जाली मार्फत पहिरोबाट विस्थापितको व्यवस्थापन र तालको संरक्षणका लागि सहयोग गर्न प्रदेश सरकारसँग माग गर्नुभएको थियो ।

मन्त्री जुग्जालीले तीनै तहको सरकारले समन्वय गरेर पहिरोबाट क्षत्ति भएका घरको पुननिर्माण गरिने, क्षति भएको खेतियोग्य जमिन र बालीको क्षतिपुर्ति उपलब्ध गराउन पालिकाबाट सिफारिस पठाउन अनुरोध गर्नुभयो ।

उहाँले बराह ताल र सँगै रहेका मन्दिरमा थुप्रिएको बाढी पन्छाउने तथा ताल संरक्षणमा सम्बद्ध मन्त्रालयसँग समन्वय गर्ने बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष आचार्यले स्थानीय तहको स्रोतले भ्याए सम्मको काम गर्ने र थप स्रोत तथा योजनाका लागि प्रदेश तथा संघीय सरकारसँग पहल गरिरहेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...