म्याग्दीका एक हजार दुई सय घरधुरीमा विद्युत विस्तार

Gandaki Pardesh notice

बेनी, म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा एक हजार दुई सय भन्दा बढी घरधुरीमा केन्द्रिय प्रशारण लाइनको विद्युत सुविधा बिस्तार भएको छ ।

नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले आर्थिक वर्ष २०७९÷८० मा जिल्लाका विभिन्न ठाउँमा एक हजार २३८ उपभोक्ता थपिएका जनाएको छ । केन्द्रका प्रमुख प्रशान्त कुमार झाले थप १९.७ किलोमिटर ११ केभी र ४००÷२०० भोल्टेजको ५६.६५ किलोमिटर शाखा लाइन विस्तार गरेर बिद्युत वितरण गरेको जानकारी दिनुभयो ।

“मालिका गाउँपालिकाको रुम, बिलवाङ, औल, मगरदाङ, ढुकुरवाङ, खटेन, डाडागाउँ, किटिनी, लुप्सीपार, रघुगंगाको दग्नाम, दुवारी, चौरखानी, घ्याँसीखर्क, धवलागिरीको राम्चे, घण्टीवाङ, अर्गला, आरवाङ लगायतका वस्तीमा नयाँ लाइन विस्तार भएको हो,” उहाँले भन्नुभयो “९ वटा नयाँ ट्रान्सफर्मर जडान, चार वटा ट्रान्सफर्मरको क्षमता वृद्धि, १४.२ किलोमिटर नांगो तार हटाएर कालो तार राखिएको, ३५ वटा काठ र ८१ वटा जिर्ण पोल फेरिएको छ ।”

Shreekrishna hardwear in news

उज्यालोका लागि सोलार, मट्टितेलको टुकी, दियालो र सिट्ठामा निर्भर स्थानीयबासीमा विजुली बलेपछि खुसीयाली छाएको छ । घरायसी काम, बिद्यार्थीलाई अध्ययन गर्न सहज हुनुका साथै उद्यम ब्यवसाय सञ्चालन गर्ने अवसर सिर्जना भएको छ ।

यस वर्ष थपिएका सहित म्याग्दी बितरण केन्द्र अन्तरगत २१ हजार ८०९ विद्युतका ग्रहाक पुगेका छन् । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा ७७० घरधुरीमा नयाँ लाईन जडान हुँदा २० हजार ५०५ जना उपभोक्ता थिए ।

Bhautik ministry notice about road

पर्वतको जलजला गाउँपालिकाको मल्लाज, वारीबेनी क्षेत्रमा पनि म्याग्दी बितरण केन्द्र अन्तरगतको मिलनचोक सबस्टेशन मार्फत बिद्युत बितरण हुदै आएको छ । गत वर्ष म्याग्दी वितरण केन्द्रमा नयाँ लाइन विस्तार र पुरानो लाइनको क्षमता विस्तारका लागि १२ वटा योजना सञ्चालन भएको थियो ।

यो आर्थिक वर्षमा मालिका, धवलागिरि, रघुगंगा गाउँपालिकाका केन्द्रिय लाइनको विद्युत नपुगेका बस्तीका विद्युत विस्तारका लागि रु. २० करोड भन्दा बढी बजेट बिनियोजन भएको छ । गत आर्थिक वर्षमा म्याग्दी वितरण केन्द्र मार्फत एक करोड ७६ लाख ५२ हजार ९८५ युनिट विद्युत भएको भएको छ । रु. २० करोड ७८ लाख ६६ हजार ६५३ महशुल संकलन भएको केन्द्रका लेखापाल श्याम रानाले बताउनुभयो ।

गत वर्ष समयमा महशुल नबुझाउने ३७८ जना उपभोक्ताको लाइन काटेर रु. ५४ लाख १५ हजार ४०२ वक्यौता असुल गरिएको छ । अघिल्लो आव २०७८÷७९ मा ३६८ जना उपभोक्ताको लाइन काटेर रु. ४६ लाख ८३ हजार २७३.७३ बक्यौता असुल भएको थियो । ६० दिनसम्म महशुल नतिर्नेको लाइन काट्ने र छ महिना सम्म महशुल नबुझाउनेलाई कालोसुचिमा राखिने प्राधिकरणले जनाएको छ ।

“विद्युत विस्तारसँगै आपुर्तिलाई गुणस्तरीय र नियमित बनाउन नयाँ विस्तार हुने मुख्य, शाखा र वितरण लाइनको तार कालो राख्न थालिएको छ,” केन्द्रका प्रमुख झाले भन्नुभयो “चुहावट नियन्त्रण गर्न मिटरबक्सको अनुगमन गरि रिसिलिङ गर्ने अभियान चलाएका छौ ।”

अनलाइनबाट महशुल भुक्तानी गर्न, फोन मार्फत र सामाजिक सञ्जाल मार्फत मिटर रिडिङ गर्ने सुविधा दिएको केन्द्रले जनाएको छ । ग्रामिण क्षेत्रका उपभोक्ताले घरमा नआई अनुमानको भरमा मिटर रिडिङ गरिदाँ कुनै समय कम र कुनै महिना अस्वभाविक महशुलको बिल आउने गरेको गुनासो गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...