गलेश्वरमा साउन महिनामा रु. नौ लाख बढी भेटि संकलन

Shreekrishna hardware

बेनी,। म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको पवित्र धार्मिक एवम् तीर्थस्थल गलेश्वरमा साउन महिनामा रु. नौ लाख भन्दा बढी भेटि संकलन गरिएको छ ।

साउन महिनाको सोमबारका दिन गलेश्वर मन्दिरमा पुजाआजा र दर्शन गर्न आएका भक्तजनहरुबाट रु. नौ लाख २७ हजार २३ भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका सदस्य सचिव बलबहादुर खत्रीले साउनको अन्तिम सोमबार भक्तजनले चढाएको रु. एक लाख ७८ हजार ४९० भेटि मंगलबार बिहान गनेर सार्वजनिक गरिएको जानकारी दिनुभयो । यस वर्ष साउन महिनामा पाँच वटा सोमबार परेको थियो ।

Shreekrishna

पहिलो सोमबार रु. तीन लाख ६५ हजार ६४५, दोस्रो सोमबार रु. ९६ हजार १४१, तेस्रो सोमबार रु. एक लाख ४१ हजार ९५६ र चौथो सोमबार रु. एक लाख ४४ हजार ७९१ भेटि संकलन भएको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

गलेश्वरमा भक्तजनले चढाउने भेटि पुजा व्यवस्थापन, पूर्वाधार निर्माण, जेष्ठ नागरिक आश्रम, संस्कृति विद्यालय सञ्चालनमा परिचालन हुने गरेको छ । कोषले मेलाको भोलीपल्टनै र अन्य समयमा मासिक रुपमा भेटि गनेर सार्वजनिक गर्दै आएको छ ।

साउन महिनाको सोमबार लाग्ने मेलामा करिब ८० हजार जना भक्तजनले दर्शन र पुजाआजा गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको गलेश्वरमा हरेक वर्षको साउन महिनाको सोमबारका दिन मेला लाग्ने गर्छ ।

यस वर्ष साउनमा पाँच सोमबार परे पनि साउन २ गतेबाट मलमास सुरु भएको थियो । मलमासमा धार्मिक कार्य गर्न नहुने बुझाई, खेतीबाली लगाउने समय, प्रतिकुल मौसमका कारण दोस्रो, तेस्रो र चौथो सोमबार कम भक्तजन आएपनि पहिलो र पाँचौ सोमबार उल्लेख्य मात्रामा भक्तजन आएका कोषका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

गलेश्वरमा दर्शन र पुजाआजा गरेमा पारिवारिक सुःख, सम्बृद्धि र चाहेको पुरा हुने धार्मिक मान्यता छ । म्याग्दीका साथै पर्वत, बागलुङ, कास्कीका साथै भारतबाट पनि भक्तजन आएका छन् ।
गलेश्वर शिवालय मन्दिरको दर्शन र पुजाआजा, शिवलिङ्गमा बेलपत्र चढाउने र जल अर्पण गर्ने, कालीगण्डकी नदीमा स्नान गर्ने गरिन्छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थ स्थल मुक्तिनाथको प्रवेशद्धार गलेश्वर पश्चिमको पशुपति नाथको रुपमा चिनिन्छ ।

मेला र पुजाआजालाई सुरक्षित र ब्यवस्थित रुपमा सम्पन्न गराउन स्थानीय प्रशासन, सुरक्षा निकाय, नगरपालिका, क्लब, आमा समूह लगायत सामाजिक र धार्मिक संघ संस्थाले स्वमसेवक परिचालन गरेका थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...