बेनी, । बेनीमा गत पुष २८ देखि माघ ७ गतेसम्म सञ्चालन भएको सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को आम्दानी खर्चको विवरण सार्वजनिक भएको छ ।
महोत्सवको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य संघले मंगलबार बेनीमा पत्रकार सम्मेलन गरेर दश दिनसम्म सञ्चालन भएको महोत्सवको आम्दानी खर्च विवरण सार्वजनिक गरेको हो ।
संघका अध्यक्ष बेलबहादुर कटुवालले महोत्सवबाट रु. ८५ लाख आम्दानी, रु. ७० लाख खर्च र रु. १५ लाख बचत भएको जानकारी गराउनुभयो । बचत भएको रकम मध्य रु. १० लाख संघले स्थापना गरेको उद्योगी ब्यवसायी हित कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दी, कालीपुल बसपार्क व्यवस्थापन समिति, म्याग्दी बालगृह र नविन आनन्द योग केन्द्रलाई रु. ३५÷३५ हजार सहयोग गर्ने उद्योग वाणिज्य संघले जनाएको छ । पत्रकार महासंघको सहयोग रकम कार्यक्रममा शाखा अध्यक्ष प्रकाश पौडेललाई हस्तान्तरण गरिएको थियो ।
“हामीलाई प्राप्त भएको रकम मात्र आम्दानीमा उल्लेख गरेका छौ,” अध्यक्ष कटुवालले भन्नुभयो “घोषणा गरेका दाताबाट थप सहयोग प्राप्त भयो भने पनि सार्वजनिक गर्छौ ।” घोषणा भएको रकम प्राप्त हुन ढिलाई भएकाले सार्वजनिक गर्न केही समय लागेको बताउँदै अध्यक्ष कटुवालले आम्दानीको राज्यलाई कर समेत तिरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष समेत रहनुभएका बेनी नगरपालिका ८ का वडा अध्यक्ष उत्तम कर्माचार्यले निजी क्षेत्र र नगरपालिकाको साझेदारीमा म्याग्दीको पर्यटन प्रर्वद्धनका लागि पहल भएको बताउनुभयो । पछैमा रावण पार्क निर्माणलाई पूर्णता दिने र बेनीमा पर्यटक भुलाउने उपाय खोजेको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य कुविर श्रेष्ठले म्याग्दीको स्लेट, खरि खानी सञ्चालनका लागि जनप्रतिनिधिको तहबाट पहल गर्नुपर्ने बताउनुभयो । सिथिल बनेको ब्यापार व्यवसायलाई चलायमान बनाउनुपर्ने म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठको भनाई थियो । महोत्सवले म्याग्दीको सम्भावना उजागर गराउन सफल भएको आयोजकले जनाएका छन् ।
महोत्सवको अवसरमा पालिका स्तरीय महिला÷पुरुष भलिबल, लोक दोहोरी, चेम्बर लोकतारा, पुरुष बास्केटबल, लठो तान्ने, रत्यौली, पुरख्यौली, छेलो फाल्ने, अन्धनिशान प्रतियोगिता आयोजना गरिएको थियो ।
विभिन्न जातजातीका झाँकी, स्थानीय उत्पादन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीको साथै कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, बाल उद्यान, रमाइलो मेला, कालीगण्डकीमा ¥याफ्टिङ सञ्चालन भएको थियो ।
