हलेगौडाको बस्ती पहिरोको उच्च जोखिममा (भिडियो र तस्बिर सहित)

Beni Sanjibani

भकिम्लीमा तीन महिनादेखि सडक सम्पर्क बिच्छेद
हलेगौडा । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हलेगौडा गाउँ पहिरोको उच्च जोखिममा परेको छ ।

हलेगौडा स्थित काठेपिपलबाट सुरु भएको पहिरो बस्तीको नजिकै पुगेपछि जोखिममा परेको हो । भिरालो पाखो चिरा–चिरा परेर गत असार अन्तिम सातादेखि सुरु भएको पहिरो खस्ने क्रम अझै नरोकिएको वडा सदस्य गेमप्रसाद घर्तीमगरले बताउनुभयो ।

‘‘करिब डेढ किलोमिटर दुरीको लम्बाई र एक किलोमिटर दुरीको चौडाइको पाखो छिया छिया भएको छ,’’ उहाले भन्नुभयो ‘‘गाउँको नजिकै आइपुगेको पहिरोले घरको पर्खाल चर्किन थालेपछि हलेगौडाका सात परिवार बिस्थापित भएका छन् ।’’

Mangala Health notice about Je

हलेगौडाका ३१ घर पहिरोको उच्च जोखिममा परेका छन्् । रनबहादुर घर्ती, नरबहादुर घर्ती, रनबहादुर रोका, तिलबहादुर घर्ती, खिममाया रोका, नरदेवी रोका, सोचेन्द्र रोका, गंगबहादुर रोका, कर्णबहादुर रोका र चन्द्रबहादुर रोकाको परिवार बिस्थापित भएका छन् ।

रात परेपछि छिमेकीकहाँ गएर सुत्ने गरेको बिस्थापित सोचिन्द्र रोकाले बताउनुभयो । ‘दिनमा दश÷पन्ध्र सेन्टिमिटरका दरले जमिन तल तल बगिरहेको छ,’’ उहाले भन्नुभयो ‘‘एउटै बारीको पाटा तल र माथि भएका छन् ।’’

नरबहादुर रोकाको कुखुरा फर्म भत्किएको छ । तीन जना कृषकको ३०० रोपनी सुन्तला बगैचा पहिरोमा बगेको छ । बेनी देखि दूधेखोला–हलेगौडा–डाडाखानी हुदै भकिम्ली जोड्ने १०० मिटर ढलान गरेको सहित डेढ किलोमिटर सडक पहिरोसँगै बगेको छ ।

Beni nagarpalika ko janahit ma jari notice

७३५ घरधुरीको बसोबास रहेको भकिम्लीको सिंगो वडा तीन महिनादेखि सदरमुकाम बेनीसँग यातायात सम्पर्क बिच्छेद भएको स्थानीय होमबहादुर रोकाले बताउनुभयो । आवत जावतका साथै विकास आयोजनाका लागि निर्माण सामग्री ढुवानी र पशु तथा कृषि उपज निकासी गर्न सास्ति भएको छ ।

भकिम्ली जोड्ने ५ वटा मध्य हलेगौडाको सडक सबैभन्दा छोटो र सजिलो थियो । हाल चालू रहेको एउटा मात्रै थामडाडा–मरेक–छेपारे–मुसुङ–भकिम्ली सडकमा नियमित गाडी चल्दैन् । पहिले भकिम्लीबाट बेनी आउन तीस मिनेट समय लाग्थ्यो । सडक घुमाउरो भएकाले आवत जावतका लागि पैदलयात्रा गर्ने गरेको स्थानीय तिलाराम थापाले बताउनुभयो ।

मरेकको सडकमा ढुवानीका लागि ट्याक्टर मात्र मुस्किलले चल्छ । पहिलेको तुलनामा दोब्बर बढी ढुवानी खर्च लागेको डाडाखानीका धनबहादुर श्रीसले बताउनुभयो । घुमाउरो र जोखिमयुक्त भएकाले स्थानीयबासी यातायात सुबिधाबाट बञ्चित भएका छन् ।

हेलगौडाको पहिरोले भकिम्लीको समग्र बिकासलाई अबरोध गरेको वडा अध्यक्ष पदम पुन बताउनुहुन्छ । ‘‘यो पहिरोले हाम्रो बिकासको गतिलाई ब्रेक लगाएको छ,’’ उहाले भन्नुभयो ‘‘बस्तीलाई जोखिममा पारेर पहिरोमै फेरी सडक बनाउन सम्भव नभएकाले विकल्पको अध्ययन सुरु गरेका छौ ।’’

भिरालो पाखोमा खनिएको सडकको भल ब्यवस्थापन नभएका कारण हलेगौडामा नयाँ पहिरो सिर्जना भएको स्थानीयको भनाई छ । पहिरो खसेर मिसिने ढुधेखोलामा आउने बाढीले कोप्रे र दूधेखोलाको बस्तिलाई समेत जोखिम बनाएको छ ।

भकिम्लीलाई यातायात सञ्जालमा जोड्न बैकल्पिक सडकको पहिचानका साथै जोखिममा परेको हलेगौडाको बस्तीमा थप क्षति हुन नदिन तत्कालै संरक्षणको काम गर्नुपर्ने वडा अध्यक्ष पुन बताउछन् ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...