गण्डकीका यातायात कार्यालयबाट रु. तीन अर्ब भन्दा बढी राजस्व संकलन

Gandaki Pardesh notice

सन्तोष गौतम
पोखरा, । गण्डकी प्रदेशमा रहेका यातायात कार्यालयहरुले गत आर्थिक वर्ष २०७९÷८० मा रु. तीन अरब भन्दा बढी राजस्व संकलन गरेका छन् ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा मन्त्रालय मातहत रहेका यातायात कार्यालयका प्रमुखहरुले गत आर्थिक वर्षको तुलनामा ३० प्रतिशत बढी राजस्व संकलन गरेको तथ्याङ्क प्रस्तुत गरेका हुन् ।

बाग्लुङ, डुम्रे र नवलपुरमा एक÷एक र कास्कीमा दुई वटा यातायात कार्यालय, गोरखा, लमजुङ र स्याङ्जामा यातायात सेवा कार्यालयले गत आर्थिक वर्षमा कुल रु. तीन अरब १७ करोड राजस्व संकलन गरेका हुन् ।

Shreekrishna hardwear in news

सवारी चालक अनुमतिपत्र जारी, नविकरण, सवारी साधन दर्ता, नविकरण र जरिवाना लगायतका शिर्षकमा राजस्व संकलन भएको हो । आर्थिक वर्ष २०७८÷७९ मा रु. दुई अरब २४ करोड राजस्व संकलन गरेका थिए । अघिल्लो वर्षको तुलनामा रु. ९३ करोड बढी राजस्व संकलन गरेका हुन् ।

सबैभन्दा बढी रु. दुई अरब पाँच करोड ६० लाख ४८ हजार २६४ राजस्व संकलन गरेको यातायात कार्यालय पोखरा (सवारी)का प्रमुख डिल्लीराम रिजालले करको दरमा भएको वृद्धि र सहज रुपमा कर तिर्ने व्यवस्था मिलाइएकाले राजस्व संकलन बढेको बताउनुभयो ।

“सवारी साधन दर्ता र नविकरण सम्बन्धी सेवा दिने हाम्रो कार्यालयमा फाइललाई डिजिटलाइजेशन गरेर लाइन बस्न र बिचौलियाको सहयोग लिन नपर्ने बनाएपछि सेवाग्राहीको चापसँगै राजस्व पनि बढेको छ,” उहाँले भन्नुभयो “सहज, छिटो हुने भएकाले अन्य प्रदेशमा दर्ता भएका सवारी साधनका धनी पनि नविकरण गर्न हामीकहाँ आउदाँ राजस्व बढेको हो ।”

सो कार्यालयबाट आर्थिक वर्ष २०७८÷७९ मा रु. एक अरब ३५ करोड आठ लाख पाँच हजार २८ राजस्व संकलन भएको थियो । यसैगरी यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) कास्कीले रु. २४ करोड ३९ लाख ९३ हजार ८०४ राजस्व संकलन गरेको छ ।

“अघिल्लो वर्ष रु. २० करोड १४ लाख ४२ हजार राजस्व संकलन भएकोमा यस वर्ष २१.१२ प्रतिशतले बढेको छ,” उहाँले भन्नुभयो “सेवाग्राहीको अत्याधिक चाप र भिड हुने भएकाले बिहान ८ बजेदेखिनै सवारी चालक अनुमतिपत्रको ट्रायल परिक्षा सञ्चालन गर्न र सवारी चालक अनुमतिपत्रको राजस्व अनलाईन मार्फत बुझाउने व्यवस्था मिलाइएको छ ।”

अघिल्लो वर्षको तुलनामा करिब रु. चार करोड बढी रु. १९ करोड १४ लाख पाँच हजार ९७० राजस्व संकलन गरेको यातायात व्यवस्था कार्यालय बाग्लुङका प्रमुख पारसिंङ थापाले ठूला सवारी साधनको सवारी चालक अनुमतिपत्रको लागि बाग्लुङमै ट्रायल सञ्चालन गर्ने तयारी भएको बताउनुभयो ।

यातायात कार्यालय नवलपुरले अघिल्लो वर्षको तुलनामा करिब पाँच करोड भन्दा बढी राजस्व संकलन गरेको छ । नवलपुरबाट रु. ३१ करोड ६६ लाख ४८ हजार ०४५ राजस्व संकलन भएको कार्यालय प्रमुख टेकबहादुर केसीले बताउनुभयो । यातायात कार्यालय डुम्रेका प्रमुख कुशल सुवेदीले रु. १८ करोड ७५ लाख ६४ हजार ७१७ राजस्व संकलन भएको बताउनुभयो । सो कार्यालयले गत वर्ष रु. १३ करोड ८४ लाख २१ हजार ३५६ राजस्व संकलन गरेको थियो ।

Bhautik ministry notice about road

अघिल्लो वर्ष रु. छ करोड २४ लाख दश हजार ५३ राजस्व संकलन गरेको यातायात शाखा लमजुङले यसपाली रु. चार करोड १६ लाख ६६ हजार १९७ संकलन गरेको छ । यातायात शाखा स्याङ्जाले रु. नौ करोड १९ लाख र गोरखाले रु. तीन करोड ९१ लाख ७७ हजार राजस्व संकलन गरेको छ ।

दरबन्दी अनुसारका कर्मचारीको अभाव, करारका कर्मचारीको भरमा कार्यालय सञ्चालन गर्नुपर्ने, संघीय सरकार मातहतको सर्वरमा पटक पटक आइरहने समस्याका कारणले सेवाप्रवाहमा चुनौति रहेको यातायात कार्यालय डुम्रेका प्रमुख कुशल सुवेदीले बताउनुभयो ।

“दरबन्दीका कर्मचारी नभएकाले कार्यालय सहयोगीलाई राजस्व संकलनको जिम्मा दिनुपरेको छ,” उहाँले भन्नुभयो “ट्रायल, लिखित परिक्षा र कार्यालयको कामकाज सञ्चालन गर्न समस्या भएको छ ।” यातायात शाखा स्याङ्जाका प्रमुख दोर्णप्रसाद पनेरुले जिल्ला बाहिर जाँदा सहयोगीलाई कार्यालयको जिम्मा लगाउनुपरेको बताउनुभयो ।

यातायात कार्यालय नवलपुरका प्रमुख टेकबहादुर जिसीले १८ जनाको दरबन्दी भएकोमा ६ जना मात्र स्थायी भएको र कर्मचारी अभावका कारण सवारी साधनको अनुगमन गर्न समस्या भएको बताउनुभयो । पूर्वाधार र जनशक्ति अभावमा सवारी साधनको प्रदुषण जाँच न्युन मात्रामा भएको यातायात कार्यालय कास्की सवारीका प्रमुख डिल्लीराम रिजालको भनाई छ ।

समिक्षा कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले प्रदेशको आन्तरिक आम्दानीमा ६६ प्रतिशत योगदान गर्ने यातायात कार्यालयलाई प्रविधिमैत्री, स्रोत साधन सम्पन्न बनाएर छिटो, छरितो सेवा प्रवाह गर्ने वातावरण बनाउन प्राथमिकता दिएको बताउनुभयो ।

“नेपालमै पहिलो पटक यातायात कार्यालय पोखरामा शुरु भएको सवारी चालक अनुमतिपत्र नविकरणको राजस्व अनलाईनबाट भुक्तानी गर्ने र सवारी साधनको फाइललाई डिजिटलाइजेशन गर्ने कार्यलाई अन्य कार्यालयहरुमा पनि विस्तार गर्न बजेट बिनियोजन गरेका छौ,” उहाँले भन्नुभयो “प्रविधिको प्रयोग गरेर यातायात कार्यालयहरुलाई स्मार्ट बनाउन जोड दिएका छौ ।”

अतिरिक्त समयमा काम गर्ने कर्मचारीहरुलाई प्रोत्साहन रकम प्रदान गर्ने, रिक्त दरबन्दिरको पदपुर्ति र तत्कालै करारका जनशक्ति व्यवस्थापन गर्ने जानकारी दिदै मन्त्री जुग्जालीले मन्त्रालयको गतिलाई पक्रेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीराम भट्टराईले सफ्टवयर र सर्वरको समस्याको विषयमा संघीय र प्रदेशका भौतिक मन्त्रालयहरुको समन्वय बैठकको मुद्दा बनाउने बताउनुभयो ।

उहाँले चार वर्षअघि बनेको यातायात नियमावली कार्यान्वयन गर्न कार्यबिधिको मस्यौदा तयार पारेको जानकारी दिदै आर्थिक ऐनको त्रुटीका कारण सवारी साधन नविकरण गर्न सिर्जना भएको समस्या समाधानका लागि अन्तर मन्त्रालय समन्वय गर्ने प्रतिवद्धता जनाउनुभयो ।

मन्त्रालयका महाशाखा प्रमुख टिकाराम पौडेलले प्रविधिको प्रयोग गरेर यातायात कार्यालयको सेवालाई सहज र सुधार गर्न प्राथमिकता दिएको बताउनुभयो । प्रविधिको प्रयोगबाट कम जनशक्ति परिचालन गरेर अधिकतम सेवा प्रवाहको प्रयासमा मन्त्रालय रहेको बताउनुभयो ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले गत आर्थिक वर्षमा गण्डकीमा ३७४ वटा दुर्घटनामा १६८ जनाको ज्यान गएको र सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको जानकारी दिनुभयो । ट्राफिक प्रहरीले गत वर्ष गण्डकीमा एक लाख ९६ हजार ९४४ सवारी साधनलाई कारबाही गर्दा रु. २३ करोड ८५ लाख ३१ हजार राजस्व संकलन भएको सुवेदीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...