मंगला गाउँपालिकाको सार्वजनिक सुनुवाई

Gandaki Pardesh notice

बेनी, । मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० को तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ ।
बाबियाचौर स्थित मंगर संघको सभाहलमा बिहिबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित मंगलाबासीले कृषि र पशुपालनको अनुदान वितरणमा बास्तविक किसानलाई समेट्न आग्रह गरेका हुन् ।
सार्वजनिक सुनुवाईमा उपस्थित नेपाली कांग्रेस मंगला गाउँपालिकाका सभापति नरसिङ खत्रीले कृषि र पशु क्षेत्रमा वितरण गरेको अनुदान बालुवामा पानी हाले जस्तै भएको उल्लेख गर्नुभएको थियो ।
उहाँले अनुदान प्राप्त गरेका किसानले कृषि औजार प्रभावकारी रुपमा प्रयोग गरेर प्रतिफल आउने किसिमले काम गरेका छन वा छैनन् भन्ने विषयमा जनप्रतिनिधि र कर्मचारीले प्रभावकारी अनुगमन बढाउन आग्रह गर्नुभएको थियो ।
उहाँले अनुदान वितरणमा राजनीतिककरण भएको, गाउँपालिकाको केन्द्र समेत रहेको बाबियाँचौर बजारको फोहोर ब्यवस्थापन लामो समयदेखि हुन नसकेको, पालिकाले सार्वजनिक सुनुवाई कार्यक्रममा बार्षिक प्रगति सार्वजनिक नगरेको गुनासो राख्नुभएको थियो ।
कार्यक्रममा उपस्थितले १० शैयाँको अस्पताल निर्माणमा ढिलासुस्ती, विद्यालयस्तरमा गठन भएका बाल क्लवहरुलाई क्रियाशिल बनाउने जनचेतनामूलक कार्यक्रममा ध्यान नदिएको, विद्यालयको शैक्षिक गुणस्तर सुधारमा बेवास्ता गरेको, मापदण्डअनुसार दुईवटा सवारीसाधन आवातजावात गर्ने किसिमले सडकको स्तरोन्नतीमा प्रभावकारी रुपमा मापदण्ड कार्यान्वयन नभएको, पूर्वाधार निर्माणमा गुणस्तरीय सामानहरु प्रयोग भएको छ वा छैन भन्ने विषयमा प्रभावकारी निरिक्षण र अनुगमन नभएको, भवन लगायतको पूर्वाधार क्षेत्रमा सस्तो विद्युतिय सामानहरु प्रयोग भएको उल्लेख गर्दै गाउँपालिकामा इलेक्ट्रोनिक इन्जिनियर राख्न लगायतका गुनासा र सुझाव सहभागिले राख्नुभएको थियो ।
गरिवी निवारण कार्यक्रम अन्तरगत एकल महिलालाई २० दिन पुगेका चल्ला वितरण गर्न, विद्यालय ब्यवस्थापन तथा संचालन खर्च बजेट बढाउन, मासिक रुपमा शिक्षकलाई तलव वितरण गर्न, मंगला शिक्षा क्याम्पसको अलपत्र छात्राबास भवनलाई गति दिन, झाँक्रीपानी, चिनाकोट लगायतको पर्यटकीस्थलमा पर्यटकीय पूर्वाधार विस्तारमा जोड दिन, पालिकाभित्र कार्यान्वयन हुने संघ र प्रदेशका पूर्वाधारका योजनाहरु गाउँपालिकाले चासो देखाउन सुझाव दिनुभएको थियो ।
सार्वजनिक सुनुवाईमा उठेको जिज्ञाशाको जवाफ दिदै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाले कृषि र पशुपालनमा वितरण गरेको अनुदानको विस्तारै प्रतिफल देखिदै आएको बताउदै आगामी दिनहरु बास्तविक किसानलाई अनुदानमा समेट्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
उहाँले कृषि क्षेत्रमा सोचेजस्तो उपलब्धी नभएपनि केही किसानले अनुदानबाट राम्रो प्रगति गरेको बताउनुभयो । “गाउँबाट उर्जाशिल युवाहरु विदेश पलायनले उर्भर खेतीबारी बाँझो हुने क्रम बढेको छ। गाउँमै केही गर्छु भन्ने युवाहरुलाई छनोट गरेर अनुदान दिएका छौ ।” उहाँले भन्नुभयो । “आगामी दिनमा अनुदान वितरण समन्वय र सहकार्य गरेर बास्तविक किसालनाई समेट्छौ ।
उहाँले बाबियाचौर बजारको फोहोर ब्यवस्थापनका लागि तदर्थ समिति गठन गरेर संस्था दर्ताको लागि विद्यान तयारीको काम अघि बढेको बताउनुभयो । “बैज्ञानिक किसिमले फोहोर ब्यवस्थापन गर्न बजेट पनि ब्यवस्थापन गरेका छौ । बजाबारबासीले सक्रियता बढाएमा बजारको फोहोर ब्यवस्थापनमा पालिकाले सहयोग गर्छ,” अध्यक्ष रोकाले भन्नुभयो ।
समयमै बन्न नसकेको १० शैयाँको अस्पतालाई पुर्णता दिन एक बर्षको म्याद थपको तयारी भएको समेत जानकारी दिनुभयो । उहाँले गाउँपालिकाले सडकको मापदण्ड अनुसार स्तरोन्नती गर्न सबैको साथ सहयोग आवश्य हुने बताउनुभयो ।
गाउँपालिकाभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक, ब्यवस्थापन समिति र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी खत्री क्षेत्रीले पालिकाभित्र संचालन भएका साना देखि ठुला योजनाहरुमा स्थलगत पुगेर अनुगमन पश्चात भुक्तानी दिएको बताउनुभयो । अनुगमनको क्रममा कृषि र पशुपालनका अनुदानलाई किसानले दुरपयोग गरेको भेटिएको बताउदै आगामी दिन दुरपयोग नहुने किसिमले वितरण गरिने प्रतिवद्धता जनाउनुभयो ।
त्यस्तै प्रमुख प्रशासकिय अधिकृत शिवकुमार पौडेलले निर्माण ब्यवसायीलाई एकबर्षभित्र अस्पतालको काम सम्पन्न गर्ने गरी म्याद थप गरिएको बताउनुभयो । उहाँले सडक स्तरोन्नतीमा मापदण्ड कार्यान्वयनमा प्राविधिकलाई सबैले सहयोग गर्न आग्रह गर्नुभयो । पालिकाभित्र कार्यान्वयन हुने प्रदेशका योजनाहरुमा सम्वन्धीत कार्यालयले समन्वय नगरेको गुनासो गर्नुभयो । उहाँले आगामी बर्षमा यहाँहरुको सुझाव अनुसार पालिकाभित्र भएका जनशक्तिबाट गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
त्यस्तै गाउँपालिकाका इन्जिनियर रुचेन्द्र अधिकारीले बाटोको स्तरोन्नतीमा गुणस्तरीय सामानहरु प्रयोग भएको छ वा छैन् नापजाँच गर्ने प्रविधि र जनशक्तिको अभाव भएको बताउनुभयो । विकास निर्माणमा गुणस्तरीय सामानहरु प्रयोग भएको छ वा छैन भन्ने विषयमा जानकारी लिनका लागि पोखरा पु¥याउनुपर्ने बाध्यता गाउँपालिकामा रहेको बताउनुभयो ।
त्यस्तै कृषि शाखा प्रमुख विमल रोका मगरले कृषि अनुदान वितरणमा दुरुपयोग भएको स्विकार गर्दै आगामी दिनमा जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला र स्थानीयको सक्रियतामा बास्तविक किसानलाई छनोट गरेर अनुदान वितरणमा सहयोग गर्न आग्रह गर्नुभयो ।
गाउँपालिका अध्यक्ष रोकाको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत पौडेललको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सूचना अधिकारी राजेन्द्र आचार्यले गर्नुभएको थियो । वडाअध्यक्ष,कर्मचारी, राजनीकि दलका प्रतिनिधि र मंगलाबासीको उपस्थितमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण पत्रकार अमित विश्वकर्माले गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...