बेनी अस्पतालको भवन निर्माणलाई तिब्रता दिन निर्देशन

Gandaki Pardesh notice

बेनी । बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माण कार्यलाई गति दिन म्याग्दीका सरोकारवालाहरुले सम्बद्ध कार्यालय र निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य माननीय हरिबहादुर भण्डारी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा.बिनोदबिन्दु शर्मा लगायतको टोलीले बिहिबार भवन निर्माण कार्यको निरिक्षण गर्नुभएको थियो ।

मन्त्री जुग्जालीले निर्माण कम्पनीका प्रतिनिधि रविन जोशीलाई फोन गरेर जनशक्ति थप र निर्माण सामग्री व्यवस्थापन गरेर तिब्रता दिन निर्देशन दिनुभएको हो । “यसअघि भुतबंगला थियो, अहिले भवन जस्तो भएछ,” उहाँले भन्नुभयो “स्वास्थ्य सेवासँग जोडिएको भवनलाई जति सक्दो छिटो सम्पन्न गराउन कामको गति बढाउनुपर्ने देखियो ।”

Shreekrishna hardwear in news

यसैगरी बेनी अस्पतालमा तत्कालै जनशक्ति व्यवस्थापन गरेर बिरामीको उपचार सेवा प्रभावित हुन नदिन सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव शर्मालाई निर्देशन दिनुभएको थियो । सरोकारवालाको चौतर्फी दवाव र ताकेतापछि गत चैत महिनामा दुई वर्षपछि निर्माण व्यवसायी काममा फर्किएका थिए ।

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले भवन निर्माणको काम सुस्त रहेको बताउनुभयो । “वि.स. २०७७ देखि रोकिएको भवन निर्माणको काम गत चैत देखि सूचारु भएपनि अपेक्षाकृत प्रगति भएको छैन्,” उहाँले भन्नुभयो “नयाँ भवन निर्माण नहुँदा ५० शैया क्षमता भएपनि १५ शैयाको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने समस्या छ ।” नयाँ बनाउन पुरानो भवन भत्काइएकाले छ वर्षयता अस्पतालले अस्थायी संरचनाबाट सेवा सञ्चालन गर्दै आएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङले बि.स.२०७३ मङसिर २१ गते भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग रु. १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । रु. २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको थियो । हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका ईञ्जिनियर पंकज सिंहले बताउनुभयो ।

बि.स. २०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । चार हजार ९६३ बर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन वटा भवनको एउटा भवनको एउटा तला ढलान, झ्यालढोका राख्न, विद्युत, पानी जडान, रंगरोगन र टायल राख्न बाँकी छ ।

Bhautik ministry notice about road

“कार्यालयले हामीले गरेको कामको भुक्तानी नदिदाँ समस्या भएको छ,” निर्माण कम्पनीका प्रतिनिधि जोशीले भन्नुभयो “रोकिएको भुक्तानी पाए काम गर्न, निर्माण सामग्री जुटाउन र मजदुरलाई ज्याला दिन सजिलो हुने थियो ।”

भवन निर्माणमा भएको ढिलासुस्तिका विषयमा पालिका, जिल्ला, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिका साथै संघ संस्थाहरुले सम्बद्ध कार्यालय, सहरी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराउदै आएका छन् ।

मन्त्री जुग्जाली र सांसद भण्डारीले गत फागुनमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर सचिवालय मार्फत मन्त्रालयका सचिव, विभागका महानिर्देशक र साझेदार महादेव खिम्तीका सञ्चालक समेत रहेका निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहलाई फोन मार्फत ताकेता गराउनुभएको थियो ।

महादेव खिम्तीका सञ्चालक निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवी सिंह हुनुहुन्छ । यो भवन बनाउने जिम्मेवारी रविन जोशीले लिनुभएको थियो । सार्वजनिक खरिद ऐनको पछिल्लो संसोधन र कोरोनाका कारण देखाएर चौथो पटक म्याद थप गर्ने तयारी भएको छ ।

नयाँ भवन बनाउन अस्पतालको पुरानो भवन भत्काइएको थियो । बहिरंग कक्षको सेवा अस्थाई भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ ।

“पुराना र साघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ । भवन नहुँदा उपकरण व्यवस्थापन प्रभावित भएको छ,” अस्पतालका प्रमुख चिकित्सक अञ्जु थापाले भन्नुभयो “विशेषज्ञ चिकित्सक आउनै मानेका छैनन् । म्याग्दीले पाउनुपर्ने हब अस्पतालको कार्यक्रम पनि भवन नबनेकाले अन्यत्र जिल्लामा गयो ।’’

सघन उपचार कक्ष (आइसीयु) र डायलाइसीस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ । १५ शैया क्षमत्ताको अस्पताल २०७२ मा पचास शैयामा स्तरउन्नति भएको थियो । भुकम्प प्रतिरोधी क्षमत्ताको भवन अपाङ्ग मैत्री समेत हुनेछ । भुईतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा ईमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेशन थियटर, बहिरंग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...