विकटता र न्युन जनशक्तिका बावजुद धवलागिरी गाउँपालिकाका ९२ प्रतिशत योजना कार्यान्वयन

Gandaki Pardesh notice

मुना, । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा बजेट बिनियोजन गरेको पूर्वाधार निर्माणका ९२ प्रतिशत योजना सम्पन्न गरेको छ ।

आर्थिक वर्ष सकिन १० दिन बाँकी रहँदा उपभोक्ता समिति मार्फत कार्यान्वयन भएका अधिकांश योजनाको भुक्तानी गरिसकेको धवलागिरीले ७०.५४ प्रतिशत वित्तीय प्रगति हाँसिल गरेको छ ।

गाउँपालिकाको योजना शाखाका प्रमुख रमेश पौडेलले पूर्वाधारका १४५ वटा योजना मध्य बिहिबार सम्म १३४ वटाको अन्तिम किस्ता भुक्तानी सकिएको जानकारी दिनुभयो । “१३३ वटा उपभोक्ता समिति र एक वटा ठेक्का मार्फत सञ्चालित योजना सकिएको छ,” उहाँले भन्नुभयो “ठेक्का मार्फत कार्यान्वयन भएका र धेरै बजेट भएका केही आयोजनाको प्राविधिक नापजाँच गरेर भौतिक प्रगतिको आधारमा भुक्तानी गर्ने तयारीमा छौ ।”

Shreekrishna hardwear in news

मुना स्वास्थ्य चौकीको हालै निर्माण भएको भवन । तस्विर धौलागिरी खबर

लेखा शाखाका प्रमुख तिलक पौडेलले कुल रु. ४७ करोड ४० लाख ७३ हजार ८१९ बजेट बिनियोजन भएकोमा बिहिबारसम्म रु. ३३ करोड ४४ लाख ३५ हजार ४५६ खर्च भइसकेको बताउनुभयो । “बजेटको आकार ठूलो भएका आयोजनाको भुक्तानी भयो भने खर्चको प्रतिशत अझ बढ्छ,” उहाँले भन्नुभयो “बाँकी र प्रक्रीयामा रहेका फाइलको भुक्तानी हँदासम्म वित्तीय प्रगति असी प्रतिशत नाघ्ने अनुमान गरेका छौ ।”

पूर्वाधार विकास शिर्षकको रु. १० करोड १० लाख ६१ हजार २७७ मध्य ५८.६४ प्रतिशत अथवा रु. पाँच करोड ९२ लाख ६० हजार ९५९ खर्च भएको छ । यातायात पूर्वाधारमा रु. चार करोड ४४ लाख ७१ हजार ५५६ बिनियोजन भएकोमा ६३.७७ प्रतिशत अथवा दुई करोड ८३ लाख ५० हजार ६७ खर्च भएको छ । रु. पाँच करोड २३ लाख ८३ हजार ७२१ बिनियोजन भएको भवन, आवास तथा सहरी विकास शिर्षकको ५४.१२ अथवा रु. दुई करोड ८३ लाख ५० हजार ६७ खर्च भएको छ ।

पूर्वाधारतर्फ सडक, पदमार्ग, भवन, झोलुङ्गे पुल, सडक स्तरोन्नति लगायतका आयोजना सञ्चालन भएका थिए । प्रमुख प्रशासकीय अधिकृत धु्रब रिजालले दरबन्दिको एक तिहाईमात्र कर्मचारी, भौगोलिक विकटताका बावजुद जनप्रतिनिधिको समन्वय र समुदायको सक्रीयताका कारण योजना कार्यान्वयनमा सहज भएको बताउनुभयो ।

Bhautik ministry notice about road

“दरवाङ–धारापानी सडक निर्माणका क्रममा बादिकाको उकालोमा यातायात अवरुद्धका साथै बर्षातका कारण ठूला आयोजना कार्यान्वयनमा समस्या भयो,” उहाँले भन्नुभयो “जनप्रतिनिधि र कर्मचारीहरुको सक्रीयताका साथै गाउँपालिकाको कामलाई दिनरात नभनि प्राथमिकता दिएका कारण यो सफलता मिलेको हो ।”

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले सिमित जनशक्ति र स्रोतको अधिकतम परिचालन गर्ने नीतिका साथै समयै योजनाको लागत अनुमान तयार पार्ने, उपभोक्ता समिति गठन, नियमित अनुगमन र समन्वय गरेर आर्थिक वर्षको अन्तमा गरिने असारे विकासको प्रवृति हटाउने प्रयास गरेको बताउनुभयो ।

“उपभोक्ता समितिहरुलाई समयमै काम सम्पन्न गर्नुपर्छ भन्ने महशुस गराउन सक्यौ, उहाँहरुबाट पनि सहयोग पाइयो,” उहाँले भन्नुभयो “विगतका वर्षमा भिडभाड हुने कार्यालय अहिले सुनसान जस्तै छ । हामी जनप्रतिनिधि र कर्मचारीले समयमै काम सकेकाले फुर्सदिला भएका छौ ।”

यसअघिका वर्षमा शुरु भएका वडा नम्बर २ र ७ को कार्यालय, गुर्जा र मुना स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न गर्नुका साथै वडा नम्बर २ को खोरीया, लमसुङ, लुलाङ, वडा नम्बर ५ को मलम्पारमा सडक पु¥याउनु चालु आर्थिक वर्षको भौतिक तर्फको प्रमुख उपलब्धी भएको अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

यसैगरी गाउँपालिकाको स्थायी केन्द्र घट्टेखोलामा प्रशासकीय भवन, मराङमा वडा नम्बर ६को कार्यालय र मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु भएको छ । गुर्जामा खानेपानी आयोजना निर्माण भएको छ । ताकममा निर्माणाधिन पाँच शैया क्षमताको अस्पताल भवनका ठेकेदार काममा नफर्किदा यसवर्ष प्रगति हुन सकेन् ।

आगामी आर्थिक वर्षमा संघीय र प्रदेश सरकारसँगको साझेदारीमा गुर्जालाई सडक सञ्जालसँग जोड्न, यसअघि शुरु भएका आयोजनालाई पूर्णता दिन प्राथमिकता दिएर बजेट बिनियोजन गरेको अध्यक्ष पुनले बताउनुभयो ।

बुधबार सार्वजनिक बिदाका दिन भएपनि कार्यकक्षमा बसेर काम गर्दै धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुब रिजाल ।
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...