मंगलाको बजेट ४४ करोड ८१ लाख

Gandaki Pardesh notice

बाबियाचौर । आगामी आर्थिक बर्ष २०८०÷०८१ का लागि म्याग्दीको मंगला गाउँपालिकाले रु. ४४ करोड ८१ लाखको बजेट ल्याएको छ ।
गाउँपालिकाको केन्द्र बाबियाचौरमा बिहिबार भएको १६ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले कुल रु. ४४ करोड ८१ लाख ११ हजार ७ सय को बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट अघिल्लो आर्थिक बर्षको तुलनामा २ करोड ४६ लाखले बढि हो ।
उपाध्यक्ष खत्रीले चालुतर्फ रु. २८ करोड ३१ लाख ६१ हजार ७०९ र पुँजीगततर्फ रु. १६ करोड ४८ लाख ५० हजार बजेट प्रस्तुत गर्नुभएको हो । सवैभन्दा वढि बजेट सामाजिक विकासतर्फ २२ करोड ५९ लाख विनियोजन भएको छ ।
त्यस्तै पूर्वाधार विकासतर्फ ११ करोड ३९ लाख, आर्थिक विकासतर्फ २ करोड ४६ लाख ५० हजार, सुशासन तथा अन्तर सम्वन्धीत क्षेत्रतर्फ १ करोड ४८ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । कार्यालय संचालन तथा प्रशासनिकतर्फ ६ करोड ७५ लाख ५ हजार ७ सय रुपैयाँ बेजट विनियोजन भएको छ ।
पूर्वाधारतर्फ सडक निर्माण तथा स्तरउन्नति, सुरक्षित भवन आवास तथा शहरी विकास, सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखिएको छ । सामाजिक विकासतर्फ शिक्षामा नेपाल सरकारको सशर्त अनुदार र गाउँपालिकाबाट छुट्टै विनियोजन गरि १८ करोड ६९ लाख ५० हजार बजेट विनियोजन भएको छ ।
त्यस्तै स्वास्थ्यमा योग अभ्यास कक्षा संचालन, सुरक्षित गर्भपतन र प्रजनन स्वास्थ्य, बालबालिकाको पोषणमा सुधार, उपाध्यक्ष सुत्केरी उपहार कार्यक्रम, औसधी खरिद लगायत गरि सशर्त अनुदान सहित २ करोड ६० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । विद्यालय, युवा क्लव तथा विभिन्न संघ संस्थाका भवन निर्माण तथा मर्मत सम्भारका लागि २७ लाख तथा विद्यालयका विभिन्न कार्यक्रमका लागि शर्सत अनुदान समेत गरि १७ करोड ४९ लाख विनियोजन भएको छ ।
खानेपानी तथा सरसफाईका लागि रु ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषितर्फ ८६ लाख र पशुपंक्षी विकासतर्फ ३१ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । यसअघि गाउँसभामा गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाले आर्थिक बर्ष २०८०÷०८१ का लागि पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
गाउँपालिकाले योजना बैँक तयार पारि कार्यान्वयन गर्ने नीति लिएको छ । विपद व्यवस्थापनलाई प्रभावकारी बनाउने, सेवा प्रवाहलाई जनउत्तरदायी बनाउने, उपभोक्ता समितिबाट सम्पन्न हुने योजनाको कामलाई सरल बनाउन योजना सफ्टवेयरको व्यवस्था गर्ने लगायतका नीति अवलम्वन गरिने भएको छ । कृषि, पशुपालन, पर्यटन, सिँचाई, सडक, पुल, भवन, शिक्षा, स्वास्थ्य, खानेपानी, युवा तथा खेलकुदको विकासमा महत्वपूर्ण उपलव्धी हाँसिल हुनेगरि कार्यक्रम निर्माण गरिएको छ ।
अध्यक्ष रोकाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष खत्रीद्वारा प्रस्तुत बजेट गाउँसभाले विहिबारनै पारित गरेको छ । त्यस्तै गाउँसभाले आर्थिक विधेयक र विनियोजन विधेयक पनि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत शिव कुमार पौडेलले जानकारी दिनुभयो । गाउँसभा पालिका अध्यक्ष रोकाको अध्यक्षता, जिल्ला समन्वय समिति म्याग्दीकी उपप्रमुख दिल कुमारी खत्रीको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत पौडेलको स्वागत र सूचना अधिकारी राजेन्द्र आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...