बेनी अस्पतालको भवन निर्माणमा लापरबाही भयो ः सांसद भण्डारी

Add Samajik bikash office

पोखरा, । गण्डकी प्रदेशसभा सदस्य हरि बहादुर भण्डारीले म्याग्दीको बेनी अस्पतालको भवन निर्माणमा भएको ढिलाईका कारण स्वास्थ्य सेवामा परेको असरका विषयमा संसदमा कुरा उठाउनुभएको छ ।
गण्डकी प्रदेशसभाको आइतबार बसेको बैठकमा म्याग्दी प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित भण्डारीले बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माणमा लापरबाही गर्ने व्यवसायीलाई राजनीतिक संरक्षण हुँदा नागरिकले सास्ती खेप्नु परेको बताउनुभयो ।
तीन वर्षअघि सम्पन्न हुनुपर्ने भवन अलपत्र हुँदा अस्पतालको सेवा प्रवाह र कामकाज प्रभावित भएको छ । सांसद भण्डारीले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका प्राथमिकताका विषयमा समर्थन जनाउदै प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।
प्रदेश सरकारले ल्याउने बजेटले घाइते, वेपत्ता र सहिद परिवारले सम्मानको महशुस गर्ने अपेक्षा गर्नुभयो । तुलनात्मक रुपमा छिटो लाभ प्राप्त हुने योजनामा लगानी र आर्थिक स्रोतको पहिचानमा ध्यान दिन सरकारलाई सुझाउनुभयो ।
कृषि पेशालाई सम्मानित बनाउन किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने, सिपयुक्त जनशक्ति उत्पादन गरि रोजागारसँग जोड्ने सरकारले अग्रसरता लिनुपर्ने बताउनुभयो । प्रदेश सरकार मातहतका कार्यालयको सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन विद्युतीय प्रणाली अपनाउन सुझाव दिनुभयो ।
प्रदेशले खर्च गर्ने क्षमता बढाउनुपर्ने र आन्तरिक आम्दानी बृद्धीमा ध्यान दिने नीति लिनुपर्ने बताउनुभयो । आइतबारकै संसद बैठकमा बागलुङका सांसदहरु जितप्रसाद शेरचन, कृष्ण पाठक, डिल्लिराम सुवेदीले सहकारी संस्थाहरुले अरबौ रकम बचतकर्तालाई नदिएर समस्यामा पारेको विषय उठाउनु भएको थियो ।
अर्का सांसद दिलमाया पोबीले अन्तरजातीय बिवाह गरेका कारण बागलुङका प्रभात विकलाई झुटा मुद्दा लगाएर हिरासतमा राखिएको विषयमा ध्यानाकर्षण गराउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...