ग्रामिण सडकलाई पक्कि बनाउदै बेनी नगरपालिका

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले ग्रामिण सडकलाई पक्कि बनाउने योजना कार्यान्वयन गरेको छ ।
जिल्ला सदरमुकाम समेत रहेको नगरपालिकाको केन्द्र बेनी बजारदेखि वडा कार्यालय र मुख्य बस्ती जोड्ने सडकमा बाह्ै महिना नियमित र सुरक्षित सवारी सञ्चालनका लागि पक्कि बनाउने योजना अघि बढाएको छ ।
ग्रामीण सडकले हिउँद र बर्खा दुवै याममा दुःख दिइरहन थालेपछि पछिल्लो समय त्यस्ता सडकलाई पक्की बनाउने अभियान थालिएको नगर उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । “नगरपालिकाका १० वटै वडाका सबै वस्तीमा सडक पुगिसकेको छ । यसअघिका बर्षमा मार्ग खोल्ने, सोलिङ र विस्तारको काम धेरै भएका थिए,” उहाँले भन्नुभयो “यस वर्षदेखि ग्रेड नमिलेका सडकका घुम्ती ढलान गर्ने, पक्की नाली, कल्भर्ट र कजवे बनाएर वर्षैभर सवारी चल्न सक्ने बनाउने काम सुरु गरेका छौ ।”
सडक बनाएको भन्दा वर्षातमा पहिरो नियन्त्रण र बर्षेनी मर्मत गर्न लाग्ने खर्च बढी आउन थालेपछि यो नीति लिइएको हो । अधिकांश ग्रामीण सडकमा पहिरो खसेर बालीनालीसमेत नष्ट हुने क्रम रोक्न यो विधि अपनाइएको नगर उपप्रमुख लामिछानेको भनाई छ ।
पक्की पर्खाल र नाली बनाएपछि पहिरो नियन्त्रणका साथै धुलो र हिलोमुक्त बनाउन सकिने बेनी नगरपालिका–३ का वडा अध्यक्ष पदम पुनले बताउनुभयो । भकिम्लीलाई बेनी बजारसँग जोड्ने सडक ढलान, नाली र सोलिङ गर्न चालु आर्थिक वर्ष २०७९÷८० मा दुई वटा प्याकेजमा रु. एक करोड पच्चिस लाख बिनियोजन भएको छ ।
दुवै प्याकेज मार्फत ४५० मिटर ढलान, ३५० मिटर नाली, ३०० मिटर पर्खाल निर्माण र ३५० मिटर सोलिङ हुदैछ । बेनी नगरपालिका–४ स्थित तातोपानी बजारमा ३२५ मिटर सडक कालोपत्र भैरहेको छ । रु. ७० लाखमा ठेक्का सम्झौता भएको महारानीथान–छाप–ठूलोखोला सडक आयोजना मार्फत १७२ मिटर सडक ढलान हुदैछ् ।
बेनी–पाखापानी सडकको जामुनाखर्क, अर्थुङ्गे–पुलाचौर सडकको बाँसबोट क्षेत्रको सडक पनि ढलान भइरहेको छ । बेनी नगरपालिकाका योजना अधिकृत कृष्ण सुवेदीले यस वर्षका १०० भन्दा बढी योजना सडक ढलान र पक्कि नाली निर्माण गर्नेसँग सम्बन्धित रहेका बताउनुभयो ।
नगरपालिकाका ईञ्जिनियर बिमलरञ्जन कार्कीले भिरालो भुगोलको सडकमा गरिएको पिच नटिक्ने भएकाले दिगो र टिकाउका लागि ढलान प्रभावकारी देखिएको बताउनुभयो । भुईमा ढुङ्गा बिछ्याएर, रड बानेर, सिमेन्ट, बालुवा र गिट्टी मिसाएर गरिएको पिच बलियो हुने ईञ्जिनियर कार्कीको भनाई छ ।
सडक ढलान भएपछि घरअगाडी हिलोमा गाडी फस्ने, धुलो हुने समस्या हटेको बेनी नगरपालिका–५ भिरमुनीका कृष्ण कार्कीले बताउनुभयो । ‘‘गाडी नचल्दा सामान ढुवानी र आवत जावतमा सास्ती खेपेका थियौं, अहिले सहज भयो,” उहाँले भन्नुभयो “ढलान गर्दा पानीले पनि असर गरेन ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...