सन्तोष वोगटी मृत्यु घटना ः छिमेकी जिसी पुर्पक्षका लागि जेल चलान

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–१ थाङ्ने (आनन्दबगर) घर भएका ४० वर्षीय व्यवसायी कृष्णबहादुर (सन्तोष) बोगटीको मृत्यु प्रकरणमा छिमेकी÷साथी एवं व्यावसायिक साझेदार किसान भनिने कृष्णबहादुर जिसी पूर्पक्षका लागि जेल चलान भएका छन् ।
कर्तव्य ज्यान कसुरसम्बन्धी मुद्दामा बुधबार जिल्ला अदालत म्याग्दीमा भएको थुनछेक बहसपछि न्यायाधीश कृष्णप्रसाद नेपालको आदेशअनुसार जिसी पूर्पक्षमा राखी अनुसन्धान गर्न कारागार चलान भएका हुन् ।
‘मुद्दामा पेस भएका अनुसन्धान रिपोर्टसमेतका तथ्यको आधारमा आरोपितलाई तारेखमा छोडी मुद्दाको अनुसन्धान गर्न मिल्ने देखिएन । पूर्पक्षमा राखी अनुसन्धान गर्न आदेश गरेका छौँ,’ न्यायाधीश नेपालले भन्नुभयो ।
चैत ३० गते बिहान बेनी–बाग्लुङ सडकअन्तर्गत खबराको हुलाके डाँडास्थित भिरमा बोगटी मृत अवस्थामा फेला परेका थिए । बोगटीको मृत्यु शंकास्पद देखिएपछि आफन्तले वैशाख १ गते नै जिसीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
थाङ्ने (आनन्दबगर) स्थित कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ उत्खनन तथा स्थानीय खेल मैदान निर्माण समितिका पदाधिकारी रहेका बोगटी र घर्ती चैत ३० गते बोगटीको मोटरसाइकलमा रत्नेचौरमा पुगेका थिए ।
त्यहाँ मदिरा सेवनगरी मोटरसाइकलमा राति ९ बजे फर्केका बोगटी र घर्ती मध्य राति १२ बजे बेनीमा घर्ती एक्लै मोटरसाइकल लिएर आई बोगटीको पसलबाहिर पार्किङ गरी हिँडेको रत्नेचौर र बेनीमा भएको सीसीटीभीमा देखिएको थियो ।
‘व्यवसायी बोगटी बिहीबार बिहान मृत अवस्थामा फेला परेपछि घटनाको शंकास्पद देखियो । मृतकका आफन्तले पनि किटानी जाहेरी दिएपछि अनुसन्धान सुरु गरियो । प्रारम्भिक अनुसन्धान क्रममा घटना कर्तव्यबाट भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मदन कुँवरले भन्नुभयो, ‘रत्नेचौरको एक होटलमा रहेको सीसीटिभी फुटेज, रत्नेचौर–बेनीको सडक दूरी र समयावधि तथा बेनीको नगरपालिका अगाडि रहेको सीसी क्यामेरा फुटेज हेर्दा बोगटी मृत्यु प्रकरण शंकास्पद रहेको हो ।’ Source ekantipur

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...