जलजलाका शिक्षकलाई कम्प्युटर मर्मत सम्बन्धी तालिम

Gandaki Pardesh notice

जलजला, । पर्वतको जलजला गाउँपालिकाले शिक्षकहरुलाई कम्प्युटर मर्मत सम्बन्धी तालिम दिएको छ ।
विद्यालयका कम्प्युटर, प्रिन्टर लगायत प्राविधिक उपकरणको स्थानीय स्तरमै मर्मत गर्ने ज्ञान, सिप सिकाउन तालिम सञ्चालन भएको हो । शैक्षिक सुधारका लागि प्रविधिसँग विद्यार्थीलाई नजिक बनाउने र शिक्षकलाई जोड्ने गाउँपालिकाको उद्देश्य छ ।
जलजलाका ४४ वटा विद्यालयका ३०० जना शिक्षकहरुलाई पायक पर्ने स्थानमा बिद्यालय समय बाहेक बिहान र बेलुकी कम्प्युटर मर्मत सम्बन्धी तालिम सञ्चालन गरिएको गाउँपालिकाका शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले बताउनुभयो ।
शिक्षकहरुलाई तीन वटा समूहमा विभाजन गरेर तालिम दिइएको थियो । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले विद्यालयका कम्प्युटर, ल्याप्टप र प्रिन्टर पालिकाको खर्चमा मर्मत गरिने बताउनुभयो ।
तालिमबाट विद्यार्थी र शिक्षकको प्रविधिमा पहुँच बढ्ने तथा प्राविधिक उपकरणमा हुने खर्च र समयको बचत हुने अपेक्षा गरिएको छ । धेरै जसो विद्यालयमा आर्थिक, सामान्य प्राविधिक ज्ञान, सिप भएका जनशक्ति र सामग्रीको अभावमा लाखौ मूल्य खर्चेर खरिद गरेका कम्प्युटर, ल्यापटप र प्रिन्टर बिग्रिएपछि मर्मत हुन सकेका छैनन् ।
सूचना प्रविधिको कार्यक्रम अनुसार विद्यार्थीहरु पनि सहज र सरल तरिकाले नयाँ सन्देश एवम उपलब्धी मुलक अनुसन्धानमुलक ज्ञान र सूचना खोजी गर्न भूमिका खेल्ने गाउँपालिकाका सूचना प्रविधि अधिकृत सुदिप पौडेलले बताउनुभयो ।
लेकफाँटको ग्रामप्रकाश माविका प्रअ भवानीशंकर पौडेलले कम्प्युटर सम्बन्धी तालिमले शिक्षकहरुलाई दक्ष बनाउन र सिप विकासमा सहयोग पुगेको बताउनुभयो । कृष्ण भवन धर्म मावि धाइरीङमा कम्प्युटर सिकाइरहेका बिमल आचार्यले शिक्षकहरुले उत्साहित भएर सिकेका बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...