असारे विकासको प्रवृति हटाउन अन्नपूर्णको पहल

Gandaki Pardesh notice

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्षको अन्तिम असार महिनामा योजना कार्यान्वयन गर्ने प्रवृतिको अन्त्य गराउन पहल थालेको छ ।
चालु आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बिनियोजन भएका योजनाको नीतिगत निर्णय गर्दै २०८० वैशाख १० गतेसम्म सम्झौता र सम्पन्न भएका योजनाको भुक्तानी गर्ने मिति आगामी असार १० गते कायम गरेको हो ।
गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले आर्थिक वर्षको अन्तिम समयमा हतार हतार काम गर्ने प्रवृति हटाउन योजना सम्झौता र भुक्तानी गर्ने समयसिमा तोकिएको जानकारी दिनुभयो । “बर्षातको प्रतिकुल मौसम, हतारमा काम गर्दा योजना गुणस्तरीय नहुने र अनुगमन गर्न नपाउने हुँदा असार शुरु नहुँदै योजना सम्पन्न गराउने नीति लिएका हौ,” उहाँले भन्नुभयो “सम्झौता नभएका योजनाका उपभोक्ता समितिलाई ताकेता गरेका छौ ।”
चालु आर्थिक वर्षका १३७ योजना मध्य हालसम्म ८७ वटाको सम्झौता र ६५ वटा सम्पन्न भएका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । तीन लाख सम्म बजेट बिनियोजन भएका योजनाको सम्झौता वडा कार्यालयबाट गर्ने व्यवस्था मिलाएको छ ।
तीन लाख कमका २९ वटा र तीन लाख भन्दा बढीका २१ वटा योजना सम्झौता हुन बाँकी छ । सडक निर्माण, स्तरोन्नति, मर्मत, खानेपानी, सार्वजनिक भवन, पदमार्ग, खेलमैदान, पहिरो नियन्त्रण, सिचाई नहर सम्बन्धी योजना धेरै छन् । तीन वटा झोलुङ्गे पुल निर्माण भएको छ । वडा नम्बर १ को दोवामा पाँच शैया क्षमताको पालिका स्तरीय भवन बनेको ईञ्जिनियर इश्वर भण्डारीले बताउनुभयो ।
शिख माविको छात्रावास, प्रभा माविको भवन, तातोपानी कुण्डमा पर्यटन पूर्वाधार निर्माण र पालिका स्तरीय चिस्यान केन्द्र निर्माण गर्ने गाउँपालिकाका गौरवका आयोजना हुन् । पुँजिगत तर्फ बिनियोजन भएको रु. १७ करोड ६२ लाख छ हजार ६०० बजेट मध्य हालसम्म रु. दुई करोड ९३ लाख ५९ हजार ७२६ अथवा १५.८७ प्रतिशत खर्च भएको छ ।
चालुतर्फको रु. ३४ करोड ११ लाख २९ हजार ४०० मध्य रु. १३ करोड ७८ लाख ६८ हजार ७८५ अथवा ४०.४२ प्रतिशत खर्च भएको लेखापाल प्रेम पराजुलीले बताउनुभयो ।
कुल एक करोड ४५ लाख आन्तरिक आम्दानीको लक्ष्य राखिएकोमा आर्थिक वर्षको करिब नौ महिनाको अवधिमा रु. एक करोड ३३ लाख ७५ हजार ३०६ राजस्व संकलन भएको छ । स्थानीय सरकार सञ्चालन सम्बन्धी ७ वटा कानुनहरु निर्माण भएको छ । न्यायिक समितिमा परेका चार वटा मध्य तीन वटा निवेदन फस्यौट भएको उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताउनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६०९ बेरोजगार सुचिकृत भएकामा ११ वटा योजना सम्झौता, रु. ७० लाख बजेट बिनियोजन र हालसम्म ७४ जना बेरोजगार परिचालन भएका छन् । महिला तथा बालबालिका शाखा मार्फत १२० जना ७५ वर्ष माथिका विपन्न जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
आर्थिक वर्ष २०७९÷८० देखि २०८३÷८४ सम्मका लागि आवधिक योजना, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मूलप्रवाहीकरण रणनीतिक योजना, राजस्व सुधार योजना, जनप्रतिनिधिका लागि डिजिटल साक्षरता कार्यक्रम, पहिचान भएका १४२ जनालाई गरिव परिवार परिचयपत्र वितरणको तयारी भएको र आर्थिक अवस्था कमजोर÷विपद् पिडित ३० जनालाई रु. चार लाख १३ हजार वितरण गरिएको छ ।
आर्थिक वर्ष २०७८÷७९ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकनमा ५७ प्रतिशत, वित्तीय सुशासन जोखिम मुल्याङकनमा औषत अंक ६३ प्रतिशत र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनमा ६१.३४१९ अंक पाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...