गुणस्तर परिक्षणका लागि मुस्ताङी च्याङग्राको भुवा संकलन शूरु

Sinchai Khanipani notice

जोमसोम, । मुस्ताङमा गुणस्तर परीक्षणका लागि पस्मिनाको कच्चा पदार्थ च्याङग्राको भुवा संकलन गर्न थालिएको छ ।
अन्तराष्ट्रिय व्यापार केन्द्रले अन्तराष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद् अन्तरगतको नेपाल पशु प्रजनन् तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना संघ र च्याङग्रा पश्मिना किसान संघको समन्वयमा नेपालमै पहिलो पटक भुवाको परीक्षण गर्न लागेको हो ।
संकलित नमूनालाई पश्मिनाको मोटाई र लम्बाई मापन गर्ने अन्तराष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला तथा नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यवसायिक गुणस्तर परिक्षणका लागि पठाइने नेपाल पश्मिना उद्योग संघका उपाध्यक्ष धनप्रसाद लामिछानेले बताउनुभयो ।
“लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट च्याङग्रा भुवाको ८०० वटा नमूना संकलन गर्दैछौ,” उहाँले भन्नुभयो “चार वटै पालिकाका १६० किसानहरुले पालेका ५÷५ वटा फरक–फरक, भूगोल, तौल, रङ र उमेर समूहका च्याङग्राको शरिरबाट नमुना भूवा निकालिनेछ ।”


चैत १३ गतेदेखि २२ गतेसम्म च्याङग्राको शरिरबाट परिक्षण गर्नका लागि भुवा काट्न पश्मिना उद्योग संघ, नार्क र अन्तराष्ट्रिय ब्यापार केन्द्रका प्रतिनिधिहरुको उपस्थितिमा तालिमप्राप्त ९ जना प्रशिक्षक कृषकहरु परिचालन गरिएको छ ।
अन्तराष्ट्रिय पश्मिना विशेषज्ञ क्यारोल केभिड, नार्कका वैज्ञानिक निना अमात्य गोर्खाली, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका उपसचिव भक्तराज जोशी सहितको टोलीले चैतको ८ देखि १२ गतेसम्म स्थलगत तालिम दिनुभएको थियो । युरोपियन युनियन (इयु) को नेपाल ट्रेड एण्ड ईन्भेष्टमेन्ट प्रोजेक्टको सहयोगमा पश्मिनाको गुणस्तर परिक्षण गर्न लागिएको हो ।
“पश्मिनाको गुणस्तरले यसको महत्व तथा बजार मूल्यमा असर गर्दछ,” अन्तराष्ट्रिय ब्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले भन्नुभयो “अन्य मु्लुकमा भएको अनुसन्धानले जस्तै मुस्ताङको पश्मिना भुवामा पनि गुणस्तरमा विविधता देखिने अनुमान गरिएको छ । जसबाट गुणस्तरीय च्याङग्राको नश्ल विकास, अनुसन्धान र भूवाको अन्तराष्ट्रिय बजारीकरणमा सहयोग पुग्नेछ ।”
राष्ट्रिय पशु प्रजनन तथा आनुवांशिक अनुसन्धान केन्द्रका प्रमुख निना अमात्य (गोर्खाली)ले मुस्ताङमा पहिलो पटक गरिने नमूना सङ्कलनबाट च्याङ्ग्राको पश्मिनाको गुणस्तर पत्ता लाग्ने बताउनुभयो ।
“च्याङ्ग्राको पश्मिना राम्रो छ भन्ने गरिन्छ । तर क्वालिटीका बारेमा औपचारिक अध्ययन नभएको अवस्थामा यो पहिलो खुड्किलो हो,” उहाँले भन्नुभयो “ यसैमा आधारित भएर नश्ल सुधारका लागि समेत थप कार्यक्रम बनाउन सहयोग पुग्दछ ।”
प्राकृतिक रुपमा विरलै उत्पादन हुने च्याङग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दो छ । राम्रो गुणस्तरको च्याङ्ग्रा पश्मिनाका लागि आकर्षक मुल्य तिर्न नेपाली खरीदकर्ता तयार भएकाले च्याङ्ग्रापालक कृषकहरुले राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ ।
नेपालबाट बिदेश निर्यात हुने प्रमुख बस्तु पस्मिना बनाउन च्याङग्राको भुवा प्रशोधन गराएर बनाएको धागो कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग संघका अनुसार नेपालबाट वार्षिक रु. तीन अरबको पस्मिना निर्यात हुन्छ भने वार्षिक १९५ टन पस्मिना बनाउन आवश्यक पर्ने भुवाको धागो आयात हुन्छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

बिदेशबाट कच्चा पदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्ला लगायत जिल्लाका कृषकहरुबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी भिम शेरचनले बताउनुभयो ।

बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । शरिरबाटै झरेर खेर जाने गरेको थियो । तीस प्रतिशतको हाराहारीमा ऊन निकालेपनि बजार नपाउने समस्या थियो । नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भूवा संकलन र काठमाडौमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।

बैशाख–जेठ महिना च्याङग्राको शरिरबाट भुवा निकाल्ने याम हो । भुवा निकाल्ने सिप र नयाँ प्रबिधि हस्तान्तरणका साथै तालिम प्रदान गरिएको छ । च्याङग्राको भूवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । भेडा र चौरीको तुलनामा च्याङग्राको भुवालाई गुणस्तरीय मानिएको छ ।

मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङ लगायतका ठाउँका कृषकहरुले व्यवसायिक च्याङग्रा पालन गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मुस्ताङका अनुसार ५२ हजार च्याङग्रा पालिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...