मलम्पारमा पहिलो पटक पुगेको बस र चालकलाई स्वागत

Gandaki Pardesh notice

बेनी । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको धवलागिरी गाउँपालिका–५ को मलम्पारमा आइतबार पहिलो पटक बस पुगेको छ ।
धवलागिरी गाउँपालिकाको वडा नम्बर ६ को मराङ–राम्चे, बुल हुदै मलम्पार सम्म जोडिएको सडकमा बस सञ्चालन हुन थालेको हो । यात्रु लिएर पहिलो पटक गाउँमा पुगेको ध १ ख ११७ नम्बरको बस र चालक श्रीप्रसाद पुनलाई मलम्पारबासीले फुलमाला लगाएर स्वागत गरेका छन् ।
गाउँमा पहिलो पटक बस आएपछि मलम्पारबासीले खुसीयाली मनाएका छन् । धवलागिरी गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा बुल, मलम्पार हुदै वडा नम्बर ५ को केन्द्र मल्कवाङ सडक सञ्जालमा जोडिएको छ ।
गत वर्ष मराङ हुदै बुल र मल्कवाङ देखि दैडाडामा पुगेको सडकलाई यसपाली जोडेर वडा नम्बर ५ र ६ को चक्रपथ बनाइएको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताउनुभयो ।
“मलम्पारबाट सडकलाई वडा नम्बर ६ को बुल जोडेर चक्रपथ बनाइएको छ,” उहाँले भन्नुभयो “मल्कवाङ–मलम्पार सडक निर्माणका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले रु. २५ लाख र प्रदेश सरकारबाट रु. १० लाख बजेट बिनियोजन भएको थियो ।” यसपालीको बजेटबाट पाँच किलोमिटर नयाँ मार्ग निर्माण भएको छ ।
सडक सञ्जालले जोडिएपछि दुर्गम बस्ती मलम्पारदेखि वडा कार्यालय रहेको मल्कबाङ सम्मको करिब १ घण्टा ३० मिनेटको बाटो २० मिनेटमै छोटिएको छ । मलम्पारका १५० घरधुरी यो सडकबाट लाभान्वित भएका वडा अध्यक्ष अमर छन्त्यालले बताउनुभयो ।
मलम्पारका बासिन्दालाई दैनिक उपभोग्य बस्तुको ढुवानी गर्न, सदरमुकाम, वडा कार्यालय र गाउँपालिका कार्यालय पुग्न सहज भएको छ । मलम्पारमा उत्पादन हुने आलु, सिमी, जडिवुटी र भेडाबाख्रा निकासी गर्न सहज भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...