म साहित्यकार होइन !-बानियाँ

Gandaki Pardesh notice

भनिन्छ, लेखक हुनु भनेको दुईवटा जीवन पाउनु हो। मर्ने जीवनका अतिरिक्त बाँचिरहने जीवन रोजेका उनले भनेका छन्, मभित्रको लेखकले परिचय पायो। म्याग्दी बेनीस्थित भीरमुनिमा २००७ चैतमा जन्मिएका उनै ‘बूढाघरे कान्छो’ तन्नेरी हुँदा दिनभर खेल्थे र रातभर पढ्थे। अचेल सुत्ने र उठ्ने बेला संगीत सुन्छन्। म्याग्दी २ बाट २०४८ सालमा सांसद निर्वाचित उनलाई चार लाख रुपैयाँको पुरस्कार पाउनु नसोचेको परिणाम हात परेको भन्ने लागेको छ। प्रतिष्ठासँग जोडिएको मदन पुरस्कार विजेता उनै बानियाँसँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले गरेको कुराकानी :


पुस्तक लेख्नु र पुरस्कृत हुनुबीचको सम्बन्ध कस्तो पाउनुभयो ?
सिर्जना स्वेच्छाको चेष्टा हो। पुस्तक लेखिसक्दा काम सकेको आनन्दानुभूति हुन्छ। पुरस्कार पाउनु चेष्टाको प्रतिफल पाएजस्तो हो। त्यसैले खुसी लाग्नु स्वाभाविक हो। तर, पुरस्कारले थप लेख्नुपर्ने, पुरस्कारको गरिमा कायम गर्नुपर्ने आदि दायित्वबोध गराउँदो रहेछ। परिणाममा पुरस्कार निकै गह्रुँगो वस्तु रहेछ भन्ने लागेको छ। 

पुरस्कारले साहित्यिक यात्रालाई कसरी मोड्ला ?
पुरस्कारले अवश्य पनि अभिप्रेरित गर्छ। तर, मेरो सम्बन्धमा भने आठ दशकको जीवनयात्रामा पाइलो राख्ने उमेर नजिकँदै छ। बसी खाने यो उमेर थप सिक्ने र जान्ने उमेर होइन। भएको ऊर्जा र ज्ञानको अवसान हुने बेला हो। उत्साहित र अभिप्रेरित भए पनि शारीरिक एवं बौद्धिक क्षमताले धान्न गाह्रो होला जस्तो लागेको छ।

Shreekrishna hardwear in news

सर्वाधिक ठूलो राशिको साहित्यिक पुरस्कार पाउँदाको अनुभूति ?
रकम होइन, पुरस्कारको महत्त्व मान र प्रतिष्ठाको हो। अवश्य देशको प्रतिष्ठित पुरस्कारबाट सम्मानित हुन पाउँदा स्वाभाविक खुसीको अनुभूति हुने नै भो। म पुलकित छु। तर नजानिँदो त्रासले पनि लखेटिरहेको छ।

उपन्यासमा के छ र, पुरस्कृत भयो होला ?
आफ्नो सिर्जना कसलाई नराम्रो लाग्छ र ? किन पुरस्कृत भयो भन्ने कुरा पुरस्कारदाताले जान्ने कुरा हो। पाठकले मूल्यांकन गर्ने कुरा हो। मेरो पुस्तकको आफैंले मूल्यांकन अनुमान गर्नुपर्दा यो पुस्तकमा इतिहास छ, नेपाली भाषाको विकास यात्राको नमुना छ, भाषामा सरलता छ।

आफूलाई लेखक/साहित्यकार होइन भन्नुहुन्छ। त्यो चेतबिना पुस्तक लेख्न र पुरस्कृत हुन सम्भव छ ?
साहित्यिक चेत, चिन्तन र लगनभन्दा आवश्यकताले लेख्न प्रेरित गरेको हो। यो जिम्मेवारीबोधको प्रतिफल हो। हराएको र नलेखिएको इतिहासको पत्र उधिन्ने कोसिस हो। पुर्खाको गाथा लेख्ने ललक (लालसा) हो। एक दृष्टिमा यो मेरो लेखनचेष्टा पितृऋणबाट उऋण (ऋणमुक्त) हुने चेष्टा हो। जहाँसम्म पुरस्कारको कुरा हो, त्यसलाई मैले नितान्त संयोगको कुरा मान्छु। मेरो कृति पुरस्कृत हुनुको कारण उत्तम भएर होइन, तुलनात्मक रूपमा अन्य प्रतिस्पर्धीभन्दा जाँचकीका आँखामा तद्विशेष (अपेक्षाकृत राम्रो) देखिन सफल हुनु हो। पुरस्कार मात्र कृतिको साँचो मूल्यांकन हो भन्न मिल्दैन। कृतिको साँचो मूल्यांकनकर्ता पाठक हुन्, समाज हो। बौद्धिक जगत् हो।

चौबीसी राज्यमध्येको एकको विषय लेखेको हुँ भन्नुभएको छ, के र कुन कारणले उपन्यास लेख्ने सुर चढ्यो ?
सुर चढेर लेखेको हुँदै होइन, आवश्यकताले लेखेको हुँ। नलेखिएको र समयको गर्भमा पतालिएको इतिहास कोट्याउनुपर्ने जिम्मेवारीबोधले लेख्न अभिप्रेरित गरेको हो। मैले समाजसँग गरेको प्रतिबद्धता पूरा गर्ने सन्दर्भमा लेखेको हुँ किनकि चौबीसी राज्य पर्वत मेरा पुर्खाको आर्जन थियो, मेरो जन्मभूमि थियो। त्यही माटोप्रति सम्मान प्रकट गर्न, ऋण चुक्ता गर्न महारानी लेखेको हुँ। धेरै वर्ष पर्खें यो विषय कसैले लेखोस् भनेर तर कसैले नलेखेपछि अब मैले नलेखे यो इतिहास हराउँछ भन्ने लागेरै लेखें।

कति समयमा पूरा भयो उपन्यास ?
इष्टमित्र आफन्तसँग यो कथालाई औपन्यासिक रूप दिने प्रतिबद्धता गरेको ठिक १२ वर्ष बितेछ। त्यति बेलैदेखि मेरो मन–मस्तिष्कमा महारानीको कथा घुमिरहेको थियो। त्यसलाई वाणी दिने काम भने २०७६ वैशाखमा सुरु गरेर भदौ महिनामा तुरिएको (सकिएको) हो।

लेख्दाको मजा ?
लेख्दा आनन्द आएको रहस्यमय मिथक हो यो। महारानी अलपिएको (बेपत्ता भएको) लोककथन थियो। त्यसलाई पुष्टि गर्न महारानीले सन्न्यास लिएर राजालाई छोडिन् र भागिन् भन्ने बनाएको छु। विषय मोड्दा पनि उत्तम विकल्प दिन सकेकोमा त्यो बेला आनन्दित भएको थिएँ। जलसमाधि लिएको वा झुन्डिएर मरेको जे गर्दा नि हुने तर खोज्दै जाँदा सन्न्यास लिएको लेख्दा उपयुक्त सन्दर्भ भेटेजस्तो लाग्यो।

पीडा नि ?
महारानीको लोग्नेका लागि भद्रीबम पात्र बनाएँ। किन किन आफैंले रोजेखोजेको पात्र भए पनि त्यसमा असल गुण थिएन। खराब चरित्रकै कारण उसको बीभत्स हत्या गराउनु पर्दा अत्यन्तै पीडाबोध भएको थियो। पात्रप्रति सहानुभूति जागेको थियो।

विषय, पात्र र शीर्षक छनोट र तिनका आधार ?
विषय इतिहाससँग सम्बन्धित छ। कथा नबनेकी महारानीकै वरिपरि घुम्ने हुनाले शीर्षक छनोटको कारण बनेको हो। पात्रहरू सकभर इतिहासबाटै लिने कोसिस गरिएको छ। आवश्यकताले रचना गरिएका काल्पनिक पात्रहरूको संख्या अत्यन्त न्यून छ। पात्रको चयन र तिनको परिचय स्थापित सही ढंगले गर्नु निकै चुनौतीपूर्ण विषय हो। उसलाई कसरी जन्माउनेदेखि उसको कसरी हत्या गर्नेसम्मका योजना बुन्नुपर्छ।

Bhautik ministry notice about road

ऐतिहासिक विषय रोज्नुभयो, पाठक इतिहास पढ्न अल्छी मान्दैनन् ?
ऐतिहासिक विषय रोज्नुको कारण त स्पष्ट भइसकेको छ। इतिहास पढ्न अल्छी मान्ने पाठकको रुचि जागोस् भनेरै उपन्यासमा ढाल्ने कोसिस गरिएको हो। 

म्याग्दी र कालीगण्डकी नदीको संगममा रहेको आफू रहेकै ठाउँ बेनी बजारको पश्चिममा भएको कुरिलाखर्कस्थित महारानी। यही ठाउँको पुरानो इतिहास खोतल्दाको परिणाम हो, महारानी। महारानीका बारेमा पत्र पत्र उप्काउँदै गएँ। इतिहासका पत्रहरूलाई सदा जीवित बनाउन साहित्यको सहारा लिएँ। झट्ट नदेखिएको गहिराइ खोतल्न मन लागेकै थियो, अर्थात् कुनै राजासित विवाह नभएकी एउटी नारी कसरी ‘महारानी’ बन्न सक्छिन् ? खोजको चुरो कुरो यही थियो। यो एउटा लहरो थियो, त्यो तान्दा पहरो गर्जियो।

के छ र त्यस्तो विषय उपन्यासमा जसले पाठक तान्छ ?
उपन्यासमा चौबीसी राज्य स्थापना, विस्तारदेखि विभाजनसम्मको संक्षिप्त जानकारी छ। समाजमा प्रचलित लोककथन र किंवदन्तीहरूको यथार्थ धरातल खुट्ट्याउने कोसिस छ। कर्तव्य छ, राष्ट्रप्रेम छ, पारिवारिक जिम्मेवारीबोध छ, स्वाभाविक मायाप्रेम छ, वियोगान्त छ, राजनीतिक दाउपेच र षड्यन्त्र छ। विभिन्न टाकुरे राज्यबीचको कलह, वैमनश्य छ, पुरानो भाषाको स्वाद पनि छ।

महारानी उपन्यासकी ‘महारानी’ खासमा हुन् चाहिँ को ?
मलाई पर्वत राज्यका बारेमा धेरै जान्न/बुझ्न मन लाग्यो, कारण थुप्रै लोककथन र किंवदन्ती सुनेको थिएँ। रुचिले अनुसन्धानतिर डोहोर्‍यायो। झन्डै डेढ दशक यसमा लागें। बकसपत्रदेखि ताम्रपत्र हुँदै दानपत्रसम्म छान मारें। बुबाबाट कौतुकमय कथा सुनेको थिएँ। त्यसलाई पुष्टि गर्ने यिनै आधार खोज्दै जाँदा भेटें— म्याग्दी र कालीगण्डकी नदीको संगममा रहेको आफू रहेकै ठाउँ बेनी बजारको पश्चिममा भएको कुरिलाखर्कस्थित महारानी। यही ठाउँको पुरानो इतिहास खोतल्दाको परिणाम हो, महारानी।

महारानीका बारेमा पत्र पत्र उप्काउँदै गएँ। इतिहासका पत्रहरूलाई सदा जीवित बनाउन साहित्यको सहारा लिएँ। झट्ट नदेखिएको गहिराइ खोतल्न मन लागेकै थियो, अर्थात् कुनै राजासित विवाह नभएकी एउटी नारी कसरी ‘महारानी’ बन्न सक्छिन् ? खोजेको चुरो कुरो यही थियो। यो एउटा लहरो थियो, त्यो तान्दा पहरो गर्जियो।

स्रोतको खोजी र लेख्नुमा भेटिएका चुनौती ?
पुरानो पर्वतमा बोलिने खस भाषिकाका अत्यन्त दुर्लभ भन्न मिल्ने उत्कीर्ण र कागजी लिखतहरू खोज्नु र त्यो भाषा डिकोड गर्नु कष्टसाध्य विषय थियो। तत्कालीन समयका पर्वत राज्य वरपरका करिब दर्जनभर राज्य रजौटाहरूको जीवनगाथा संकलन गर्नु, समाजका विलुप्त भइसकेको रीतिरिवाज, परम्परा र संस्कार संस्कृतिको टिपोट उतार्नु निकै चुनौतीपूर्ण काम थियो। किनकि गोर्खा, जुम्ला र पाल्पाबाहेक अन्य राज्यको व्यवस्थित अभिलेख अत्यन्त दुर्लभ छ।

महारानी लेख्न कति र के के पुस्तक पढ्नुभो ?
यसै पनि इतिहास पढिरहने मान्छे हुँ। महारानी लेख्नकै लागि भनेर त खास कुनै पुस्तक पढिनँ। तैपनि ऐतिहासिक विषयवस्तुमा आधारित पुस्तकहरू पाएसम्म छोडिएन।

उपन्यास लेख्दा सिकेका पाठ ?
जे जानेको थिएँ, त्यही लेखेको हुँ। सिक्ने कोसिस पनि गरिनँ। ममा परिमार्जन केही आएन। नयाँ विचार पनि आएन। सरर्र जे आयो त्यही लेखें। प्रकाशक (शिखा) ले छापिदियो र जनमानसमा पुग्यो। अभ्यासबाट सिकिन्छ, त्यो स्वाभाविक हो। मेरो लेखन चेष्टा अभ्यास गर्ने मनशायको उपज होइन। मेरो क्षमता र सीपले जे दिन सकिन्थ्यो, त्यो मेरो समाजलाई दिनुपर्ने कर्तव्यबोधको प्रतिफल थियो। त्यसैले मेरो भविष्यको लेखनलाई मार्गदर्शन गर्छ जस्तो लाग्दैन। बरु एउटा लक्षित उद्देश्य पूरा हुँदा आनन्दानुभूति भने हुँदो रहेछ।

प्रकाशन हुँदाको खुसी र पुरस्कृत भएपछिको प्रतिक्रिया ?
पुरस्कृत हुने अवसर प्राप्त हुँदा सफलतामा प्राप्त हुने खुसीको स्वाभाविक मानवीय भाव ममा पनि सञ्चारित भएकै हो। पुरस्कार पाउँदा कुनै उकालो यात्राको मध्यमा फेला परेको शीतल छहारीको अनुभूति त भयो नै; तर उकालो अझै धेरै हिँड्नु छ भन्ने आत्मबोधले हौस्याएको होइन, गलाएको अनुभूति गर्दै छु। तर उकालो चढ्ने हौसला भने गुमाएको छैन।  

अबको तयारी केमा हुनेछ ?
सम्भवतः बजारमा आउनै लागेको ‘भौज्याहा’पछि मेरो सेरोफेरोको नितान्त निजात्मक अनुभूति अनुभवको सानो लेखोट पाठकसामु आउनेछ। त्यो पनि लगभग तयारी अवस्थामै छ। त्यसपछिको योजना बनाइसकेको छैन। भविष्यको मेरो लेखन मेरो माटो, मेरो परिवेश, मेरो जन्मभूमिसँगै सम्बन्धित हुनेछ।

उपन्यासकारका हैसियतले लेखक हुन खोज्ने र पाठकवर्गलाई के सुझाव दिनुहुन्छ ?
आफैं त महादेव…, कसलाई के दिनु र वर ! म सिद्धहस्त लेखक होइन, साहित्यकार त हुँदै होइन। पुरस्कार पाउनु नसोचेको परिणाम हात पर्नुजस्तो संयोग मात्र हो। कसैलाई अर्ती उपदेश दिने हकदार म हुँ जस्तो लाग्दैन। तैपनि साहित्य समाजको ऐना हो भन्ने मान्यतासँग सहमत छु। त्यसैले सरल र समाजसँग प्रत्यक्ष सरोकार राख्ने विषय चुन्नु फलदायी हुन्छ होला। मभित्रको लेखकले स्थान पाएको छ। त्यो सम्भावना तपाईंसँग पनि हुनसक्छ।

मदन पुरस्कार बिजेता महारानी उपन्यासका लेखक चन्द्रप्रकाश बानियाको अन्तरबार्ता अन्नपूर्ण पोष्टको शनिबारीय अंकबाट साभार गरिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...