सडकमा निर्माण व्यवसायीको तस्विर सहितको कालो ब्यानर टाँसेर बिरोध

Add Samajik bikash office

मिलनचोक । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङका बासिन्दाहरुले सोमबार सडक अलपत्र बनाउने निर्माण व्यवसायीको तस्विर सहितको ब्यानर टाँसेर बिरोध जनाएका छन् ।
जलजला गाउँपालिका–७ मिलनचोक देखि सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक आयोजनाको ठेकेदार कम्पनी हिमदुङ एण्ड थोकर प्रालीका सञ्चालक बहादुर सिंह लामाको तस्विर सहितको ब्यानर राखेर बिरोध गरेका हुन् ।
नुवाकोटको क्षेत्र (ख)बाट निर्वाचित नेपाली काँग्रेसको बाग्मती प्रदेशसभाको संसदीय दलको नेता लामा सञ्चालक रहेको सो कम्पनीले वि.स. २०७६ मंसिर ६ गते रु. २८ करोड १३ लाखमा १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो ।
गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तरगतको सो सडक वि.स. २०७८ मंसिर ५ गते निर्माण सम्पन्न गर्ने सम्झौता थियो । आगामी असार सम्मको म्याद भएपनि अहिलेसम्म काम शुरु भएको छैन् ।
पछिल्लो १८ महिनायता निर्माण कार्य ठप्प बनेको सडक निर्माणको काम अघि बढाउन पूर्वाधार विकास कार्यालय र भौतिक योजना तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएपनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रिएको धाइरीङका साजन परियारले बताउनुभयो ।


“ठेकेदार हराएको सूचना” लेखेर म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गले जोड्ने बेनी–मालढुङ्गा सडकको छेउमा राखिएको कालो ब्यानरमा सञ्चालक लामा र सडक समयमै सम्पन्न नहुदाँको अवस्था झल्काउने तस्विर राखिएको छ ।
“हिमदुङ एण्ड थोकर निर्माण कम्पनीका मालिक मिलनचोक–सल्यान–घाखेत–धारापानी–ठोट्नेरी सम्मको मोटरबाटोका ठेकेदार बहादुर सिंह लामा विगत १८ महिना देखि बाटो निर्माणको काम अलपत्र पारी हराएको हुँदा खोजी कार्य गरिदिनुहुन हार्दिक अनुरोध गर्दर्छौ,” मालढुङ्गा–बेनी सडक आवत जावत गर्नेले सहजै देख्नेगरी रुखमा झुण्डाएर राखिएको ब्यानरमा भनिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road


धाइरीङका मनोहर आचार्यले सम्बद्ध कार्यालय, व्यवसायी, प्रशासन, जनप्रतिनिधि र मन्त्रालयमा पुगेर दवाव दिनुका साथै छलफल भएपनि काम अघि नबढेपछि बाध्य भएर सांसद जस्तो पदमा पुगेका व्यक्तिको तस्विर सार्वजनिक गर्नुपरेको बताउनुभयो ।
स्थानीय प्रतिनिधि र कम्पनीका सञ्चालक तथा सम्बद्ध कार्यालयको लापरबाही र बेवास्ताका कारण अलपत्र बनेको सडक निर्माणले निरन्तरता नपाए चरणवद्ध आन्दोलनमा उत्रने स्थानीय बेदनाथ आचार्यले बताउनुभयो ।
सडक अधुरो हुँदा आवत जावतमा सास्ती, दुर्घटनाको जोखिम, पहिरो र भुक्षयको समस्या बढेको स्थानीय दुर्गाबहादुर दर्जीले बताउनुभयो । सडक निर्माणलाई अधकल्चो बनाएर छाडिएकाले बस्तीमा पहिरोको जोखिम भएको उहाँको भनाई थियो ।


पर्वत क्षेत्र (क) बाट निर्वाचित गण्डकी प्रदेशका पुर्व सभामुख नेत्रनाथ अधिकारीको सिफारिसमा छनौट भएको यो सडकको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७६ मंसिर १९ गते मिलनचोकमा शिलन्यास गर्नुभएको थियो । ५ मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्रे हुने सडक सात मिटर र एक मिटर नाली बनाउने लक्ष्य छ ।
अधिकांश भागमा विस्तार, ग्रेड मिलाउने, घुम्ती सुधार गर्ने, नाली बनाउने काम सकिएको सडकको मिलनचोक देखि सल्यान खण्डमा ग्राभेल समेत गरेर कालोपत्रको तयारी गरिएको थियो । निर्माणको कामले निरन्तरता नपाउँदा बनाइएका संरचनाहरु भत्किएर सडक जिर्ण बनेको छ ।


यो सडक निर्माण भएमा धाइरीङका एक हजार भन्दा बढी घरधुरी लाभान्वित हुनेछन् । धाइरीङमा उत्पादीत तरकारी निकासी, भुमे ठाकुर र जलजला जाने आउने पर्यटक तथा भक्तजनलाई सहज हुने थियो । निर्माण कम्पनीका सञ्चालक लामाले भने आफ्नो फर्म प्रयोग गरेका स्थानीय व्यवसायीको लापरबाहीका कारण बदनामी ब्यहोर्नुपरेको गुनासो गर्नुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...