मंगलामा उद्घोषण र भाषणकला तालिम

Gandaki Pardesh notice

बाबियाचौर । म्याग्दीको बावियाचौर स्थीत मंगला शिक्षा क्याम्पसमा उद्घोषण, भाषणकला तथा क्षमता विकास तालिम समापन भएको छ ।
विश्वविद्यालय समता अनुदानमा आधारित क्षमता अभिबृद्धि कार्यक्रम अन्तरगत विद्यार्थीलाई लक्षित गरी दुई सञ्चालन भएको तालिममा १९ जनाको सहभागिता थियो । तालिममा उद्घोषण, भाषणकला, वैठक सञ्चालन, नेतृत्व विकास अन्तरगत सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र सिपको अभ्यास लगायत विभिन्न विषयमा केन्द्रित भएर नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले सहजीकरण गर्नुभएको थियो ।
तालिमको समापना कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले हरेक जिम्मेबारीमा बोल्ने कलाको आवश्यकता रहेको बताउनुभयो । उहाँले अझै पनि बोल्ने कलाको विकास हुन नसक्दा विभिन्न अवसरबाट बन्चित हुनुपरेको अवस्थामा तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
सोही अवसरमा मंगला–२का वडा अध्यक्ष धनबहादु खाती क्षत्रीले व्यक्तित्व विकास सबैभन्दा ठूलो सम्पत्ति भएकाले निर्धक्कसँग आफ्नो कुरा राख्न सक्ने हुनु ठूलो उपलब्धी भएको बताउनुभयो ।
सिर्जना खड्का, यूमायाँ दर्जी र मेखबहादुर घर्तीले कसरी बोल्ने, आत्मबल कसरी बढाउने, कुन कार्यक्रममा कसरी भाषण गर्दा उपयुक्त हुन्छ भन्ने बिषयमा धेरै सहज भएको भन्दै आफ्ना अनुभव सुनाएका थिए ।
विद्यार्थीले क्याम्पसभित्र हुने गतिविधि तथा संघसंस्थामा प्रतिनिधित्व गर्दा भाषण गर्न र खुलेर आफ्नो कुरा राख्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको मंगला शिक्षा क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले बताउनुभयो ।
तालिम समापन कार्यक्रमको अध्यक्षता सञ्चालक समिति अध्यक्ष थापा, क्याम्पस प्रमुख पितमबहादुर खत्रीले जानकारी मन्तब्य र प्रशिक्षार्थी पकबहादुर रोकाले सञ्चालन गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...