एक वर्षदेखि ओडारको बास

khali

बेनी, । नजिकै जिल्ला सदरमुकाम बेनी बजार छ । बेनी नगरपालिकाको वडा नम्बर–७ मा पर्ने कुरीलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सँयौ सवारी साधन र मानिस ओहोरदोहोर गर्छन् ।
सडक छेउको ओडारमा बेनी नगरपालिका–५ भिरमुनीका ५० वर्षीय राहुल नेपालीले ढुंगेयुग जस्तै एक वर्षदेखि ओडारमै आश्रय लिएका छन् । छोराहरुको मृत्यु, श्रीमतिले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओडारमा बस्नु परेको राहुलले बताउनुभयो ।
“शक्ति र उमेर हुँदासम्म ३५ वर्ष भारतमा काम गरे,” उहाँले भन्नुभयो “उमेर घर्किएपछि गाउँ फर्कदा साथ दिने कोही भएनन् । हेला गर्न थालेपछि घर छाडेर ओडारमा बस्नु परेको हो ।”
राहुलले कन्दमूल खोज्ने र मागेर ल्याएको अन्नबाट दैनिकी चलाउने गर्नुभएको छ । सो ओडर बेनी बजार देखि करिब एक किलोमिटर नजिकको दुरीमा छ । सडकको कान्लामाथिको सानो ओडारमा फाटेका कपडा ओछ्याएर सुत्ने गर्नुभएको छ । शारिरिक कमजोरीका कारण श्रम गर्न नसक्ने राहुल बोल्न, कुराकानी गर्न सक्नुहुन्छ ।
काम गर्न नसक्ने भएकाले कसैले दिएको तथा मागेर भेटेको आफैले पकाएर खाने गरेका कुरिलाखर्कका सुरेश ढुङ्गानाले बताउनुभयो । “मेरो भैसी फार्मसँगै जोडिएको ओडारमा बस्न थाल्नुभएको एक वर्षजती भयो,” उहाँले भन्नुभयो “काम गर्न सक्दिन । मलाई यही ठिक छ भन्नुहुन्छ ।”
ढुङ्गानाको भकारो छेउको गोलभेडा टिपेर तरकारी बनाउने राहुल अरु खाद्यान्न माग्न बजार झर्नुहुन्छ । दिउँसोमा घाम लागेपनि रातमा चिसो हावा सिधै ओडारभित्र छिर्छ । मागेर जुटाएको खाद्यान्न बाँदरबाट जोगाउनै हम्मे पर्छ । रातमा चितुवाको समेत डर छ ।
कुरिलाखर्ककी बासिन्दा समेत रहेकी बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले राहुललाई ओडारबाट घरमा पठाउने प्रयास गरेपनि नमानेको बताउनुभयो । “ओडारमा बसेको देख्ने वित्तिकै खोजिनिति गरेको हो,” उहाँले भन्नुभयो “अन्त जाने ठाउँ छैन, यहाँबाट नपठाउनु भनेर मान्दै मान्दैनन् ।”

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...