मालिकाको निस्कोट र बिम जोड्ने सडक अलपत्र

Gandaki Pardesh notice

दरवाङ, । निर्माण व्यवसायी सम्र्पविहिन बनेपछि म्याग्दीको मालिका गाउँपालिकामा सञ्चालित दुई वटा सडक आयोजना अलपत्र परेका छन् ।
गाउँपालिकाले गौरवको आयोजनाको रुपमा कार्यान्वयन गरेको दरवाङ–निस्कोट र खारा–बिम सडक आयोजना अलपत्र परेका हुन् । अधकल्चो बनाएर सम्पर्क विहिन बनेका निर्माण व्यवसायी काममा नफर्किदा योजनाले पूर्णता पाउन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताउनुभयो ।
“दुई वटै सडक निर्माणको काम गत असार महिनादेखि भएको छैन,” उहाँले भन्नुभयो “कार्यपालिकाको निर्णय अनुसार आगामी असार महिनासम्म सम्झौताको म्याद थपिएपनि निर्माण व्यवसायी काममा फर्किएका छैनन् । पत्र र मौखिक रुपमा ताकेता गरिरहेका छौ ।”
गाउँपालिकाको केन्द्र दरवाङ देखि वडा नम्बर १ र वडा नम्बर ७ जोड्ने सडक विस्तार, नाली, पर्खाल निर्माण, ग्रेड र घुम्ति सुधार गर्न गत वर्षदेखि आयोजना शुरु गरिएको थियो । वि.स. २०७८ माघ ७ गते रु. दुई करोड आठ लाख तीन हजार १५९ मा जिकेआइएसएसी जेभी बुर्तिवाङले ठेक्का लिएको दरवाङ–निस्कोट सडकको भौतिक प्रगति ५० प्रतिशत छ ।
हालसम्म रु.९६ लाख ६५ हजार ९२४ भुक्तानी भएको गाउँपालिकाका लेखापाल सागर पौडेलले बताउनुभयो । उहाँका अनुसार रु. एक करोड ५९ लाख ५४ हजारमा दिव्यज्योती नाना जेभीले ठेक्का सम्झौता गरेको खारा–बिम सडकको हालसम्म रु. ३७ लाख ४४ हजार मात्र भुक्तानी भएको छ ।
थप भएको म्याद सकिन पाँच महिना बाँकी रहँदा सम्म पनि निर्माण व्यवसायी काममा फर्किएका छैनन् । निर्माण व्यवसायीले समयमा काम नगर्दा संघीय सरकारले दिने अनुदान कटौती हुने र गाउँपालिकालाई व्यभार थपिएर अप्ठ्यारो पर्ने गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।
मालिका गाउँपालिका–१ का वडा सदस्य मानसिंह सापकोटाले निर्माण व्यवसायीले अधकल्चो बनाएर छाडेको सडकमा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । “करोडौ बजेटको योजना अलपत्र पर्ने, नागरिकले सास्ती र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो “जनता हामीसँग कराउँछन । ठेकेदारले हाम्रो कुरा सुन्दैनन् ।”
जिकेआईएसएसी जेभीका विजय भण्डारी र दिपज्योती नाना जेभीका प्रतिनिधी विपिन खड्काले फोननै उठाउन छाडेको जनप्रतिनिधि र कर्मचारीले बताएका छन्, ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...