मानवीय लापरवाहीले डढेलो बढ्यो

khali

बेनी, । म्याग्दीमा मानवीय लापरवाहीले डढेलोको जोखिम बढ्दै गएको छ । घाँस पलाउने वाहना, अवैध शिकार र आगोको जथाभावि प्रयोगले वनजंगलमा डढेलोको जोखिम बढेको हो ।

विगतका वर्षमा यो समयमा हिउँले ढाकिने धवलागिरी, अन्नपूर्ण, निलगिरि र गुर्जा हिमाल आसपासका पहाड र जंगल डढेलोले काला पहाडमा परिणत हुन थालेका छन् । धवलागिरी गाउँपालिका–७ का ओमबहादुर घिमिरेले हिउँले सेताम्मे हुनुपर्ने पहाड काला पत्थरमा परिणत भएर कुरुप देखिएका बताउनुभयो ।

“पहाड र जंगल डढेलोले कुरुप बनायो,” उहाँले भन्नुभयो “हिमपात र बर्षा नहुँदा सुख्खा भएका पहाडलाई आगोले डढाउँदा नराम्रो देखिएको मात्र होइन तापक्रम वृद्धि, धुँवा, धुलोले वायु प्रदुषण भएको छ ।”

Shreekrishna hardwear in news
khali

बर्षात र हिमपात नहुँदा सुख्खा बनेका पहाड र जंगल डढेलोले सखाप भएका हुन् । रुख बिरुवा, जडिवुटी, वन्यजन्तु र पंक्षीको वासस्थान डढेलोबाट नष्ट भएको छ । डिभिजन वन अधिकृत मनोज रानाभाटले अधिकांश ठाउँको डढेलोको कारण मानवीय लापरबाही देखिएको बताउनुभयो ।

“गोठालाहरुले घाँसका लागि, शिकारीले वन्यजन्तु भगाउन र खेतबारीको झारपात नष्ट गर्ने क्रममा सावधानी नअपनाउँदा डढेलो लागेको पाइएको छ,” उहाँले भन्नुभयो “भिरालो जमिन, भौगोलिक विकटता र पानीको सहज उपलब्धता नहुने भएकाले डढेलो नियन्त्रण गर्न चुनौति छ ।”

गत वर्ष डढेलो निभाउने क्रममा मालिका गाउँपालिका–५ गर्जराका दुई जनाको ज्यान गएको थियो । “उच्च हिमाल क्षेत्रमा यसअघिका वर्षमा हिउँदमा हिउँ पर्ने र चिसोका कारण डढेलो लागेको थिएन् । अहिले दिनहुँजसो आगलागी भएको जानकारी आएको छ,” रानाभाटले भन्नुभयो “घास पुरै सुकेको छ । वनजंगल नै पुरै सुक्खा भएको छ । जसले गर्दा आगलागी फैलिन सघाउँछ् ।”

गोठालाहरुले राम्रो घाँस पलाउँछ भनेर जंगल र भिरमा आगो लगाउने चलन छ । शिकारीहरुले वन्यजन्तु र पंक्षीहरुलाई भगाउन डढेलो लगाउँछन् । म्याग्दीमा दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । ३६.७६ प्रतिशत वन, १.८५ प्रतिशत झाडी र २१.२७ प्रतिशत चरन क्षेत्र छ । ३१० वटा सामुदायिक वन उपभोक्ता समूह छन् ।
सहायक वन अधिकृत नरबहादुर क्षेत्रीका अनुसार जिल्ला र छ वटै पालिका स्तरमा वन डढेलो नियन्त्रण सञ्जाल गठन गरिएको छ । सम्भव भएको ठाउँमा मानवीय र भौतिक सम्पत्ती जोगाउने रणनीति लिइएको छ । सञ्चार माध्ययम मार्फत सूचना प्रकाशन÷प्रशारण संगै विभिन्न विद्यालयमा र वन उपभोक्ता समूह स्तरमा डढेलो नियन्त्रण सम्बन्धी कार्यक्रमहरु समेत सञ्चालन गरिएको छ ।
त्यसैगरि समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम, वन डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने, अग्नीरेखा निर्माण लगायतमा सहजीकरण, सुरक्षा निकायलाई आवश्यक पर्ने डढेलो नियन्त्रणका सामाग्री सहयोग, पूर्वतयारी संगै डढेलो लागीहालेमा सुरक्षा निकाय, वन उपभोक्ता समुह, स्थानीय तह र सरोकारवालासंग समन्वय संगै जनशक्ति परिचालनमा समेत अगुवाई गरिएको वन डिभिजनले जनाएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...