बेनी अस्पतालमा जेरियाट्रिक वार्ड सञ्चालन

Gandaki Ghumau

बेनी, । म्याग्दीको जिल्ला सदरमुकाममा रहेको बेनी अस्पतालले सोमबारदेखि जेष्ठ नागरिक उपचार कक्ष (जेरियाट्रिक वार्ड) सञ्चालन गरेको छ ।

अन्तरंग र बहिरंग सेवाका लागि जेष्ठ नागरिकहरुलार्ई छुट्टै कक्ष र जनशक्ति व्यवस्थापन गरेको अस्पतालले उनिहरुलाई उपचारमा छुटको सुविधा पनि दिने भएको छ ।

ओपिडिमा जेष्ठ नागरिकका लागि एक जना चिकित्सकको व्यवस्था गरेको अस्पतालले भर्ना गरेर उपचार गर्नुपर्ने जेष्ठ नागरिकका लागि पाँच वटा शैया भएको छुट्टै कक्ष बनाएको अस्पतालका प्रमुख डा. शंकरराज लामिछानेले बताउनुभयो ।

Shreekrishna

जेष्ठ नागरिक उपचार कक्षको सेवा लिने सेवाग्राहीले जेष्ठ नागरिक भएको प्रमाण खुल्ने कागजात सहित आउनुपर्नेछ । कक्षबाट २१ प्रकारका सेवा निशूल्क र सहुलियतमा उपलब्ध गराइने अस्पतालका सामाजिक सेवा इकाईका सम्पर्क चिकित्सक नितेश श्रेष्ठले बताउनुभयो ।

Gunasthariya Shiksya

६०–६९ वर्षकालाई ५० प्रतिशत, ७०–७९ वर्षकालाई ७५ प्रतिशत र ८० देखि ८४ वर्षकालाई २१ प्रकारका निशूल्क र ८५ वर्ष भन्दा माथीको जेष्ठ नागरिकलाई सबै सेवा निशूल्क हुने छ । ओपिडी सेवामा जनही अधिकतम रु. एक हजार २०० र भर्ना हुनुपर्दा रु. चार हजार बराबरको सेवा निशूल्क गरिने भएको छ ।

कक्षबाट जेष्ठ नागरिकहरुलाई स्वास्थ्य विमा कार्यक्रममा आवद्ध हुन प्रोत्साहन गरिने भएको छ । बिमा गरेकाको सोही बिमा रकमबाट र बिमा रकम अपुग भएमा जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम वा सामाजिक सेवा इकाईबाट पुर्ति गरिने अस्पतालले जनाएको छ ।

जेष्ठ नागरिकका लागि छुट्टै उपचार कक्ष हुँदा छिटो र सहज रुपमा स्वास्थ्य उपचार सेवा पाउने वातावरण हुने नागरिक समाज म्याग्दीका संयोजक सुर्दशनकुमार श्रेष्ठले बताउनुभयो । ५० शैया क्षमताको अस्पतालको मापदण्ड अनुसार अस्पतालमा उपकरण र सेवा थपिदै गएको व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

यसअघि फिजिसियन विशेषज्ञ सेवा थप गरेको अस्पतालले शल्यक्रिया मार्फत प्रसुति, हाइड्रोशिल, हर्नियाको शल्यक्रिया, दन्त, आँखा, बच्चा उपचार कक्ष, सामाजिक सेवा इकाई, हिंसा प्रभावितहरुका लागि अल्पकालिन सेवा केन्द्र, डायलाइसीस सेवा सञ्चालन गर्दै आएको छ । अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै अत्याधुनिक एक्सरे मेसिन उपलब्ध गराएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...