लुलाङमा सडक निर्माणमा मजदुर परिचालन

Gandaki Pardesh notice

लमसुङ, । म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर २ लुलाङ जोड्ने सडक निर्माण गर्न मजदुर परिचालन गरिएको छ । डोजर चलाउदा पहिरोको जोखिम भएपछि श्रमदान र मजदुर परिचालन गरेर सडक निर्माण गर्न लागिएको हो ।

पहिरोको जोखिम र अन्य विकल्प नभएकाले लमसुङ बस्तीमाथिको भिरालो पाखोमा करिब आठ सय मिटर सडक मजदुर मार्फत खन्न लागिएको उपभोक्ता समितिका सचिव ज्ञानबहादुर पाइजाले बताउनुभयो ।

“पाखोमा डोजर चलाउँदा स्वास्थ्य चौकी, वडा कार्यालय र विद्यालय भवन सहितको लमसुङ बस्तिमा पहिरो खस्ने देखिएकाले मानिसलेनै बाटो खन्ने काम भैरहेको छ,” उहाँले भन्नुभयो “बस्तीलाई जोगाउन डिलतर्फ ग्यावीयन पर्खाल बनाएर माटोले पुर्ने र बढी भएको माटो ट्याक्टरमा हालेर जुगेपानीको खोल्सामा लगेर फाल्ने गरेका छौ ।”

Shreekrishna hardwear in news

पालो लगाएर दैनिक ४० जनाका दरले मजदुर परिचालन भएका छन् । प्रतिघर एक दिन श्रमदान गरेका उनिहरुले अन्य दिनको ज्याला पाउँछन् । २०० भन्दा बढी घरधुरीको बसोबास रहेको लुलाङ म्याग्दीको सबैभन्दा ठूलो दलित बस्ती हो । मजदुर परिचालन गर्दा पहिरोको जोखिम कम र रोजगारी सिर्जना भएको स्थानीयबासी धनबहादुर कुमाइले बताउनुभयो ।

Bhautik ministry notice about road

“गाउँमा बाटो पनि पुग्ने, बस्ती पनि जोगिने उपाय खोजेका हौ,” उहाँले भन्नुभयो “जनसहभागिता वापतको रकम बराबर एक÷एक दिन अनिवार्य श्रमदान र त्यसभन्दा बढी गर्नेले ज्याला पाउने नियम बनाएका छौ ।” डोजरको विकल्पमा सडक निर्माणमा बाउसो, कोदालो, गैची, बेल्चा, गल, घन जस्ता घरेलु औजार प्रयोग गरिएको छ ।

लुलाङकी मनसरा कुमाई एक वर्षकी छोरी ढाडमा बोकेर सडक निर्माणमा सहभागी हुनुभएको छ । “अधिकांश पुरुष रोजगारीका लागि विदेशिएका कारण श्रमदान र मजदुरको रुपमा सडक निर्माणमा सहभागि भएका हौ,” उहाँले भन्नुभयो “बाटोमै सुत्केरी हुनुपर्ने, घोडा खच्चर र भरियालाई महँगो शूल्क तिरेर सामान ढुवानी गर्नुपर्ने बाध्यता हट्ने र जनजिवन सहज हुने अपेक्षा गरेका छौ ।”

तीन वर्षको प्रयासपछि महतलाको भिरमा १०० मिटर मार्ग खोल्ने र स्तरोन्नति गरेपछि खोरीया र लमसुङ सडक यातायातको सञ्जालमा जोडिएका छन् । लमसुङ–लुलाङ–गुर्जा सडक निर्माणमा यस वर्ष गण्डकी प्रदेश सरकारले ८० लाख र धवलागिरी गाउँपालिकाले ४५ लाख बिनियोजन गरेका छन् ।

लमसुङ पुगेको सडक लुलाङ, गुर्जा हुदै डोल्पा जोड्ने योजना रहेको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो । “सडक निर्माणमा लुलाङवासीको सक्रीयता जनसहभागिता र विपद्को जोखिम न्युनीकरणका साथै रोजगारी सिर्जनाका हिसाबले सकारात्मक रुपमा लिएका छौ,” उहाँले भन्नुभयो “यो सडकलाई कर्णाली प्रदेशको डोल्पाको सदरमुकाम दुनै जोड्ने छोटो मार्ग बनाउन प्रदेश र संघीय सरकारलाई प्रस्ताव गरेका छौ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...