बराहतालमा जलजलाको कार्यपालिका बैठक

khali

बेनी, । पर्वतको जलजला गाउँपालिकाको कार्यपालिका बैठक बिहिबार वडा नम्बर २ पूर्णगाउँको तालबराह ताल परिसरमा बसेको छ ।
गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकमा आगामी फागुन १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने बराहताल कुल मन्दिर उद्घाटन समारोहको तयारीका विषयमा छलफल भएको थियो ।
धार्मिक पर्यटकीय सम्भावना बोकेको बराहताल परिसरमा घर्ति क्षेत्रीको कुल मन्दिर निर्माण भएको छ । सोही दिन राष्ट्रपति भण्डारीले जलजलाको धार्मिक तथा पर्यटकीय स्थल हम्पालको पनि अवलोकन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो ।
उद्घाटन समारोहको तयारीका लागि विभिन्न उपसमितिहरु पनि गठन भएको छ । राष्ट्रपतिको भ्रमणले जलजला, हम्पाल र बराहतालको धार्मिक पर्यटन विकास तथा प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । स्थानीयबासीसँग छलफल र तयारीको बारेमा निर्णय गर्न सहज हुने भएकाले कार्यक्रम स्थलमै कार्यपालिका बैठक आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

khali


समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा अवस्थित बराहताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करीब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धौलागिरि र नीलगिरि हिमाल रहेको छ । बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराहताल पर्यटक र पूर्वाधार विकासको पर्खाइमा रहेको छ ।
यहाँबाट पर्वत, म्याग्दी र बागलुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ । बेनीदेखि मल्लाज हुँदै करीब दुई घण्टा उकालो हिँडेपछि बराहताल पुगिन्छ । अङ्ग्रेजी अक्षरको सी आकारको तालको सौन्दर्य र विशेषता मल्लाजमै सीमित छ ।
आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन सकेको छैन । जलजला गाउँपालिकाको सबैभन्दा ठूलो बराहताल कहिल्यै सुक्दैन । तालको पानी पुरानो गाउँ र मल्लाजमा खानेपानी तथा सिँचाइका लागिसमेत उपयोग गरिएको छ ।
जनै पूर्णिमामा बराहतालमा विशेष मेला लाग्छ । त्यहाँ पूजाआजा र भाकल गरेमा मनोकाक्षा पूरा हुने जनविश्वास रहेको छ । सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न त्यहाँ जाने गरेका छन् । मनोकामना पूरा भएपछि साँढे, बोका र परेवाको बलि चढाउने चलन छ ।
तालको बीच भागमा अवस्थित बयसको रूख यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा घर्ती क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कुल मन्दिर छ । घर्ति क्षेत्रीको कुल मन्दिर उद्घाटनका लागि राष्ट्रपति भण्डारी आउन लाग्नुभएको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...